मासिक ६ लाख कमाउने अवसर छाडेर नेपालमै सेवा दिइरहनुभएका डा. अर्जुन (भिडियो)
डा.अर्जुन अर्याललाई नेपालमा सबैभन्दा धेरै संख्यामा पशुको अपरेशन गर्ने डाक्टरको रुपमा चिनिन्छ । स्याङ्जा वालिङमा २०३९ सालमा जन्मनुभएको उहाँ २०५० सालदेखि काठमाडौं बस्नुभयो ।
कक्षा ६ देखिको पढाइ काठमाडौंबाट भयो । एसएसली पास पछि उहाँलाई एमबीबीएस डाक्टर पढ्ने इच्छा थियो । २०५८ सालमा रामपुर क्याम्पसमा भेटेनिरी विषयमा छात्रवृत्तिमा पढ्ने अवसर पाउनुभयो अनि त्यतैतिर लाग्नुभयो ।
मानिसको उपचार गर्ने डाक्टर बन्ने चाहना थियो तर डा. अर्याल संयोगले पशुको उपचार गर्ने (भेटेरिनरी) डाक्टर बन्नुभयो । नातेदार दाइले उहाँलाई रामपुर क्याम्पस पढ्नका लागि सुझाव दिनुभएको थियो ।
कोरियामा बायोटेक्निकलमा अध्ययनको मौका पनि पाउनुभएको थियो, तर त्यही बेला २०६४ सालमा लोकसेवाको परीक्षामा पास हुनुभयो । उहाँले दुईमध्ये एक अवसर छान्नुपर्ने भयो । विदेश पढाइको अवसरलाई त्यागेर उहाँले नेपालको सरकारी सेवालाई छान्नुभयो ।
तत्कालीन जिल्ला पशु सेवा कार्यालय काठमाडौंबाट सरकारी सेवामा प्रवेश गर्नुभयो । केन्द्रीय पशु चिकित्सालयमा जनशक्ति थिएन। सरकारी सेवामा प्रवेश गर्नुभएको केही महिनापछिनै उहाँ केन्द्रीय पशु चिकित्सालय त्रिपुरेश्वरमा जोडिनुभयो, उहाँले पशु चिकित्सालयमा काम गर्न थाल्नुभएको पनि १५ वर्ष बितिसकेको छ ।
उहाँको व्यवसायिक यात्रामा सरकारी अलवा निजी क्षेत्रका भेटेरिनरी क्षेत्रका व्यक्तित्वहरुको सहयोग छ । १५ वर्षको दौरानमा उहाँले गाई, भैँसी, भेडा, बाख्रा, कुकुर लगायत गरी ५० हजारभन्दा बढीको शल्यक्रिया गरिसक्नुभएको छ । विकट क्षेत्रमा पशु स्वास्थ्य शिविरहरुमा सहभागी भइरहनुभएको छ ।
बोल्न नसक्ने अबोध पशुको जीवन बचाउँदा डा.अर्याललाई निकै खुसी लाग्छ, त्यो खुसीले भावुक बनाउँछ । जति मानिसको डाक्टरलाई प्राथमिकता दिइन्छ त्यति भेटेरिनरी डाक्टरलाई दिएको पाइँदैन । मानिसको स्वास्थ्य बढी संवेदनशील मानिन्छ तर पशुको स्वास्थ्यलाई त्यति गम्भीर रुपमा लिइँदैन । जसका कारण धेरै पशुको मृत्यु अकालमै भइरहेको छ । पशु उपचारका लागि रिफरल अस्पतालको व्यवस्था हुनुपर्ने डा.अर्यालको भनाइ छ।
मानिसको डाक्टर या पशुको डाक्टर दुवैको काम जीवन बचाउनु हो । भेटेरिनरी डाक्टर भनेर चिनाउन पाउँदा उहाँ निकै गौरव लाग्ने उहाँ बताउनुहुन्छ।
उहाँ दुबईमा विश्वमा एक जना भेटेरिनरी चिकित्सकका रुपमा छानिनुभएको थियो । त्यही काम गरेको भए दिनको ५-६ घण्टा काम गरेर महिनामा ५-६ लाख कमाउने अवसर पाइने अर्याल सुनाउनुहुन्छ । तर यो अवसर छाडेर उहाँले नेपालमै सेवा गर्न रुचाउनुभयो।
भेटेरिनरी क्षेत्रमा अब्बल सर्जनका रुपमा चिनुनुभएका भेटेरिनरी डा.अर्यालसँग हेल्थपाटीका लागि जगन्नाथ ढकालले गर्नुभएको कुराकानीको पूर्ण अंश भिडियोमा हेर्न सक्नुहुन्छ ।
तपाईँको अभिमत