यस्ता व्यक्तिलाई देखिन सक्छ मधुमेह, कसरी जोगिने ? (भिडियो)
आज नोभेम्बर १४, विश्व मधुमेह दिवस । मधुमेहको अवस्था, यसको जोखिम, बच्ने उपाय लगायत विभिन्न सचेतनामूलक कार्यक्रम गरी प्रत्येक वर्ष नोभेम्बर १४ का दिन विश्वभर यो दिवस मनाइने गरिन्छ।
नोभेम्बर १४, इन्सुलिनको आविष्कारक सर फ्रेड्रिक बान्टिङको जन्मदिन हो । सोही अवसर पारेर यो दिवस मनाउन सुरु गरिएको हो ।
इन्सुलिन मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी मानिन्छ । सर बान्टिङ र चार्ल्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेहको उपचारका लागि इन्सुलिनको आविष्कार गर्नुभएको थियो ।
यो दिवस मनाइरहँदा निलो रङ र गोलो आकारको प्रयोग हुन्छ । निलो रङको अर्थ आकाश र गोलो आकारको अर्थ पृथ्वी हो । मधुमेहले आकाश र पृथ्वीसम्मलाई छोप्न सक्छ है भन्ने सन्देश यसले दिन्छ । मधुमेहसम्बन्धी सचेनतामुलक सन्देश आकाशदेखि पृथ्वीसम्म पुर्याउने भन्ने मुख्य सन्देश दिनका लागि निलो रङ र गोलो आकारको प्रयोग गरिएको हो ।
मधुमेह लाग्नै नदिने, यदि लागि हाले औषधीको पहुँच पुर्याउन सचेतनामूलक कार्यक्रम गरिँदै आएको छ । मधुमेह रोगप्रति तपाईको जोखिम र यसबाट जोगिन बढाउनुपर्ने सक्रियता जान्नुपर्छ भन्ने नाराका साथ यो दिवस मनाइने गरिन्छ ।
नसर्ने रोग बढ्नुका कारणमा मधुमेह र मुटुरोग हुन् दीर्घकालीन जटिलताहरु देखिएका छन् । मधुमेह नियन्त्रणमा आउन नसके यसले आँखा, मुटु, मिर्गौलामा असर पुर्याउछ।
विभिन्न प्रदेशमा गरिएको तथ्यांक अनुसार नेपालमा ६ देखि ८ प्रतिशत जनसंख्यामा मधुमेहको समस्या रहेको मधुमेह थाइराइड एवं हर्मोन रोग विशेषज्ञ डा.नरेश पराजुलीले जानकारी दिनुभयो ।
चिकित्साशास्त्र अध्ययन संस्थानका सह-प्राध्याक समेत रहनुभएका डा.पराजुलीका अनुसार ३ जना मधुमेह भएका बिरामीमध्ये १ जनामा मुटुको समस्या देखिएको छ। दक्षिण एसियामा ११ मध्ये १ जनामा मधुमेहको समस्या रहेको पनि डा. पराजुलीले बताउनुभयो।मधुमेहको जोखिममा रहेका व्यक्तिले सबैभन्दा पहिले रोग छ, छैन पहिल्याउन जरुरी हुने उहाँको भनाइ छ।
३५ वर्षभन्दा बढी उमेरका व्यक्ति, परिवार सदस्य कसैलाई मधुमेह भएका, मोटोपना भएका, पाठेघरको समस्या, गर्भवस्थामा मधुमेह भएका आमाको सन्तानलाई मधुमेहको जोखिम बढी हुने डा.पराजुली बताउनुहुन्छ । साथै लामो समयदेखि चिनी बढाउने औषधि लिइरहेका व्यक्ति, व्यायाम नगर्ने व्यक्ति पनि मधुमेहको बढी जोखिममा रहन्छन् ।
तौल घट्नु या बढ्नु, पिसाब धेरै लागे, तिर्खा लागे र जोखिममा रहेका व्यक्तिले मधुमेहको जाँच गराउनुपर्छ । ३ महिनासम्म नियमित परीक्षण गर्न उहाँको सुझाव छ। खानपिन, जीवनशैलीलाई सन्तुलित बनाउन सके ५८ देखि ६० प्रतिशत व्यक्तिलाई मधुमेह हुनबाट जोगाउन सकिन्छ ।
शरीरमा चिनीको मात्रा आवश्यक भन्दा धेरै हुँदा मधुमेह रोग निम्तिन्छ । इन्सुलिनको मात्रा निस्क्रिय भएको या कम भएको अवस्थामा शरीरमा चिनीको मात्रा बढ्न जान्छ । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिन्छ ।
तपाईँको अभिमत