वीर अस्पतालमा क्यान्सर उपचारका लागि टोमोथेरापी जडान कार्य सुरु
वीर अस्पतालमा क्यान्सरको उपचारका लागि अत्याधुनिक प्रविधियुक्त मेसिन टोमोथेरापीको जडान कार्य सुरु भएको छ ।
अस्पतालमा सोमबार राती मेसिन आएको र जडानको काम अगाडि बढीरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा. भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक महिनाभित्र मेसिन सञ्चालनमा आउने र त्यसपछि दिनको ५०/६० जना क्यान्सर बिरामीले सेवा लिने पाउनेछन् । ‘एक महिनाभित्र सञ्चालनमा ल्याउने गरि प्राविधिक काम भइरहेको छ, हामीले एकदमै नोमिनल प्राइसमा उपचार दिनेछौ । बढीमा १० हजार रुपैयामा यो सेवा दिने तयारी गरेका छौं, ’ उपकुलपति बस्नेतले भन्नुभयो ।
टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि हो। अस्पतालले करिब ४० करोड लागतमा टोमोथेरापी मेसिन किनेको हो । टोमोथेरापीमा विकीरण (रेडिएसन) का माध्यमबाट क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ।
वीर अस्पतालमा यसअघिनै उक्त मेसिन सञ्चालनमा ल्याउने तयारी भएको थियो । अस्पतालमा उक्त मेसिन जडानका लागि स्थान नहुँदा खरिद गरेर ल्याइएको मेसिन लामो समय सशस्त्र प्रहरी बल अस्पतालको चौरमा कन्टेनर भित्रनै थन्किएको थियो।
मेसिन खोल्दै नखोली बिग्रिएपछि अस्पतालले उक्त मेसिनको सट्टा अर्को मेसिन पठाउन कम्पनीलाई आग्रह गरेको थियो।
के हो टोमोथेरापी ?
सन् २००२ देखि प्रयोगमा आएको टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि हो। टोमोथेरापीमा विकीरण (रेडिएसन) का माध्यमबाट त्रीआयामिक रुपमा क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ। हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ (सिटी) स्क्यानरले रौं बराबर पनि फरक नपर्ने गरी ठ्याक्कै क्यान्सरग्रस्त कोषमा रेडिएसन दिनुका साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी त्यसै अनुरुप रेडिएसन सुनिश्चित गर्छ।
टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा रेडिएसनको प्रभाव पर्दैन। त्यसैले रेडियोथेरापीको तुलनामा टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून हुने चिकित्कसहरु बताउँछन्। सिटी स्क्यान जस्तै टोमोथेरापी उपकरण चौडा, खुला र गोलाकार भएकाले बिरामीले सजिलोसँग सुतेर उपचार गर्न सक्छन्।
टोमोथेरापी मस्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर, टाउको, घाँटी र मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर ९दुख्ने र सुन्निने ब्रेस्ट क्यान्सर समेत, फोक्सोको क्यान्सर, छालामा हुने क्यान्सरहरू, प्रोस्टेट क्यान्सर ९सुरु अवस्थादेखि पूर्ण विकसित अवस्थासम्म०, भोजन नली र पाचन प्रणालीका क्यान्सर, सर्भाइकल, ओभ्यारियन, भेजिनल तथा भल्भ र गर्भासय क्यान्सर, कोलोन, पेट, रेक्टल र एनल क्यान्सर, कलेजो र फियो क्यान्सर, शरीरका विभिन्न ठाउँमा भएका विस्तारित क्यान्सर, प्रत्यारोपणअघि गरिने रगतसम्बन्धी रोगको उपचार (ल्युकेमिया) लगायतको उपचारमा प्रयोग गर्न सकिन्छ।
हेल्थपाटी
तपाईँको अभिमत