चालिस उमेर पुगेपछि महिलाले स्तन क्यान्सरको परीक्षण सुरु गर्नुपर्छ : अध्ययन
महिलाले ४० वर्षकै उमेरमा स्तन क्यान्सरको परीक्षण गर्न थाल्नुपर्ने एक अध्ययन कार्यदलले सुझाव दिएको छ । मंगलबार सार्वजनिक ‘द युएस प्रिभेन्टिभ सर्भिस टास्क फोर्स’ (यूएसपीएसटीएफ) ले आफ्नो प्रारम्भिक सुझाव प्रतिवेदनमा यस्तो सिफारिस गरेको हो ।
फोर्सका अनुसार क्यान्सरको जोखिम कम गर्न ५० वर्षमा नभई ४० वर्षकै उमेरदेखि महिलाले स्तन क्यान्सरको परीक्षण गर्नुपर्छ । यसअघि नै पनि अमेरिक क्यान्सर समाजले महिलाले ४० कै उमेरमा स्तन क्यान्सर परीक्षण सुरु गर्नुपर्ने बताउँदै आएको थियो ।
‘महिलाले ४० कै उमेरमा स्तन क्यान्सरको परीक्षण थाल्नुपर्छ भन्ने हाम्रो सिफारिस छ, र ७४ नपुगेसम्म हरेक वर्ष यस्तो परीक्षण गर्नुपर्छ’, युएसपीएसटीएफकी प्रमुख डा. वान्डा निकोल्सनले भन्नुभयो । यद्यपि उक्त सिफारिस अन्तिम भने होइन । त्यसमा फोर्सको वेबसाइटमा गएर सर्वसाधारणले पनि आफ्नो धारण दिन पाउने बताइएको छ । जुन ५ सम्म सर्वसाधारणले धारणा राख्न पाउनेछन् ।
स्तन क्यान्सरको परीक्षणले मात्र यसको रोकथाम गर्न नसकिने भन्दै यसमा थप ‘फलोअप’समेत गरिरहनुपर्ने प्रमुख डा. निकोल्सनले बताउनुभयो । उहाँका अनुसार विशेषगरी क्यान्सरको पारिवारिक इतिहास नभएका महिलाले यस्तो परीक्षण गर्न जरुरी रहेको छ । पारिवारिक इतिहास भएकाहरू पहिले नै जोखिमयुक्त हुने हुनाले पहिल्यै चिकित्सकको निगरानीमा बसेका हुन्छन् ।
अमेरिकामा स्तन क्यान्सरबाट महिलाको मृत्युदर उच्च रहेको छ । अझ काला जातिका महिलाको मृत्युदर उच्च रहेको छ ।
(सीएनएनबाट)
हेल्थपाटी
तपाईँको अभिमत