स्वास्थ्य मन्त्रालयले गर्यो कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।
हाल अत्यावश्यक सेवा प्रवाहसँग सम्बन्धित कामबाहेक अन्य प्रशासनिक प्रक्रिया अर्को सूचना जारी नहुँदासम्म अघि नबढाइने मन्त्रालयले जनाएको छ।
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मन्त्रालयमा आगजनी हुँदा भवनको संरचना र सम्पूर्ण अभिलेख जलेर नष्ट भएपछि यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
यसबाट पर्न जाने असुविधाप्रति मन्त्रालयले क्षमा मागेको छ ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरोधमा भदौ २३ गते जेनजीले गरेको आन्दोलनमा सरकारले दमन गर्दा १९ जना युवाको मृत्यु भएको थियो । १९ जनाको मृत्यु भएपछि जेन्जी थप आक्रोशित भएका थिए, सो क्रममा प्रदर्शनले उग्र रुप लिँदा प्रदर्शनकारीहरुले ठूला सरकारी निकायहरुमा तोडफोड लुटपाट र आगजनी गरेका थिए । सोही क्रममा स्वास्थ्य मन्त्रालयमा पनि आगजनी भएको थियो ।
२ दिनसम्म देशैभर चर्केको आन्दोलन र सरकारी दमनका कारण हालसम्म ७३ जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ । कैयौँ घाइतेहरू उपचाररत छन् । सार्वजनिक र निजी सम्पत्ति ध्वस्त भए ।
दुईदिने आन्दोलनले केपी शर्मा ओलीको सत्ता ढल्यो र जेनजी पुस्ताकै मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भदौ २७ गते प्रधानमन्त्री नियुक्त हुनु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत