आशय पत्र खारेज भएको छैन : बिएण्डसी मेडिकल कलेज
काठमाडौं । बिएन्डसी मेडिकल कलेजले मनसाय पत्र नवीकरणको विषय अदालतबाट टुंगो नलागेको र नवीकरण खारेज नभएको बताएको छ । झापाको विर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेजको नवीकरण खारेज भइसकेको भन्ने प्रसंग बाहिर आएपछि आज विज्ञप्ति जारी गरी यस्तो दाबी गरेको हो ।
मुद्दा सुनुवाइकै क्रममा रहेको, फैसला नभएको र हालका लागि सर्वोच्च अदालतले दिएको २०७७ कात्तिक १८ गते अन्तरिम आदेश अस्तित्वमा रहेको बताएको छ । बिएन्डसीको आशय पत्रबारे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अन्तिम पटक बिएण्डसीले पेसी स्थगित गरेपछि उसले पाएको अन्तरिम आदेश खारेज हुन्छ भन्ने तर्क गरिएको थियो । तर, उसले पेशी सारेकोले त्यस अगाडिको अन्तरिम आदेश सर्वोच्च अदालतको नियमावलीअनुसार स्वतः रद्द हुन्छ भन्ने प्रसंग आएको थियो ।
विपक्षीको तर्फबाट कानुन व्यवसायी नारायणप्रसाद खनालले पेसी स्थगितको लागि निवेदन दिनुभएको थियो । उहाँले कात्तिक २८ गते मुद्दा स्थगित गर्न माग गर्नुभएको थियो । कोभिड संक्रमण भएका कारण विपक्षीबाट उहाँले पेसी स्थगित गर्न लगाएको बिएण्डसीले जनाएको छ । पेशी हामीले होइन विपक्षीले सारेको हो विज्ञप्तिमा भनिएको छ ।
उक्त पेसी स्थगित गर्न अनुरोध गरेपछि सर्वोच्चले माघ १२ गते विपक्षीहरू सबैको जवाफ पेस गरिसकेको देखिँदा नियमानुसार पूर्ण सुनुवाइको लागि पेश गर्नू भनी आदेश गरेको थियो । तर, पूर्ण सुनुवाइ भइसकेको छैन । २०७७ असार २६ मा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली जारी भएको थियो । यो नियमावली जारी गरेपछि सम्बन्धन नपाएका तथा अस्तित्वमा रहेका मेडिकल कलेजले मनसाय पत्र नवीकरण गर्नुपर्ने भनिएको थियो ।
तपाईँको अभिमत