महिनावारी : चाडबाड आयोकी महिलालाई पीर ! (भिडियो)
नेपाली समाजमा महिनावारीलाई छुवाछुतको रुपमा लिने चलन हट्न सकेको छैन । थुप्रै महिलाहरुको चाडपर्वका बेला महिनावारी हुने समय पुगेको हुन्छ ।
महिनावारी भएर रमाइलोमा सहभागी हुन नपाउँदा, अलग्गै बस्नुपर्दा उनीहरुका लागि चाडपर्व निकै खल्लो लाग्ने गर्छ ।
यसबाट बच्न धेरैले महिनावारी केही दिन पर सार्ने औषधि पनि खाने गर्छन् । धेरै खालको औषधि बजारमा पाइन्छन् ।
यस्ता औषधिहरु खादाँ निकै विचार पुर्याउनु पर्ने स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा.सुनिता गौतम बताउनुहुन्छ ।
कहिले कहीँ महिनावारी पर सार्ने २–४ दिन औषधि खाँदा ठूलो हानि नगर्ने भएपनि आफू खुसी जुनपायो त्यही औषधि किनेर खान नहुने उहाँको भनाइ छ ।
महिलाको स्वास्थ्य अवस्था, तौल सबै मिलाएर औषधि खानुपर्ने भएकाले यस्ता औषधि खानुभन्दा पहिला विशेपज्ञ डाक्टरको सुझाव लिएर मात्रै खान डा.गौतमको सुझाव छ ।
महिनावारी कति दिन रोक्ने, कति दिनमा औषधि खाने कुन औषधि खाने जस्ता कुरा यकीन नगरीकन खाँदा महिनावारी पर सर्छ नै भन्ने पनि नहुने डा.गौतमले स्पष्ट पार्नुभयो ।
महिनावारी पर सार्ने औषधि खाने कि नखाने ? खानै परे कस्तो औषधि खाने कसरी खाने ? यसबारे डा.सुनिता गौतमसँग हेल्थपाटीका लागि तुलसा घिमिरेले कुराकानी गर्नुभएको छ ।
महिनावारी सार्ने औषधिबारे स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा.सुनिता गौतमले दिनुभएको पूरा जानकारी
महिनावारीको ३ वटा चरण हुन्छन्। कोही महिलाको ३० दिनको महिनावारीको चक्र छ भने पहिलो १५ दिन अण्डा बन्ने चरण हुन्छ यसलाई प्रोलिफेरेभिट चरण भनिन्छ। अण्डा निस्किसकेपछि अण्डा निस्किएको भागले अर्काे हर्मोन बनाउँछ। त्यो दोस्रो चरण हो ।
जब २ वटै किसमको हर्माेनको सन्तुलन रहन्छ, २८ दिनमा हर्मोनहरु कम हुन्छन् अनि महिनावारी हुन्छ । महिनावारी हुनु तेस्रो चरण हो।
महिनावारी हुने यो शारीरिक चक्रलाई कुनै कारणले रोक्नु पर्यो भने सजिलो भाषामा भन्दा कि त अण्डा बन्ने प्रक्रियाको चरणलाई लम्ब्याउनु पर्यो कित अण्डा बनेपछि जुन हर्माेन उत्पादन हुन्छ त्यो उत्पादनलाई लम्ब्याउनु पर्यो।
यो २ वटा चरणलाई लम्ब्याएपछि तेस्रो चरणको प्रक्रिया महिनावारी हुँदैन। यो लम्ब्याउनका लागि औषधिहरू प्रयोग गर्न सकिन्छ। साधारतया औषधि प्रयोग गर्दा खासै कुनै असर गर्दैन।
सधैंभरि होइन वर्षमा एक–दुई पटक चाडपर्व पर्व वा समारोहहरूमा खान सकिन्छ। त्यसले ठूलो असर गर्दैन।
तर ती औाषधि प्रयोग गर्दा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ। ध्यान दिनुपर्ने कुरा केहो भने-पहिलो कुरा औषधि सम्बन्धित डाक्टरको सल्लाह लिएर मात्रै प्रयोग गर्नुपर्यो।
आफूले कुन औषधि प्रयोग गरिरहेको छु। त्यो औषधि आफ्ना लागि प्रयोग गर्न हुन्छ कि हुँदैन भन्ने पनि यकीन गर्नुपर्यो।
औषधि कति मात्रा खाने, कति दिनका लागि खाने, महिनावारी कति दिन पर सार्नु परेको हो त्यो यकीन गर्नुपर्यो। कस्तो किसिमको औषधि प्रयोग गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ।
अनि खाने तरिका पनि सही हुनुपर्यो। जस्तो ३० गते महिनावारी हुनेवाला छ भने २९ गतेको दिन औषधि खाँदा त्यो महिनावारी पर नसर्न सक्छ।
महिनावारी हुने कम्तिमा ३ दिन अघिदेखि औषधि सुरु गर्नुपर्छ। त्यसो भयो भने औषधिले महिनावारी पर सर्न सक्छ। महिनावारीको प्रक्रिया सुरु भइसकेपछि औषधि प्रयोग गर्यो भने त्यसले काम नगर्न सक्छ।
धेरै तौल भएको महिला भए अरुलाई पुग्ने डोजले नपुग्न सक्छ।
परिवारनियोजनको साधन प्रयोग गरिरहेका महिलाले महिनावारी पर सार्ने कस्तो औषधि खाने ?
यसमा चाहिँ कुन साधन प्रयोग गरेका छन् त्यसमा भरपर्छ।
मानौ कोही महिलाले पिल्स खाइरहनुभएको छ । चाडवाड आयो, अब महिनावारी पर सार्नुपर्ने अवस्था आयो भने महिलाले आफूले खाइरहेको पिल्सको चक्कीको लाइन हेर्नुपर्छ। कुन चक्की खाइरहेको छु भनेर बुझ्नु पर्यो।
सेतोलाइन अर्थात् पहिलो र दोस्रो लाइन खाइरहँदा महिनावारी हुँदैन । तेस्रो लाइन अर्थात रातो लाइनको औषधि खाइसकेपछि मात्रै महिनावारी हुन्छ।
उहाँले तेस्रो लाइन सक्किन लागेको छ अब १० दिन महिनावारी पर सार्नु पर्यो भने सेतो लाइन नै थप १० दिन खाएर महिनावारी पर सार्नुपर्यो। रातो चक्की खानु भएन त्यसलाई छाडेर सेतोलाई नै निरन्तरता दिनुपर्यो।
३ महिने सुई लगाइरहनुभएको छ भने कसै–कसैको महिनावारी नै हुँदैन । कसैलाई बीच–बीचमा मात्रै महिनावारी हुने हुन्छ। यस्तो बेलामा ठ्याक्कै यो साधन प्रयोग गर्नू भन्न अप्ठ्यारो हुन्छ।
कपर्टी लगाइरहनुभएको महिला हुनुुहन्छ भने यसमा पनि नियमित महिनावारी हुन्छ। उहाँको महिनावारी पर सार्नुपर्यो भने कित अरु साधारण मान्छेले जस्तो पिल्स नै खानुपर्यो। कित महिनावारी रोक्ने अन्य औषधिहरु पाइन्छन्। त्यो कम्तिमा महिनावारी सुरु हुने २–३ दिनअघिबाट खानुपर्यो।
कति दिन महिनावारी रोक्ने हो त्यति दिन नियमित औाषधि खानुपर्यो। औषधि छाडेको २–३ दिनपछि फेरि महिनावारी हुन्छ।

हेल्थपाटी
तपाईँको अभिमत