नेपाली औषधि प्रयोग गर्नुपर्नेमा जोड
नेपालमा उत्पादित औषधि प्रयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । असोज १२ गते ललितपुरमा भएको नेपाल औषधि उत्पादक संघ (एपोन)को २८ औं वार्षिकत्सवका अवसरमा आयोजित कार्यक्रममा सरोकारवाला व्यक्तिहरुले स्वदेशी औषधि उत्पादनको प्रयोगमा जोड दिएका हुन् ।
कार्यक्रममा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले नेपालको औषधि उद्योगहरुको व्यापक विकास हुनर्पेमा दुई मत नरहेको बताउनुभयो । उहाँले उत्पादकहरुको समस्या खोजेर समाधानका लागि आफुले पहल गर्ने बताउनुभयो ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले स्वदेशी उत्पादनप्रति विश्वास बढ्दै गइरहेको बताउनुभयो । उहाँले स्वदेशी उत्पादनमा विश्वास बढ्दै गइरहेको अवस्थामा डाक्टरहरुले औषधि प्रिस्क्राइव गर्दा स्वदेशी औषधिलाई नै जोड दिनुपर्ने धारणा राख्नुभयो ।
यस्तै औषधि व्यवस्था विभागका महानिर्देशक भरत बहादुर भट्टराईले राष्ट्रिय उद्योगहरुको संरक्षण गर्नुपर्ने र यसका लागि औषधि ऐन संसोधन गर्नुपर्ने सुझाव दिनुभयो ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले पछिल्लो अवस्थामा औषधि उत्पादनमा भएको विकासलाई सकारात्मक रुपमा लिनपर्ने बताउनुभयो ।
उहाँले स्वदेशी उत्पादनको माग नबढेसम्म उत्पादन पनि नबढ्ने, र माग बढाउन डाक्टरहरुको विश्वास जित्नसक्नपर्ने बताउनुभयो । डाक्टरको विश्वास जित्न उत्पादनको गुणस्तरमा कुनै कमी हुन नहुने डा. कोइरालाको भनाइ छ ।
एपोनका अध्यक्ष प्रज्ववलजंग पाण्डेले राज्यको दिगो विकासमा औषधि उद्योगको ठुलो भुमिका रहेकाे बताउदै हरेक अप्ठेरो परिस्थितिमा स्वदेशी उद्योगले ठुलाे सहयाेग गरिरहेकाे दाबी गर्नुभयो । औषधि उत्पादन गर्न हाल १०० वटा उद्योग स्थापना भइसकेको जानकारी दिदैँ अब नेपालमा औषधिको मागबारे अध्ययन गरेर स्वदेशी उत्पादनलाई बढावा दिनपर्ने बताउनुभयो ।
एपोनका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले राज्यले औषधिको बजारमा नियन्त्रण गरिरहेको बताउनुभयो । राज्य बजार नियन्त्रणमा नभई उत्पादनको गुणस्तरमा केन्द्रित हुनपर्ने उहाँको भनाइ छ ।
एपोनका महासचिव विप्लव अधिकारीले औषधि बजारको ४५ प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको भन्दै राज्यले स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीले औषधि उत्पादकहरुको माग वर्षाैदेखि उही रहेको बताउनुभयो ।
औषधिमा मात्रै नभई नीतिगत स्पष्टता नभएको र नीति तथा कार्यक्रमा राम्रो भएपनि व्यवहारमा लागू गर्न नसक्दा समग्र स्वास्थ्य प्रणालीनै सुधार हुन नसकेको बताउनुभयो ।
नेपालमै उत्पादन भइरहेको औषधिका कच्चा पदार्थ मात्रै आयात गर्ने र औषधि निर्माणका लागि आवश्यक पर्ने सामग्रीमा छुट दिए नेपाल औषधिमा आत्मनिर्भर बन्न सक्ने बताइरहेका छन् ।
अहिले औषधि निर्माणका सामग्री आयात गर्दा ५० प्रतिसम्म कर लागिरहेको अवस्था छ । अहिलेको अवस्थामा देशलाई आवश्यक पर्ने ७५ प्रतिशतभन्दा बढी औषधि दिन सक्षम रहेको उद्योगीहरूको दाबी छ ।
हेल्थपाटी
तपाईँको अभिमत