अल्जाइमर्सका कारणहरू केके हुन्, ज्येष्ठ नागरिकको ख्याल कसरी गर्ने ? (भिडियो)
ज्येष्ठ नागरिकलाई सबै चिज बुढ्यौलीले गर्दा हो भनेर चाहिँ बेवास्ता गर्नुभएन
ज्येष्ठ नागरिकलाई विशेषगरी अल्जाइमर्स लाग्न सक्छ । यदि अल्जाइमर्स लागेमा परिवारका अन्य सदस्यलाई हेरचाहका लागि निकै कठिनाइ हुन्छ । यो रोग बिस्तारै सुरु हुन्छ । बेलैमा पहिचान गरे यसको निदान गर्न सकिने ज्येष्ठ नागरिकरोग विशेषज्ञ डा. अनन्त अर्याल बताउनुहुन्छ । उहाँसँग हेल्थपाटीका लागि सम्पादक तुलसा घिमिरेले ज्येष्ठ नागरिकको हेरचाहबारे कुराकानी गर्नुभएको छ ।
जसको घरमा ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँहरूले ध्यान दिनुपर्ने कुराहरू केही छन् । प्रेसर, सुगर, थाइरोइड जस्ता कुरामा ध्यान दिनुपर्छ । यिनीहरू अल्जाइमर्स रोग लाग्ने कारणहरू हुन् । त्यसैले यस्ता रोग छन् भने यिनको उपचार गर्नुपर्छ, ता कि यस्ता रोगहरू बढेर पछि अल्जाइमर्स लाग्ने सम्भावना नबढोस् ।
सोसल आइसोलेसन
अर्को भनेको सोसल आइसोलेसन भन्छौँ । ज्येष्ठ नागरिकहरू एक्लै हुनुहुन्छ भने अल्जाइमर्सको सम्भावना बढाउने हुन्छ । त्यसैले परिवारका अन्य सदस्यले उहाँहरूलाई केही न केही काममा संलग्न गराइराख्ने गर्नुपर्छ । अन्य साथीभाइसँग भेटघाट गर्ने अवसर प्रदान गरिरहने गर्नुपर्छ ।
ज्येष्ठ नागरिकलाई एक्लो महसुस गराउनु भएन । उहाँहरूलाई तनाव, डिप्रेसन, एन्जाइटी जस्ता मानसिक रोगको शिकार हुनबाट जोगाउनुपर्छ । यदि त्यस्ता लक्षणहरू देखा परेका छन् भने त्यसलाई उपचार गराउनुपर्छ ।
बुढ्यौलीको बेवास्ता
हरेक समस्यालाई बुढ्यौलीको कारणले हो भनेर वास्ता नगर्ने गल्ती गर्नुहुँदैन । यस्तो गरे भोलि समस्या निम्त्याउँछ । त्यही भएर ज्येष्ठ नागरिकमा कुनै पनि शारिरीक होस्, मानसिक होस्, समस्या छन् भने रोगको पहिचान गरेर निदान गरिहाल्नुपर्छ ।
शारिरीक गतिविधिलाई ध्यान दिनुपर्छ । हामी ६० वर्षभन्दा माथिकालाई ज्येष्ठ नागरिक भन्छौँ तर उमेर त्यति हुँदैमा उहाँ निष्क्रिय रहनुहुन्न । कतिपयले अध्यापन गराइरहनुभएको हुन्छ । कतिपय आफ्नो व्यापार व्यवसाय सम्हालिरहनुभएको हुन्छ । कोही भने बिस्तरामै परिसक्नुभएको हुनसक्छ । जो बिस्तरामै परिसक्नुभएको हुन्छ उहाँको हेरचाह फरक किसिमको हुन्छ भने जो एकदमै सक्रिय हुनुहुन्छ उहाँहरूलाई हेरचाह गर्ने तरिका फरक हुन्छ ।
कतिपय चाहिँ मध्य अवस्थामा हुनुहन्छ । उहाँहरूलाई आफ्नो काम गर्न केही सहयोग पनि आवश्यक हुनसक्छ भने कतिपय आफैँ गर्न सक्ने हुनुहोला । त्यस्ता व्यक्तिलाई जुन कुरामा सहयोग चाहिएको छ त्यसमा सहयोग गर्नुपर्यो । र, ज्येष्ठ नागरिकलाई सबै चिज बुढ्यौलीले गर्दा हो भनेर चाहिँ बेवास्ता गर्नुभएन ।
साना केटाकेटीलाई सानो केही भइहाले हामी दौडाएर अस्पताल लैजान्छौँ । बच्चाले अलिकति रोइदिने बित्तिकै उप्रति हामी संवेदनशील भएर फोकस हुन्छौँ । समस्या के छ समाधान गर्नेतिर लागिहाल्छौँ । तर ज्येष्ठ नागरिकमा चाहिँ के समस्या छ, के भइरहेको छ भनेर मतलब नै नराख्ने गर्ने गर्छौँ । दुई÷तीन सातादेखि खोकी लागेको कुरालाई पनि बुढेकासकालले गर्दा हो भनेर बेवास्ता गरिदिने चलन छ । बिर्सने समस्या छ वा अल्जाइमर्सका लक्षणहरू देखा परेका छन् भने पनि त्यही बुढेसकालकै कारण हो भनेर बेवास्ता गर्ने चलन छ । त्यसो गर्दा चिकित्सककहाँ ज्येष्ठ नागरिकलाई पुर्याउँदासम्म निकै ढिलो भइसकेको हुन्छ । ढिला भयो भने रोग निको पार्न गाह्रो हुन्छ ।
शारिरीक गतिविधिमा संलग्न गर्ने
कतिपय व्यक्तिहरू निवृत्तिपछि निष्क्रिय भएर बस्ने गर्नुहुन्छ । यसरी बस्दा उहाँहरूलाई प्रेसर, सुगरलगायतका जीवनशैलीले प्रभाव पार्ने रोगहरू लाग्छन् । त्यसैले यस्ता रोगहरूबाट बच्न ज्येष्ठ नागरिकहरूलाई शारिरीक कर्म गर्न प्रेरित गर्नुपर्छ ।
आमाबुबाले छोराछोरीकै लागि भनेर वर्षौँसम्म दुःख गर्नुभएको हुन्छ । बुढेसकालमा उहाँहरूलाई बेवास्ता गर्दा उहाँहरूलाई मानसिक मात्र हैन शारिरीक पीडा हुन्छ । त्यो कुरालाई उहाँहरूले व्यक्त गर्न सक्नुहुन्न भने त्यसले उहाँहरूलाई मानसिक समस्यामा लाने हुन्छ ।
छोराछोरीले के कुरामा ध्यान दिनुपर्छ ?
पहिले हाम्रो परिवारको संरचना संयुक्त किसिमको थियो । अहिले कमाउनकै लागि बाहिर जानुपर्ने अवस्था छ । पहिले एउटै घरमा धेरै सदस्य हुँदा कोही कमाउन गए बाँकी घरमा भएकाले ज्येष्ठ नागरिकको हेरचाह गर्नुहुन्थ्यो । तर अहिले हामी सानो परिवारमा बस्छौँ । त्यसमा पनि छोराछोरी कमाउन बाहिर जाने । कमाउनै पर्यो । नातिनतिना पढ्नका लागि घरबाहिर जाने भइसकेपछि ज्येष्ठ नागरिकहरू एक्लो हुने सम्भावना रहन्छ ।
गुणस्तरीय समय दिनुपर्छ
ज्येष्ठ नागरिकलाई धेरै समय भन्दा पनि गुणस्तरीय समय दिनुपर्छ । कामबाट आएर बेलुका उहाँहरूको सञ्चोबिसञ्चो सोध्ने, सँगै बसेर खाना खाने, उहाँहरूलाई केही समस्या छ कि भनेर उहाँहरूको कुरा सुनिदिने गर्नुपर्छ ।
उहाँहरूलाई पेन्सन वा भत्ता आउँछ र त्यसले उहाँहरूको आवश्यकता पूरा गर्न पुग्छ भने त ठिकै छ । यदि त्यतिले पुग्दैन भने आर्थिक रूपमा पो सहयोग आवश्यक छ कि उहाँहरूसँग कुरा गर्ने गर्नुपर्छ र सहयोग गर्नुपर्छ । यति मात्र नभएर उहाँहरूलाई बेला बेलामा घुमाउन लैजानुपर्छ । बेला बेलामा उहाँहरूको साथीभाइ, इष्टमित्रलाई भेट्ने माहोल बनाउनुपर्छ ।
खासगरी ज्येष्ठ नागरिकहरूको भावनालाई बुझ्दिनुपर्छ । उहाँहरूलाई समय दिनुपर्यो ।
अन्त्यमा एक वाक्यमा भन्नुपर्दा ज्येष्ठ नागरिकको हेरचाहका लागि उहाँहरूको मनोभावनालाई बुझ्ने, आर्थिक समस्या बुझ्ने, कुरा सुनिदिने, उहाँहरूको स्वास्थ्यको पनि ख्याल गर्ने अनि उहाँहरूको इच्छा आकांक्षा कस्तो छ त त्यो कुराको पनि विचार गर्नुपर्छ ।

हेल्थपाटी
तपाईँको अभिमत