चिसोको समयमा निमोनिया हुने सम्भावना किन बढी हुन्छ ?
निमोनिया भनेको फोक्सोको संक्रमण हो । ज्वरो आउनु, खोकी लाग्नु, छाती दुख्नु,सास फेर्न गार्हो हुनु निमोनिया लक्षणहरु हुन् । निमोनिया जिवाणु र किटाणुले गराउँछ । निमोनिया सामान्य र जटिल खालका हुन्छन् । रोगसँग लड्नसक्ने क्षमता कम भएका व्यक्तिहरुमा निमोनियाको जोखिम धेरै रहन्छ ।
आज हामीले निमोनिया के हो ? जोखिम कसलाई, निमोनियाले किन सिकिस्तै बनाउँछ भन्ने लगायतका विषयमा त्रिवी शिक्षण अस्पतालका उपनिर्देशक एवं प्लमोनोलोजी विभाग प्रमुख डा.सन्तलाल दाससँग कुरा गरेका छौं ।
उहाँसँग गरिएको कुराकानी उहाँकै शव्दमा :
५ वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका वृद्ध-वृद्धा, दीर्घ बिरामीहरु मिर्गौला, फोक्सो, मुटु, नसाका बिरामीहरुलाई निमानियाले बढी असर गर्दछ । यसैगरी क्यान्सरका बिरामी, स्टोरोइडको औषधिहरु लिइरहेका बिरामीमा निमोनिया भयो भने जटिलता निम्त्याउन सक्छ । कतिपय कोभिड संक्रमित भएका व्यक्तिमा पनि निमोनियाको असर बढी देखिएको पाइएको छ। कोभिडले फोक्सोमा असर गर्ने भएकाले कोभिड संक्रमितलाई निमोिनया भए थप जटिलताको जोखिम निम्तन सक्छ ।
सामान्य रुघाखोकीमा आएको ज्वरो निमोनिया होइन तर ज्वरो, खोकीसँगै छाती दुख्नु, सास फेर्न गार्हो हुनु निमोनियाको संकेत हुन् ।
कोहीकोहीमा चिसोले निमोनिया गराउँछ भन्ने बुझाइ छ तर चिसोले निमोनिया गराउने होइन । निमोनिया हुन फोक्सोभित्र किटाणु वा जिवाणु प्रवेश गर्नैपर्छ । चिसो आफैंले निमोनिया गराउदैन तर चिसोले निमोनिया गराउने वातावरणको सृजना भने गराउन सक्छ । चिसोको समयमा किटाणुहरु बढी सक्रिय हुन्छन् । यो समयमा रुघाखोकीको समस्या पनि धेरे देखिने गरेको छ । चिसोको समयमा बाहिरी वातावरणमा धेरै समय बिताउँदा किटाणुहरु शरीरमा सजिलै प्रवेश हुन्छन् र निमोनिया हुने सम्भावना बढ्न जान्छ ।
सामान्यतय एकै व्यक्तिलाई भाइरस र जिवाणु दुवैले एकै पटक संक्रमण गराउदैन । केहीलाई भाइरसले निमोनिया गराएपछि त्यसको ३( ४ दिनपछि फोक्सोलाई कमजोर बनाउँछ र त्यसमा जिवाणुहरु सक्रिय हुन थाल्छन् ।
सामान्य देखिएको व्यक्ति पनि निमोनियाका कारण गम्भीर बिरामी र कतिपयको मृत्यु समेत हुन्छ ।
निमोनियाको संक्रमण तिव्र गतिमा हुन्छ र शरीर भित्रभित्रै संक्रमण गराउँछ, फोक्सोमा असर गर्छ र मृत्युसमेत हुन्छ । केही व्यक्तिहरुमा सामान्य खोकी लागेको हुन्छ, लक्षणहरु खासै देखिएको हुँदैन तर संक्रमण भइसकेको हुन्छ । कतिपय अवस्थामा डाक्टरहरुले बिरामीको स्वास्थ्य अवस्था हेरेर निमोनियाको अनुमान लगाइ लक्षणका आधारमा बिरामीको अवस्था हेरे उपचार सुरु गर्नुपर्छ ।
बालबालिकाहरुलाई चिसोमा यसरी जोगाऔ
बालबालिकाहरुलाई चिसोको समयमा बाहिर धेरै समय बिताउन हुँदैन । रुघाखोकी लागेको छ भने समयमै उपचार गराउनपर्छ । रुघाखोकीसँगै ज्वरो पनि आएको छ भने चिकित्सकलाई भेटी हाल्नपर्छ । चिसो समयमा बालबालिकालाई न्यानो बनाएर राख्ने, झोलिलो पदार्थ धेरै खुवाउने र प्रशस्त आराम गराउनपर्छ । निमोनियामा समयको निकै महत्वपूर्ण हुन्छ । घण्टा घण्टा महत्वपूर्ण रहन्छ । निमोनिया संक्रमण हुन समयको निकै महत्वपूर्ण रहन्छ । त्यसैले छिटो पत्ता लगाएर उपचार सुरु गर्नुनै निमोनियाबाट जोगाउनु हो ।
निमोनियाको उपचार
भाइरसका कारणले भएको निमोनियालाई एन्टीबायोटिकले काम गर्दैन र भाइरसका कारण भएको निमोनियामा एन्टीबायोटिकको प्रयोग गर्न हुँदैन । भाइरसको उपचार भनेको सहायता उपचारमात्रै हो । निमोनियामा एन्टीबायोटिकको प्रयोग गर्नुभन्दा पहिले कल्चर गर्नपर्छ ।
एन्टीबायोटिक प्रिस्क्राइब नगरी बेच्न हुँदैन । तर धेरैजसो व्यक्ति जसमा सामान्य रुघाखोकी लागे, घाँटी दुखेमा एन्टीबायोटिक प्रिस्क्राइव गरिएको पाइएको छ या बिरामी आफैले मेडिकलबाट किनेर खाने गरेका छन् । जबकी ६० प्रतिशत रुघाखोकी भाइरलका कारण हुन्छ । सानो समस्यामा एन्टीबायोटिकको प्रयोग गर्दा ठुला - ठुला स्वास्थ्य समस्यामा पनि औषधिले काम नगर्ने हुन्छ । सिकिस्त बिरामीहरुमा किटाणुहरुले एन्टीबायोटिकलाई ८० प्रतिशतसम्म रेसिस्टेन्स गरिरहेको पाइएको छ ।
अहिले एन्टीबायोटिकको प्रयोग, बन्दुकले निशाना लगाए हुनेमा तोपकोनै प्रयोग भएजसरी भइरहेको छ । सबै अस्पतालहरुमा एन्टीबायोटिक प्रयोगका सम्बन्धमा रणनीति बनाइएको हुन्छ र त्यो रणनीति अनुसार काम गरे एन्टीबायोटिकको दुरुपयोग रोक्न सकिन्छ।
हेल्थपाटी
तपाईँको अभिमत