मानसिक स्वास्थ्य समस्या भएकाे कसरी थाहा पाउने ? (भिडियाे)
वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिक बासुदेव कार्कीका अनुसार मानसिक स्वास्थ्य भन्नाले मानिसको भाव, विचार र व्यवहारको समग्रताको अवस्था हाे ।
उहाँका अनुसार एक व्यक्तिको मनको अवस्था पारिवारीक, सामाजिक परिस्थितिबीच हुने प्रतिक्रिया सन्तुलित भएन भएन व्यक्ति सक्रिय रहिँरहदासमेत असहज महसुस गरिरहन्छ भने त्यो अवस्थालाई मनोसामाजिक समस्या भनेर बुझ्नुपर्छ ।
ज्ञान हुनु र त्यो ज्ञानलाई व्यवहारिक पक्षमा रुपान्तरण गर्नु फरक अवस्था रहेको बताउँदै उहाँले ज्ञानले व्यवहारमा परिवर्तन हुन्छ भन्ने नरहेकाेले जाेसुकै व्यक्ति मानसिक एवं मनाेसामाजिक समस्यामा परेकाे हुनसक्ने बताउनुभयाे । भौतिक रुपमा स्वस्थ रहेको देखिएपनि व्यक्त्तिकाे मानसिक अवस्थामा भने समस्या भइरहेको हुनसक्ने उहाँले बताउनुभयो ।
समाज धेरै रुपान्तरण भइरसकेको अवस्थामा प्रचारवाजीमा रमाउने प्रवृत्ति बढेको र सफलताको मापननै फलोअर्स हो भन्ने बुझाइ भइसक्यो तर पैसा र सामाजिक सञ्जालको प्रतिष्ठाले मानिसले दीर्घकालिन खुशी पाउन नसक्ने बताउनुभयो ।
नेपालमा मानिसको स्वास्थ्यको अवस्था
नेपालमा नसर्ने रोग बढिरहेको छ । नसर्ने रोगमध्ये १८ प्रतिशत हिस्सा मानसिक रोगले ओगटेको छ । नो हेल्थ विदवाउट मेन्टल हेल्थ अर्थात मानसिक स्वास्थ्य विना स्वास्थ्य छैन भन्ने अवधारणा आइसकेको छ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ अनुसार नेपालमा १३ देखि १७ वर्षका ५।२ प्रतिशत किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । जसमा २.८ प्रतिशतमा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसनको समस्या र ३.९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच आउने गरेको पाइएको छ ।
मानसिक स्वास्थ्य समस्मा पनि शारीरिक स्वास्थ्यमा देखिएका जस्तै लक्षणहरु देखिन्छन् । तर पनि मानिसहरु आफूलाई मानसिक स्वास्थ्य समस्या रहेको थाहा पाउँदैनन् । अध्ययनले के देखाएका छन् भने आत्महत्याको सोच बनाएका १० मध्ये ८ जना मानसिक समस्याबारे अरुलाई बताउन चाहन्छन् । त्यसैले उनीहरुको कुरा सुन्न सके उनीहरूलाई बचाउन सकिने वरिष्ठ साइक्याट्रिककार्की बताउनुहुन्छ ।
थोरै काम गर्दा पनि थकानको महससु हुने, पहिला पहिला जे कुरामा चाहना बढि हुन्थ्यो त्यो घट्दै जाने, कुनै काममा केन्द्रित हुन नसक्ने, एक्लै बस्न मन लाग्ने, डर लाग्ने, आत्तिने जस्ता लक्षणहरु देखिए त्यस्ता व्यक्तिलाई उदासीनताको समस्या भएको हुनसक्छ र उनीहरुले जीवनदेखि हार खाएर आत्महत्याको सोच बनाउने गर्छन् । त्यसैले यस्ता लक्षणहरु देखिए परामर्शको खाँचो पर्दछ ।
साथै आत्महत्याको सोच बनाएकाहरुले आफूलाई एकदमै प्रिय लागेको सामानहरु बाढ्ने, अरु बेला खर्च गर्न डराउने व्यक्तिले साथीभाइ, परिवार जम्मा गर्दै पार्टी दिने, सम्पत्तिहरु भगबण्डा गरिदिने, म कतिन्जेल हुन्छुर भन्ने जस्ता कुरा दोर्याइरहने लक्षण देखिएको परामर्शदाताहरुको भनाइ छ । पटक - पटक आत्महत्याको सोच बनाएका व्यक्तिहरुमा कुनै पनि बेला आत्महत्या गर्ने जोखिम रहेकाले साथीभाइ, परिवारले त्यस्ता व्यक्तिलाई तुरुन्तै मनोपरामर्श उपचारमा लैजान प्रेरित गर्नपर्ने वरिष्ठ साइक्याट्रिककार्की सुझाउनुहुन्छ ।
उदासिनताका कारण
नेपालमा भुकम्पपछि मानसिक रोगको बिरामी बढेको देखिन्छ। आर्थिक संकट भएर उदासीनता बढेको गुनासो परामर्शमा पुग्ने व्यक्तिहरुले गर्ने गरेका छन् । बलात्कार, यौन हिंसामा परेका, लागू औषध दुर्व्यसनीमा परेका, पढाइमा सोचेजति सफलता हासिल गर्न नसकेका, श्रीमान श्रीमतीबीचको झगडा, व्यस्तताका कारण परिवारलाई समय दिन नसकेका व्यक्तिहरुमा उदासीनता बढेको पाइएको छ ।
११६६ मा फोन गर्ने व्यक्तिहरुमा धेरैजसो उदासीनताको समस्या भएकाहरु छन् । त्यसरी फोन गर्नेहरुको उमेर १५ देखि ४९ वर्ष रहेको छ ।
भोली अर्थात् अक्टोबर १०, विश्व मानसिक स्वास्थ्य दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरि मनाइँदैछ । मानसिक स्वास्थ्य दिवसको पूर्वसन्ध्यामामा मानसिक स्वास्थ्य,मनोसामाजिक समस्या लगायतका विषयमा हेल्थपाटीका लागि जगन्नाथ ढकालले वरिष्ठ साइक्याट्रिस्टसँग कुरा गर्नुभएको छ ।
नाेट : मानसिक स्वास्थ्यमा केही समस्या देखिएजस्तो लागे नि:शुल्क हेल्पलाइन ११६६ मा फोन गरेर परामर्श लिन सकिन्छ ।

हेल्थपाटी
तपाईँको अभिमत