डेल्टा भेरियन्टका कारण कोरोना संक्रमण अझै फैलिने त्रास
पछिल्लो समय कोरोना संक्रमण पुनः बढ्न सक्ने चेतावानी दिँदै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । संक्रमण फैलिनमा डेल्टा भेरियन्ट कारक हुने उनीहरूले बताएका छन् ।
भारतमा पहिलोपटक पत्ता लागेको डेल्टा भेरियन्ट पहिलेको अल्फाभन्दा निकै संक्रामक रहेको र धेरै मानिसले खोप लगाउन बाँकी भएकाले यसको संक्रमण बढ्ने सक्ने बताइएको छ । यसैगरी विभिन्न मुलुकहरूले लगाएको निषेधाज्ञा खुकुलो पार्दै गएको, भीभाड हुन थालेको लगायतका कारण चाँडै संक्रमण फैलिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
पूर्ण रूपमा खोप लगाएका व्यक्तिमा कुनै भेरियन्टले गम्भीर नतुल्याए पनि खोप नलगाएकालाई यसले गम्भीर अवस्थामा पु¥याउने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार खोप नलगाएका व्यक्तिमा डेल्टा भेरियन्ट सजिलैसँग सर्ने र त्यसले अस्पताल भर्ना गर्नुपर्ने अवस्था सिर्जना गर्नेछ ।
डेल्टा भेरियन्टको संक्रमण खोप लगाएका व्यक्तिमा पनि बढी देखिएको छ । बेलायतको जनस्वास्थ्य विभागका अनुसार पछिल्लो समय ३ हजार ६९२ जनालाई अस्पताल भर्ना गरिएकामा ५८.३ प्रतिशत खोप नलगाएका र २२.८ प्रतिशत खोप लगाएका व्यक्तिलाई डेल्टा भेरियन्ट संक्रमण भएको थियो । त्यस्तै सिङ्गापुरमा डेल्टा भेरियन्टबाट संक्रमित भएकामध्ये तीन चौथाइ मानिसले खोप लगाएको बताइएको छ ।
यसरी कोरोना फैलिन सक्ने भन्दै विज्ञहरूले सार्वजनिक वा भीड हुने स्थानमा जाँदा मास्क लगाउने तथा सामाजिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य ‘प्रोटोकोल’ कायम गर्न सुझाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत