भिडियो: नेपाली नर्स आधारभूत सेवा सुविधाबाट वञ्चित
नेपाली नर्सले आफ्नो दिवस मनाउँदै
नर्स बिना कुनै पनि स्वास्थ्य संस्था वा अस्पताल सञ्चालनको कल्पना समेत गर्न सकिँदैन । विश्व स्वास्थ्य संगठनले सन् २०२० लाई अन्तर्राष्ट्रिय नर्स वर्षका रुपमा मनाइरहेको छ । स्वास्थ्य सेवा प्रवाहमा नर्सको महत्वपूर्ण भूमिका रहने भएकाले स्वास्थ्य संस्थामा नर्सको माग र आपूर्ति बीचको खाडललाई पुर्न विश्व स्वास्थ्य संगठनको विधायन समितिले अन्तर्राष्ट्रिय स्तरमा नर्स र सुँडेनीवर्ष मनाउने निर्णय गरेको हो ।
विश्वमा हाल ९० लाख नर्सको खाँचो छ । सन् २०३० सम्म यो आवश्यकता पूरा गर्ने लक्ष्य राखिएको छ । विदेशमा नर्सिङ पेशालाई अति नै महत्व र सम्मानका साथ हेरिन्छ ।
विश्व स्वास्थ्य संगठनले नर्सको वर्ष भनेर हर्षाेल्लासका साथ मनाइरहँदा नेपाली नर्सहरू आधारभूत सेवा सुविधाबाट वञ्चित हुनु परिरहेकाले निराश छन् । पिसिएल तहको अध्ययन गर्न कम्तीमा ५ देखि १५ लाख रुपैयाँसम्म खर्चेका नर्सहरूले कहीँ बिना तलव, कतै अति न्युन तलबमा काम गरिरहनु पर्ने पीडा बोकेर विरामीको सेवा गरिरहेका छन् ।
सार्क राष्ट्रमा दक्ष नर्स उत्पादन हुने देश मध्ये नेपाल अग्रस्थानमा पर्दछ । वर्षेनी अनमीदेखि पिएच डीसम्म ६ देखि ७ हजार नर्स उत्पादन हुने गरेका छन् । सरकारी संस्थाहरूमा अहिले करिब २० हजार नर्सले मात्रै काम गरिरहेका छन्, यसमा धेरैजसो अनमीहरू पर्दछन् ।
अधिकांश अधिकृत तहका नर्सहरूको दरवन्दी खाली छ । हजारौँ योग्य नर्सहरू काम विहिन छन् ।
नेपाल नर्सिङ काउन्सिलमा ९० हजार नर्स दर्ता छन् । यद्यपि, नर्सिङ संघमा करिव ९ हजार मात्रै आवद्ध छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तीनजना विरामीका लागि एक नर्स छुट्याइनु पर्दछ । अनि मात्र त्यो नर्सले विरामीलाई गुणस्तरीय सेवा दिन सक्छ ।
तर नेपालमा एक जना नर्सले ३० देखि ३५ जनासम्म बिरामीको स्वास्थ्य हेरचाह गर्नुपर्ने बाध्यता छ । बेड अनुपातमा नर्सको कोटा निर्धारण गर्न सकिएको छैन । नर्सको पेसागत हकहित र विकासका लागि ५८ वर्ष अघि स्थापित नेपाल नर्सिङ संघले नर्सको न्यूनतम पारिश्रमिक १७ हजार हुनुपर्छ भनेर संघर्ष गरिरहेको लामो समय भइसक्यो तर उपलब्धि हात पार्न सकेको छैन ।
समस्या नै समस्याको चंगुलमा फसेको नर्सिङ क्षेत्रले भर्खरै मात्र नयाँ नेतृत्व पाएको छ । नर्सको पेसागत समस्यालाई उठाउने र समाधानका लागि पहल गर्ने, एचआइभी एड्स र हेपाटाइटिस जस्ता संक्रामक रोग तथा समस्या भएका बिरामीको हेरचाह गर्ने नर्सहरूलाई जोखिम भत्ताको व्यवस्थाका लागि पहल गर्ने, सरकारी र निजी अस्पतालमा काम गर्ने नर्सको समान तलबका लागि पहल गर्ने, अनमीहरूको उचित व्यवस्थापनका लागि पहल गर्ने, राजनीति नभई प्रोफेसनल काम गर्ने प्रतिवद्धता सहित एजेण्डा बोकेको प्रगतिशील प्यानलले संघको नेतृत्व पाएको छ ।
आफ्नो एजेण्डा अनुसार संघले के–के काम गर्दैछ ? लगायतका ५ प्रश्न हामीले सोधेका छौँ । हेर्नुहोस् नेपाल नर्सिङ संघकी नव–निर्वाचित कोषाध्यक्ष कल्पना श्रेष्ठसँग गरिएको कुराकानी यस भिडियोमा

हेल्थपाटी
तपाईँको अभिमत