भेरोसेल लगाएका ६० वर्षमाथिका व्यक्तिलाई पनि अतिरिक्त खोप दिइने
नेपालमा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई मात्रै नभई ६० वर्ष माथिका व्यक्तिलाई पनि थप अतिरिक्त खोप दिइने भएको छ । दुबै मात्रा भेरोसेल खोप लगाएका ६० वर्षमाथिका व्यक्तिलाई थप मात्रा खोप दिन लागिएको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिनुभयो ।
कोभिड मिडिया ब्रिफिङमा लालले राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारीसमा अतिरिक्त खोप लगाउन थालिएको जानकारी दिनुभएको हो । भेरोसेलको दुवैमात्रा खोप लगाएको ३ महिनापछि अतिरिक्त खोप दिइने उहाँले बताउनुभयो ।
साथै अन्य खोप लगाएका व्यक्तिहरुको सन्दर्भमा भने रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई मात्रै थप मात्रा खोप दिइने लालले बताउनुभयो । विश्व स्वास्थ्य संगठनको सिफारीस अनुसार क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि खाइरहेका व्यक्तिहरुलाई दुबै मात्रा लगाएको ३ महिनापछि अतिरिक्त खोप दिने गृहकार्य भएको उहाँले बताउनुभयो ।
खोपको अभाव नरहेकाले पायक पर्ने ठाउँमा गएर खोप लगाउन पनि उहाँले अनुरोध गर्नुभयो । साथै सबै गर्भवतीहरुलाई खोप दिने निर्णय भइसकेकाले गर्भ रहेको पहिलो ३ महिना कटेका गर्भवतीलाई खोप लगाउन पनि उहाँले सचेत गराउनुभयो ।
बालबालिकाका लागि फाइजर र मोर्डना खोप आएकाले विद्यालयहरुमै खोप केन्द्र राखी केही दिनमै उनीहरुलाई खोप लगाइने जानकारी पनि लालले दिनुभयो । कोरोनाका विभिन्न भेरियन्टलाई खोपले काम गरिरहेको देखिएकाले खोप लगाउन नछु्ट्न उहाँले आग्रह गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत