इजाजतपत्र नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयकाे तयारी
इजाजतपत्र नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको छ ।
मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाहरूका नाममा परिपत्र गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।
कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्थाहरु नवीकरणबिना सञ्चालनमा आएको उजुरीपछि मन्त्रालयले परिपत्र गरेको हो । इजाजत नवीकरण नगरेका केही संस्थाहरु मापदण्डअनुसार समेत नचलेको उजुरी मन्त्रालमा परेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरुले मापदण्ड पालना गरेको सुनिश्चित गर्न अधिकारीहरुलाई भन्नुभएको थियो ।
जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिई स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
मन्त्रालयले इजाजतपत्र नवीकरण नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाको अनुगमन गरी नियमानुसार नभएको पाएमा कारबाही गर्ने समेत प्रवक्ता बुढाथोकीको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत