'एक जना मष्तिष्क मृत्यु भएका व्यक्तिको अंगले ८ जनाको ज्यान जोगिन्छ'
मष्तिष्क मृत्यु (ब्रेन डेथ) भएकाको अंगदान गर्न सके अरु धेरै व्यक्तिको जीवन जोगिने विज्ञहरुको बताएका छन् ।
असोज २ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा भएको मष्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले अंगदानमा जोड दिदैं यसका लागि अभियाननै चलाउनपर्ने बताउनुभयो ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गाैला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा.पुकारचन्द्र श्रेष्ठले एक जना मष्तिष्क मृत्यु भएको व्यक्तिको ८ वटा अंग अर्काे व्यक्तिमा प्रत्यारोपण गर्न सकिने बताउनुभयो । उहाँले नेपालमा वार्षिक ३ हजार जनाको मिर्गाैला र १ हजार जनाको कलेजो प्रत्यारोपण गर्नपर्ने अवस्था रहेको बताउँदै यसको तुलनामा अत्यन्तै कमको मात्रै प्रत्यारोपण भइरहेको दुखेसो गर्नुभयो ।
मिर्गाैला तथा कलेजो प्रत्यारोपणमा २० प्रतिशत पुरुष र ८० प्रतिशत महिलाले अंग दान गरिरहेको अवस्था रहेको बताउनुभयो । उहाँले प्रत्यारोपणमा समेत महिला र पुरुष भनी विभेद भइरहेको बताउनुभयो ।
हालसम्म राष्ट्रिय प्रत्यारोपण केन्द्रमा जम्मा ४ जना मष्तिष्क मृत्यु भएकाको अंग अर्काे व्यक्तिमा प्रत्यारोपण भएको बताउनुभयो । उहाँका अनुसार मष्तिष्क मृत्यु भएका ४ जना व्यक्तिबाट ८ जनाको मिर्गाैला र २ जनाको कलेजो प्रत्यारोपण भएको छ ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डुक बहादुर क्षेत्रीले अंगदानबारे जनचेतना फैलाउने राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे अभियानमा प्रतिष्ठानले साथ दिने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रत्यारोपण केन्द्रका सिनियर कन्सल्टेन्ट नेफ्रोलोजी डा.कल्पना श्रेष्ठले डाइलाइसिस र प्रत्यरोपण सेवालाई देशभर का सरकारी अस्पतालमा विस्तार गर्नपर्ने बताउनुभयो । हाल १९ वटा जिल्लाका सरकारी अस्पतालमा मात्रै यी सेवा रहेकाले धेरै बिरामी उपचरको पहुँच बाहिर रहेको उहाँले बताउनुभयो ।
एनेष्थेसियोलोजिष्ट डा.निभा श्रेष्ठले अंगदानसम्बन्धमा रहेका कानुनी व्यवस्था, व्यवहारिक पक्षको जानकारी गराउँदै मष्तिष्क मृत्यु भएपछि खरानी हुने अंगलाई संरक्षण गरी अर्का व्यक्तिको जीवन जोगाउन जरुरी रहेको बताउनुभयो । हुँदा खरानी भएर जाने अंगको दान भए धेरैको जन बच्ने बताउनुभयो ।
पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले पोखरामा मिर्गाैला प्रत्यारोपण सेवा सुरु भएपछि बिरामीहरुलाई सहज भएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री हिराचन्द केसीले अंगदान अभियान तथा प्रत्यारोपण सेवालाई विस्तार गर्न सरकारले पूर्ण रुपमा सहयोग गर्ने वचन दिनुभयो । नेपालमा सडक दुर्घटना तथा अन्य स्वास्थ्य समस्याका कारण करीब १ हजार जनाको मष्तिष्क मृत्यु हुने गरेको तत्यांक छ । वर्षेनी ३ हजार जनाको मिर्गाैला र १ हजार जनाको कलेजो प्रत्यारोपण गर्न पर्न विरामी थपिने गरेको अस्पतालहरुको तथ्यांकहरुले देखाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत