बिरामीको उपचार गर्ने कुन स्वास्थ्यकर्मीको नाम अगाडि डाक्टर लेखिन्छ ?

सांकेतिक तस्बिर
बिरामीको उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मी सबैले नामको अगाडि डाक्टर लेख्न पाउदैनन् । उपाधि र योग्यता तथा कुनकुन स्वास्थ्यकर्मीले आफ्नो नामको अगाडि डा. (डाक्टर) के, कुन आधारमा लेख्ने भन्ने विषयमा नेपाल मेडिकल काउन्सिलमा केही समय अगाडि उजुरीसमेत परेको थियो ।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २ को परिभाषा (घ) मा ' चिकित्सक' भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्सा शास्त्रमा स्नातकोपाधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति सम्झनु पर्छ, भन्ने उल्लेख छ ।
सोही ऐनको दफा २ को परिभाषाः (घ१) मा “विशेषज्ञ चिकित्सक भन्नाले सम्बन्धित विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधी डिग्री, डिप्लोमा प्राप्त गरेको एवं तोकिएबमोजिमको विशेषज्ञ तालिम प्राप्त गरी सम्बन्धित व्यवसायमा लागेको चिकित्सक सम्झनु पर्छ भन्ने व्यवस्था छ ।
यसैगरी नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७ (१) मा कुनै व्यक्तिले आधुनिक औषधि सम्बन्धी चिकित्साको काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधि सम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन हुँदैन भन्ने व्यवस्था रहेको छ ।
आधुनिक चिकित्साको स्नातक तह र सोभन्दा माथिल्लो तहको अध्ययन पूरा गरेको ब्यक्तिलाई विश्वविद्यालयबाट प्रदान गरिने उपाधिमा चिकित्सक वा डाक्टर भनी उपाधि दिइएको हुन्छ। चिकित्सा शास्त्रमा स्नातक उपाधि हासिल गरी नेपाल मेडिकल काउन्सिलमा प्रक्रिया बमोजिम चिकित्सकको रुपमा नाम दर्ता भएपछि त्यस्तो व्यक्तिको नामको अगाडी चिकित्सक वा डाक्टर उपाधी सहित लाइसेन्स प्रमाणपत्र प्रदान गरिएको हुन्छ। सम्बन्धित काउन्सिल वा परिषद्बाट प्रदान गरिने दर्तामा चिकित्सकको उपाधि नभएका व्यक्तिले सो उपाधि प्रयोग गर्नु गैरकानुनी ठहरिने कानुनले उल्लेख गरेको छ ।
यदि असान्दर्भिक उपाधी प्रयोग गरे त्यस्ता स्वास्थ्यकर्मीलाई ३ वर्ष कैद र ३० हजार रुपैंया जरीवाना लाग्दछ ।
हेल्थपाटी
तपाईँको अभिमत