नयाँ भेरियन्टसहितकाे ३५ जना सङ्क्रमितलाई प्रसूति गृहले सुत्केरी गरायाे
प्रतिकात्मक तस्बिर ।
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृहमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण भएका ३५ महिलाले सन्तानलाई जन्म दिएका छन् ।
दोस्रो लहर सुरु भएसँगै वैशाखको तेस्रो सातायता १२ र जेठमा आठ गरी २० महिलाले शल्यक्रियामार्फत सन्तानलाई जन्म दिएको अस्पतालले जनाएको छ ।
वैशाखमा आठ र जेठमा सात गरी १५ को ‘नर्मल डेलिभरी’ भएको अस्पतालले जनाएको छ । बाहिरबाटै कोभिड भएर आएका वा अस्पताल आएपछि पत्ता लागेका महिलालाई अरुबाट छुट्टै राखेर प्रसूति सेवा दिइएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले कोभिड भएका महिलालाई सेवा दिनेसँगै उनीहरूबाट अरुलाई सर्न नदिन व्यवस्था मिलाइएको छ ।’
अस्पतालले चार आइसियूसहित ८४ शय्या कोभिड लागेर आउने गर्भवतीका लागि छुट्टाएको छ । अस्पताल आउँदा नै लक्षण देखिएका र शङ्का लागेका बिरामीलाई अरुबाट छुट्टाइने गरिएको उपनिर्देशक अधिकारीले बताउनुभयो ।
उनीहरू अरुबाट छुट्टाएर राखेर पीसीआर परीक्षण गरेर पोजेटिभ आएमा ‘आइसोलेसन’ शय्यामा राखिन्छ । उहाँले भन्नुभयो, ‘कसैलाई सुरुमा नदेखिएकालाई अस्पतालमा भर्ना गरिएपछि सङ्क्रमण भएमा पनि पछि आइसोलेनमा राखिन्छ ।’
अस्पतालले थापाथलीस्थित भवन र कुपण्डोलस्थित भवनमा कोभिडका लागि शय्याको व्यवस्था गरेको छ । थापाथलीमा सङ्क्रमित महिलाका लागि पाँच अक्सिजनसहितका शय्या गरी ३० शय्या छुट्टाइएको छ ।
त्यस्तै कुपण्डोलमा अक्सिजनसहित ५० शय्या हाइ डिपेन्डेन्सी युनिट रहेको छ । सो भवनमा आवश्यक चिकित्सकसहित टोलीको व्यवस्था छ । उपचारमा रहेका कुनै पनि बिरामीका लागि चार आईसीयू कोभिडलाई छुट्टाइएको छ । सङ्क्रमित गर्भवती महिलालाई प्रसूति सेवाका लागि छुट्टै कोठाको व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, ‘शल्यक्रियाका लागि पनि एउटा भिन्दै कोठा छ ।’
थापाथलीमा सुत्केरी र गर्भवती मात्रै राखिने गरिएको अस्पतालले जनाएको छ । कुपण्डोलस्थित ५० शय्यामा भने गर्भवतीसँगै अरु महिलालाई पनि राख्ने गरिएको अस्पतालले जनाएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायत अरु अस्पतालले त्यहाँ शय्या खाली नहुँदा महिलालाई पठाउने गरेको छ ।रासस ।
हेल्थपाटी
तपाईँको अभिमत