प्राविधिक जनशक्ति नियुक्ति गर्दा जनस्वास्थ्य विज्ञलाई नियुक्ति गर्न माग
नेपाल जनस्वास्थ्य संघले प्राविधिक जनशक्ति नियुक्ति गर्दा जनस्वास्थ्य क्षेत्रको विज्ञलाई मात्र नियुक्ति गर्न सन्बन्धित निकायहरुलाई आग्रह गरेको छ ।
संघका अध्यक्ष वसन्त अधिकारीले विज्ञप्ति निकालेर विभिन्न दातृ निकाय, अन्तराष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्थाहरुले जनस्वास्थ्य क्षेत्रमा नेपालको विद्यमान कानूनको उल्लंघन हुने गरी पदपूर्ति गर्ने गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
‘जनस्वास्थ्य क्षेत्रको सम्वेदनशीलता नबुझी जनस्वास्थ्यको प्राविधिक क्षेत्रमा कार्य गर्ने जिम्मेवारीमा समेत जनस्वास्थ्यकर्मीहरु नियुक्त नगर्ने मनसायले न्यूनतम योग्यतामा स्वास्थ्य सेवा बाहेकका विषयहरुलाई समावेश गर्ने तथा उक्त जिम्मेवारीमा प्राविधिक स्वास्थ्यकर्मी बाहेकका व्यक्ति नियुक्ति गर्ने गरेकोमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ, ’ विज्ञप्तिमा भनिएको छ ।
साथै संघले कानून बमोजिम जनस्वास्थ्यकर्मीहरुको सबै प्रकारका विज्ञापन तथा नियुक्तिको सन्दर्भमा अनुगमन गर्न व्यवसायी परिषदहरुलाई पनि संघले सचेत गराएको छ ।
स्वास्थ्य सम्बन्धि व्यवसायी परिषद्ले स्वास्थ्य सम्बन्धि अध्ययन र अध्यापनको गुणस्तर कायम गरी जनस्वास्थ्य लगायत अन्य स्वास्थ्यकर्मीको दर्ता गर्ने र सो पश्चात मात्र स्वास्थ्यकर्मीहरु आफ्नो व्यवसायिक क्षेत्रमा सेवा गर्न पाउने प्रावधान रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत