म स्वस्थ छु, सक्रिय छु तर दिनदिनै मरिरहेको छु
प्रदीप शर्मा(नाम परिवतर्न) को मिर्गौला प्रत्यारोपण गरेको १४ वर्ष बित्यो । सरकारी जागिरे प्रदीप काठमाडौंमा डेरामा बस्छन् ।
उनी स्वस्थ छन् र सक्रिय जीवन बिताइरहेका छन् । तर आफन्त साथीसंगी, समुदाय उनलाई स्वस्थ व्यक्ति मान्न तयार छैनन् । अधिकांशले प्रदीपलाई मिर्गौलाको बिरामी, स्वास्थ्य कमजोर भएको व्यक्ति अनि यो धर्तीको केहीदिनको पाहुना हो भन्ने ठानिरहेका हुन्छन् ।
एकदिन अफिस जानका लागि घरबाट मोटरसाइकल निकाल्दै गर्दा उनलाई घरबेटीले भन्छन्–ओहो ! बिरामी मान्छेले मोटरसाइकल नचलाएको भए हुने । प्रदीपको मन अमिलो हुन्छ । ‘म सबै ठिकठाक छु, कसरी बिरामी भएँ ? अनि अरुले जस्तै मोटरसाइकल चलाउन म के कारणले अयोग्य ?’ मनमा अनेकौँ तकर्नाहरु खेल्छन् । तर घरबेटीलाई कुनै जवाफ नदिई चुपचाप अफिस लाग्छन् ।
केही दिन अगाडि प्रदीप बिहान सबेरै दूध किन्न निस्किएका थिए । चिनजानका एक व्यक्ति बाटोमा भेटिए । ती व्यक्तिले प्रदीपलाई सोधे मास्क खोई त भाइ ? प्रदीपले हाँस्दै जवाफ फर्काए ‘बिर्सिएछु, तर दाजु तपाईले पनि त मास्क लगाउनुभएको छैन किन ?’
‘म त केही नभएको मान्छे, स्वस्थ छु, खोप पनि लगाइसकेँ । जानेर नै नलगाएको’ ती व्यक्ति प्रदीपतिर कुरा मोड्छन्, ‘तिमी त मिर्गाैलाको बिरामी । यस्तो मान्छेलाई बढी जोखिम हुन्छ भन्छन्।’
हुन त ती व्यक्तिले प्रदीपको चिन्ता लिएर यसो भनेका हुन् । तर यस कुराले प्रदीपको मनमा नराम्रो चस्का पस्यो ।
बेलाबेला अफिसका सहकर्मीहरुले भन्ने गर्छन्–‘अब कतिञ्जेल मोटरसाइकल चलाएर अफिस आउला र यो ? १४ वर्ष बितिसक्यो अब अर्काे पटक मिर्गाैला फेर्ने बेला भएन ?’ मिर्गौला फेरेको यति वर्ष बितिसक्यो । अब यसको त के हो ? के हो ?’ चिन्ता लिनुपर्दैन केपी ओलीले २ पटक मिर्गौला फेरे । तेरो पनि मिल्छ’ यस्तै भनेर जिस्काउने, मजाक उडाउनेहरु थुप्रै छन् ।
आत्मबलका साथ बाँचिरहेका उनलाई पाइला–पाइलामा आउने यस्ता प्रश्न र यस्ता भनाइले कमजोर महसुस गराउँछ ।
आमाको मिर्गौलाले नयाँ जीवन
१८ वर्षकै उमेरमा सरकारी जागिरे बनेका प्रदीपलाई २२–२३ वर्षको उमेरमा स्वास्थ्यमा समस्या देखिन थाल्यो । वाकवाकी लाग्थ्यो । शरीरका जोर्नी दुख्यो । सुरुमा त चिसोले होला भन्ने भयो । तर जोर्नीहरु झनझन दुख्दै गयो । अनि युरिक एसिड बढ्यो कि भनेर प्रदीपले परीक्षण गराए । साँच्चै युरिक एसिड बढेको रहेछ ।
पिसाबमा प्रोटिनको मात्रा पनि परीक्षण गरियो । मिर्गाैलाले प्रोटिन छानेर शरीरमा पठाउनुपर्नेमा पिसाबबाटै प्रोटिन गएको देखियो । यो हुनु भनेको मिर्गौलाको खराबी हो भन्ने कुरा चिकित्सकले सुनाए ।
प्रदीपले मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेलाई देखाएर मिर्गाैला सम्बन्धी औषधि खान थाले । तर दुर्भाग्य यही बेला उनलाई क्षयरोग देखियो । क्षयरोगको औषधि खाँदा मिर्गाैलाको औषधि छोड्नुपर्यो । त्यसपछि मिगौला काम नलाग्ने भएर बिग्रियो ।
अब प्रत्यारोपण मात्रै विकल्प रह्यो । त्यो बेला नेपालमा प्रत्यारोपण गर्ने सुविधा थिएन । अनि खर्चिलो पनि । आफन्त साथीभाइ र केही संस्थाको सहयोगबाट केही रकम जुट्यो । बाँकी खर्च केही घरबाटै जोहो गरी भारतमा गएर मिर्गौला प्रत्यारोपण गर्ने तयारी भयो । यतिबेला प्रदीपको उमेर जम्मा २६ वर्ष थियो ।
प्रदीप परिवारका सदस्यलाई लिएर भारतको एक अस्पताल गए । भाषा बुझिदैन थियो । डाक्टरहरुले भनेका बुझ्नै गाहो । नेपाली भनेपछि त्यति ध्यान पनि नदिने । डाक्टरलाई भेट्नै ३–४ दिन लाग्यो । भेटेपनि त्यति वास्ता गरेनन् प्रदीपको डाइलाइसिस सुरु गरिएको थिएन । डाइलाइसिस नगरी मिर्गौला प्रत्यारोपण गर्न डाक्टरहरुले सुझाएका थिए । तर त्यहाँ डाइलाइसिस गरिएका बिरामीलाई मात्रै डाक्टरले प्राथमिकता दिए।
प्रदीपले नेपालमा डाक्टरहरुसँग कुरा गरे । अनि अर्कै अस्पताल गए । त्यहाँ प्रत्यारोपणको तयारी भयो । आमा मिर्गौला प्रत्यारोपण गर्न मिलेकाले दाता खोजन समस्या भएन । त्यो अस्पताल गएको आठौँ दिनमा उनको मिर्गौला प्रत्यारोपण भयो ।
उनी ४८ दिनसम्म अस्पताल अस्पताल बसेर नेपाल फर्किए ।
जागिर बचाउन सकस
मिर्गाैलामा समस्या देखिएर प्रदीप हिड्न नसक्ने भइसकेका थिए । ‘मेरो मिर्गाैला बिग्रन थालिसक्यो अब मलाई परिवार चाहिन्छ भनेर घर पायक सरुवा मागेको थिएँ । तर लमजुङ सरुवा गरिदिए’ प्रदीप दुखेसो पोख्छन् ।
जागिर खाएको भर्खर ८ वर्ष हुँदै थियो । जागिर छोड्न पनि नसक्ने खान पनि नसक्ने अवस्था भयो । मिर्गाैलाको समस्यासँगै जागिरको पनि तनाव भयो । प्रदीपले विभागीय मन्त्री र सचिवलाई भेटेर पनि आफ्नो समस्या सुनाए । भेटमा घरपायक सरुवा गर्छु भन्थे तर गरेनन् ।
मिर्गौला फेर्नै पर्ने भएपछि प्रदीप रवाना लिएर घरमै बसेका थिए । ‘मिर्गौला प्रत्यारोपण गरेर आउँछु केही समय सरुवा रोकिदिनुुस्’ भनेका थिए उनले । यसो भन्दा भन्दै लमजुङमा सरुवा गरिदिए। उनलाई निकै सकस भयो ।
मिर्गौला प्रत्यारोपण गरेर ३ महिनापछि प्रदीप जागिरमा फर्किए । अनि विस्तारै सबैकुरा सामान्य हुँदै गयो ।
विज्ञानले विकास गरेका प्रविधिको प्रयोगले प्रदीपले मृत्युलाई जिते । तर समाजले हेर्ने नजर बदलियो । उनको स्वास्थ्य र क्षमतामा प्रश्न उठ्न छाडेन।
व्यक्तिहरुले उनलाई गर्ने प्रश्न र उनको बारेमा गर्ने टिप्पणीले बाँचेर पनि पलपल मरेतुल्य बनाएको दुखेसो प्रदीप सुनाउँछन् । आफ्नो बारेमा मात्रै नभएर मिर्गौला प्रत्यारोपण गरेका अन्य व्यक्तिको बारेमा गरिने टिप्पणीले पनि उनलाई झसक्क–झसक्क झस्काउँछ ।
‘केपी ओली मिर्गौला फेरेको मान्छे हो, धेरै समय बाँच्दैनन् भनेको सुन्दा पनि भक्कानिन्छु’ प्रदीप सुनाउँछन् । नपर्नेलाई यो सामान्यै लाग्छ तर भोग्नेको व्यथा छुट्टै हुन्छ ।
‘विज्ञानको चमत्कारले नयाँ जीवन पाएका हामीहरुलाई समाजका मान्छेहरु आत्मबल कमजोर बनाउन किन खोज्छन् ? पलपलमा मर्नका लागि किन प्रेरित गरिरहन्छ ?’ उनी प्रश्न गर्छन् ।
तपाईँको अभिमत