विज्ञ डाक्टरलाई छिटै अवकास दिँदा बिरामी निजीमा जान बाध्य छन्
नेपाल चिकित्सक संघले २०७४ सालमा आफ्नो पेशागत हकहितका लागि विभिन्न माग राखेर एउटा आन्दोलन गरेको थियो । त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवाज्यू नै हुनुन्थयो । त्यो आन्दोलनको मागको एउटा बुँदा, डाक्टरहरुको अवकास पाउने उमेर बढाउनुपर्ने भन्ने थियो ।
नेपालीको औसत आयु ६० वर्ष रहेका बेलाको उही व्यवस्थालाई अहिले पनि निरन्तरता दिन मिल्दैन । अहिले नेपालीको औसत आयु ७३ पुगेको छ । ६० वर्ष उमेरको मानिस स्वस्थ भएर काम गरिरहेको अवस्था छ ।
डाक्टरको हकमा पनि उही हो। उसको स्वास्थ्यले दिएसम्म काम गर्न सक्छ। अहिले स्वास्थ्य सेवामा रहेका डाक्टरलगायत स्वास्थ्यकर्मीको उमेरहद ६० वर्ष छ । निजामती कर्मचारीको ५८ वर्ष ।
हामीले डाक्टरको उमेरहद बढाउनुपर्छ भनेकोभन्यै छौँ । यो किन भन्दैछौँ भने राज्यले एकजना व्यक्तिलाई डाक्टर बनाउन धेरै लगानी गरेको हुन्छ । हामीले कोभिडको बेला के महसुस गर्यौँ भने, उपचारका लागि सामन, मेसिन, औजार तत्काल किनेर ल्याउन सक्ने भयौँ तर डाक्टर तुरुन्तै पूर्ति गर्न सकिएन ।
कारणवश एकजना डाक्टरको निधन भयो भनेपनि राज्यलाई अपूरणीय क्षति पुग्छ । एसएलसी हाल एसइई उतीर्ण गर्दै आएएसी, एमबीबीएस, एमडी गरेपछि पनि वर्षाैँ काम गरेपछि मात्रै ऊ एक अनुभवी र अब्बल डाक्टर बन्छ । जति अनुभबी र अब्ब्ल हुन्छ उसले दिने सेवा पक्कै पनि पहिलाको भन्दा झन् राम्रो हुन्छ ।
अनुभवी डाक्टर बन्दा उसको उमेर ६० वर्ष पुग्छ । अनि अनुभव बटुलेका त्यस्ता डाक्टरबाट थप फाइदा लिनसक्ने बेलामा राज्यले उसलाई अवकास दिन्छ । मैले यो अहिलेको अवस्था भन्दैछु ।
जो मान्छे सक्षम छ, काम गर्ने अवस्थामा छ भने उसलाई अवकास दिनु भनेको फलको गुदी लिनेबेलामा फाल्नुसरह हो, जुन निकै गलत हो । क्षमतावान भएका डाक्टरलाई छिटै अवकास दिनु राज्य र समाजलाई बेफाइदा छ, क्षमतावान डाक्टरलाई सदुपयोग गरेमा मात्रै यसले समाजलाई प्रभावकारी सेवा दिन सक्छ । सरकारले डाक्टरलाई छात्रवृत्तिमा पढाएको हुन्छ, उसलाई पेन्सन पनि दिएको हुन्छ । विभिन्न तालिममा लगानी गरेर उसलाई क्षमतावान बनाएको हुन्छ ।
अर्काे कुरा स्वास्थ्यका सबै प्रतिष्ठानमा कर्मचारीको उमेरहद ६३ वर्ष छ तर सरकारी स्वास्थ्य संस्थामा उही पेशामा रहेको डाक्टरको उमेरहद ६० वर्ष छ । यो विभेद होइन ?
अनि मुख्य कुरा दक्ष जनशक्तिले छिटै अवकास पाउँदा अनुभवी डाक्टरलाई खोज्न बिरामी निजीमा जान बाध्य हुन्छन् । अहिले पनि के प्राक्टिस भइरहेको छ भने, यसैपनि ६० वर्षमा अवकास पाएपछि ऊ मेडिकल कलेजतिर काम गर्न जान्छ । उसले ७३ वर्षको उमेरसम्म निजीमा काम गरिरहेको हुन्छ । अनि निजीमा ७३ वर्षसम्म सेवा दिनसक्ने डाक्टरले सरकारीमा दिन सक्दैन ??
मान्छेले क्रिटिकल रोग लागेमा सिनियर डाक्टर खोज्छ। त्यो डाक्टर उसले निजीमा भेटाउँछ । कुनैपनि बिरामीले अनुभवी डाक्टरलाई नै खोज्छ । अनुभवी डाक्टरलाई खोज्दा सरकारीमा नपाएपछि ऊ निजीमा जान बाध्य हुन्छ र सस्तोमा सरकारीमा उपचार हुने उसले निजीमा महँगो तिर्न बाध्य हुन्छ । यस अर्थमा पनि डाक्टरहरुको समयावधि कम्तिमा ६३ वर्षसम्म पुर्याउनपर्छ । यो नितान्त आवश्यक छ ।
२१ वर्षदेखि उही दरबन्दी
अहिले पनि २०५८ सालको दरबन्दी अनुसारनै स्वास्थ्य संस्थामा डाक्टरहरुले काम गरिरहेका छन् ।राज्यले नयाँ दरबन्दी सिर्जना नगर्दा नयाँले अवसर पाएका छैनन् भने बिरामीको अनुपातमा डाक्टर छैनन्।
नेपालमा १ करोड जनसंख्या हुँदा पनि सरकारी संस्थामा १३०० डाक्टर थिए भने अहिले ३ करोड जनसंख्या हुँदा पनि त्यति नै छ । एमबीबीएस र एमडी गरिसकेका डाक्टरलाई सेवामा प्रवेश गराउनपर्छ ।
(डा कार्कीसँगको कुराकानीमा आधारित )
डा.लोचन कार्की
तपाईँको अभिमत