कोरोना महामारीमा नर्सहरुको महत्व तथा भूमिका उच्च
काठमाडाैं । आज मे १२ तारिख अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिन्छ ।
आधुनिक नर्सिङ पेसाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर नर्स दिवस मनाउने गरिएको हो । हाल कोरोनाको विश्वव्यापी महामारीको बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ ।
शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेसालाई सम्मानित पेसाका रुपमा लिने गरिएको छ ।
नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका गरी करिब एक लाख नर्स रहेको नेपाल नर्सिङ परिषद्ले जनाएको छ । नेपालमा नर्सिङ अध्ययनका लागि सरकारी तथा निजी लगानीका गरी साढे २ सय शिक्षण संस्था छन् ।
ति संस्थाले हरेक वर्ष उत्पादन गर्ने ८ हजारभन्दा धेरै नर्सहरु रोजगारी नपाउने समस्याबाट पीडित छन् । काममा विभेद हुनेगरेको पनि उनीहरुको गुनासो छ । हाल कोरोना संकटकालका बेला नर्सहरुको भूमिका अझ बढेर गएको छ ।
यस्तो बेलामा पनि काममा विभेद गरी ज्यालादारीका रुपमा काम लगाउने सरकारको निर्णयको नर्सहरुले विरोध गरेका छन् ।
तपाईँको अभिमत