फाइजरको काेराेना खोप लगाएको १६ दिनपछि डाक्टरको निधन

तस्विर : द सनबाट
सिकागो । अमेरिकामा फाइजरको काेराेना खोप लगाएको २ हप्तापछि एक जना डाक्टरको निधन भएको छ । दक्षिण फ्लोरिडामा डिसेम्वर १८ मा पहिलो डोज खोप लगाउनुभएका ५६ वर्षका डा.ग्रेगोरी माइकलको १६ दिनपछि निधन भएको हो ।
डा. माइकलको निधन जनवरी ३ मा भएको उहाँकी श्रीमती हैदी नेकलमनले फेसवुक मार्फत जानकारी दिनुभएको छ । खोप लगाउनुअघि स्वास्थ्यमा कुनै पनि समस्या नरहेका डाक्टरको खोप लगाएको २ हप्तापछि मृत्यु भएपछि उहाँको मृत्युको कारणबारे छानबीन गर्न परिवारले माग गरेका छन् ।
स्त्रीरोग तथा प्रसुती विशेषज्ञ डा.माइकलले विगत १५ वर्षदेखि आफु कार्यरत माउन्ट सिनाइ मेडिकल सेन्टरमा कोरोना विरुद्धको खोप लगाउनुभएको थियो । डा.माइकलको व्यक्तिगत वेवसाइटका अनुसार खोप लगाएको ३ दिनपछि उहाँको हात खुट्टामा सानो - सानो बिबिरा देखिएपछि उहाँ सिनै मेडिकल सेन्टरमा आकिस्मक उपचारका लागि पुग्नुभएको थियो ।
श्रीमती नेकलमनका अनुसार डा. माइकलको रगतको मात्रा घट्दै गएको थियो र उहाँलाई सघन उपचार सुरु गरिएको थियो । २ हप्तासम्म सघन उपचार गरिएका माइकलको जनवरी ३ मा निधन भएको थियो । परीक्षणका लागि माइकलको शवको नमुना रोग नियन्त्रण केन्द्रमा पठाइएको छ ।
फाइजर कम्पनिले भने डा.माइकलको मृत्यु खोपको कारण नभएको बताएको छ । फाइजरले विज्ञप्ती निकालेर खोप लगाएको १६ दिनपछि भएको मृत्युको कारणलाई खोपसँग जोड्न नहुने र यो बिल्कुलै असामान्य अवस्था रहेको बताउदै लाखौ मानिसले खोप लगाइरहेको र ती सबैको नजिकबाट निगरानी गरिरहेको दाबी गरेकाे छ ।
हेल्थपाटी 
तपाईँको अभिमत