जन्मजात मोतियाविन्दुबाट पीडित सागरको शल्यक्रियापछि दैनिकी सहज
रतुवामाई नगरपालिका मोरङका १० वर्षीय सागर श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । सागरलाई जन्मजात मोतियाबिन्दुको समस्या थियो ।
मोतियाबिन्दुका कारण टाढाको बस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै कुरा प्रस्ट देख्न थालेका छन् ।
उनी मुनाल आदर्श विद्या सदनमा ४ कक्षामा पढ्छन् । नेपाल नेत्रज्योति संघबाट सञ्चालित विराटनगर आँखा अस्पतालले निःशुल्क आँखाको शल्यक्रिया गरिदिएको छ । आँखाँको शल्यक्रियापछि उनको दैनिकी निकै सहज बनेको छ ।
सागरको आँखामा समस्या देखिएपछि कृषि पेशामा आवद्ध निम्न आय भएको उनको परिवारलाई कसरी उपचार गर्ने ? धेरै ठूलो खर्च लाग्न सक्छ भन्ने चिन्ताले सताएको थियो । अस्पताल आएर सबैकुरा बताएपछि अस्पतालले नै उनको निःशुल्क शल्यक्रिया गरिदिएको हो ।
सिबिएमको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक पहुँच र पुनर्वास कार्यक्रम अन्तरगतको विद्यालय आँखा र कान जाँचमा आँखा परीक्षण गर्दा सागरको दाहिने आँखामा मध्यम दृष्टि कमजोरी थियो । आँखा स्वास्थ्यकर्मीले उनलाई रिपोर्ट दिई त्यो रिपोर्ट परिवारलाई दिन र नजिकैको आँखा अस्पतालमा परामर्श गर्न भने ।
अरु दिन जस्तै सागर घर पुगेपछि परिवारलाई रिपोर्ट दिए । ‘रिपोर्ट हेरेपछि हामीले तुरुन्तै आँखा अस्पतालमा ल्यायौँ सागरकी आमाले भन्नुभयो, ‘हामीलाई बिहान खाएपछि बेलुका के खाने भन्ने हुन्छ, अब छोराको अप्रेशन गर्नुपर्छ भनेपछि कसरी गर्ने भन्ने चिन्ता थियो । अस्पताल आएपछि यहाँ डाक्टरले सबै उपचार निःशुल्कमा हुन्छ भनेपछि भगवान नै पाए जस्तो भयो ।’
उसको आँखामा जन्मजात मोतियाबिन्दु भएकाले उसलाई आफ्नो आँखाले कतिसम्म प्रष्ट देख्छ भन्ने कुरा थाहाँ नै नभएको सागरको उपचारमा संलग्न नेत्र विशेषज्ञ डा.पवन श्रेष्ठ बताउनुहुन्छ ।
‘कति टाढा देख्न सकिन्छ ? कति टाढासम्मको कुरा पढ्न सकिन्छ सागरलाई थाहै थिएन’ डा.पवन भन्नुहुन्छ, ‘जसका कारण उसलाई मेरा आँखामा समस्या छ भन्ने कुरा थाँहा हुने पनि कुरै भएन।’
यसै कारणले पनि नियमित रुपमा आँखाको परीक्षण गर्नुपर्छ भनिएको डा.पवन बताउनुहुन्छ।
उसले हेर्न समस्या भएको कुरा पहिल्यै नभनेकाले समयमै अस्पताल ल्याउन नसकिएको सागरकी आमाले बताउनुभयो ।
“उसले हामीलाई हेर्न समस्या भएको कुरा कहिल्यै भनेन, समयमै भनेको भएको भए चाँडै उपचार गर्न सकिन्थ्यो’ सागरकी आमा भन्नुहुन्छ, ‘कतै हिँड्दा, पढ्ने लेख्ने गर्दा कहिलेकाहीँ उहाँलाई कठिनाइ हुने गरेको हामीले पाएका थियौं तर यो समस्यामा हामीले खासै ध्यान दिएनौँ।’
शल्यक्रिया पछि पट्टी खालेपछि सागरले मुस्कुराउँदै भन्नुभयो, ‘म पहिले भन्दा धेरै स्पष्ट देख्न सक्छु, अब म राति पनि पढ्न, लेख्न र हिँड्न सक्छु।’
हेल्थपाटी
तपाईँको अभिमत