बुस्टर डोज खोप लगाइसकेका दुई महिलामा भेटियो ओमीक्रोन भेरियन्ट

फाइल फोटो ।
कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनबाट बच्नका लागि खोपको बुस्टर डोज आवश्यक रहेको तर्क उठिरहेका छन् । कतिपय मुलुकले यसअघि नै बुस्टर डोज लगाइसकेका छन् । नेपाल, भारत लगायतका देशमा बुस्टर डोज लगाउने तयारी भइरहेको छ । तर सिंगापुरमा बुस्टर डोज लगाइसकेका दुई जनामा ओमीक्रोन भेरियन्ट फेला परेको छ।
विमानस्थलमा काम गर्ने एक २४ वर्षीया महिला र युरोपबाट फर्किएकी अर्की एक महिलामा ओमीक्रोन भेरियन्ट फेला परेको हो। सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार दुवै जनाले कोभिड–१९ विरुद्ध खोपको तेस्रो डोज लगाइसकेका छन्।
ओमीक्रोन संक्रमित भएकी २४ वर्षीया महिलाको तत्काल कुनै ट्राभल हिस्ट्री नभएको सिंगापुरका स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ती महिला विमानस्थलको ट्रान्सपोर्ट होल्डिङ क्षेत्रमा यात्रुहरुको सेवामा खटिने गरेकी थिइन् । यही क्रममा कुनै विदेश यात्रुसँगको सम्पर्कबाट उनमा नयाँ भेरियन्ट संक्रमण भएको अनुमान गरिएको छ।
जोखिमयुक्त क्षेमा खटिएकी ती महिलालाई साप्ताहिक रुपमा गरिने पीसीआर परीक्षणका क्रममा कोभिड–१९ पोजेटिभ देखिएको थियो । त्यसपछि निज सिक्वीन्सिङ गर्दा ओमीक्रोन भेरियन्ट पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
ओमीक्रोन भेरियन्ट पुष्टि हुने अर्की महिला केहीदिनअघि फ्रान्सबाट जर्मन हुँदै सिंगापुर आएकी थिइन् । क्यारेन्टाइनमा रहेकी ती महिलाको ६ डिसेम्बरमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसको भेलिपल्टदेखि रुघा लागेपछि पुनः परीक्षण गर्दा नयाँ भेरियन्ट संक्रमण पुष्टि भएको हो । यी महिलाले पनि तेस्रो डोज खोप लगाइसकेकी थिइन् ।
दुवै जनालाई अहिले अस्पतालमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत