जन्मजात मुटुरोगको रोकथाम गर्न जटिल छ, बेलैमा पहिचान र उपचार नै उत्तम उपाय हो : डा. शाक्य (भिडियो)
हरेक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म बाल मुटुरोग सचेतना सप्ताह मनाउने गरिन्छ । यस वर्ष नेपालमा माघ २५ देखि फागुन २ गतेसम्म परेको छ । यसै सिलसिलामा हेल्थपाटीका लागि सन्तोष निरा राईले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बालमुटुरोग विभागकी प्रमुख तथा वरिष्ठ बालमुटुरोग विशेषज्ञ डा. उर्मिला शाक्यसँग कुराकानी गर्नुभएको छ । यहाँ सोही कुराकानीका आधारमा तयार पारिएको सम्पादित अंश प्रस्तुत गरिएको छ :
जन्मजात मुटुरोग भन्नाले मुटुभित्रका विभिन्न भागहरूको विकृति हुने हो । जस्तै; मुटुको माथिल्लो कोठा, तल्लो कोठा, बिचको पर्दामा प्वाल पर्ने, मुटुभित्रका धमनीका भल्भहरू साँघुरिने, भल्भहरू पूर्णतया बन्द हुने, धमनीहरू उल्टोपाल्टो हुने आदि हुन्छ । त्यस्तै आमाको गर्भमै मुटुको बनावटमा विभिन्न किसिमका गडबडी भएर आउने रोगलाई जन्मजात मुटुरोग भनेर चिनिन्छ । यसरी हेर्दा जन्मजात मुटुरोग जटिल र ठुलो रोग हो जुन आमाकै गर्भबाट लिएर आएको हुन्छ ।
यो रोग जिवित जन्मिएका एक हजार जनामध्ये ८ देखि १२ जनामा लाग्नसक्ने अध्ययनले देखाएको छ । अर्को हिसाबले हेर्ने हो भने जिवित जन्मिएका शिशुमध्ये एक प्रतिशतमा यस्तो जन्मजात मुटुरोग लाग्न सक्छ । यो विश्वभरको आँकडा हो ।
जन्मजात मुटुरोग लाग्नुका कारणहरू
अधिकांश जन्मजात मुटुरोगको कारण थाहा हुँदैन । यद्यपि यसका दुई वटा कारण पहिचान भएका छन् । वंशाणुगत कारण र अर्को वातावरणीय कारण । जन्मजात मुटुरोग लागेकामध्ये १० प्रतिशतको कारण यी दुई कारण हुन् । बाँकी ९० प्रतिशतको कारण यकिन गर्न सकिँदैन । शिशु मृत्युको सबभन्दा ठुलो कारण पनि जन्मजात मुटुरोग हो । यो सामान्य प्वालदेखि जटिल किसिमको समेत हुन्छ । जति धेरै जटिल भयो त्यति छिटो यसका लक्षणहरू देखिन्छन् । त्यसको जति सक्दो चाँडो उपचार गर्नुपर्ने हुन्छ ।
यसका लक्षणहरू
जन्मजात मुटुरोगका लक्षणहरू कतिपयमा नदेखिन सक्छ । तर जटिलताअनुसार पनि यसको लक्षण देखिने हुन्छ । कतिपयमा जन्मेको एक महिनामै लक्षणहरू देखिन सक्छन् । जटिल खालका रोगमा महिना दिन, साता दिन वा तुरुन्तै पनि लक्षण देखिन सक्छन् । जन्मजात मुटुरोगमध्ये दुई तिहाइ जति जटिल खालका रोग हुन्छन् । त्यसमा पनि झण्डै एक तिहाइ जतिमा साता दिन वा महिना दिनमै लक्षण देखिन सक्छ ।
कतिपय निलो देखिने हुन्छन् । यो जन्मदा नै पनि निलो जन्मिने हुनसक्छ । जटिल खालको मुटुरोगमा निम्न बमोजिम लक्षणहरू देखिन सक्छन् :
– सास फेर्न कठिन हुने,
– छिटोछिटो सास फेर्ने,
– चिटचिट छिटोछिटो पसिना आउने,
– मुटुको धड्कन बढ्ने,
– बच्चाले दूध चुस्न नसक्ने (चुस्ने र छोड्ने गर्ने)
– बारम्बार निमोनिया हुने,
– उमेरअनुसार तौल नबढ्ने, आदि ।
के हो एबीएसडी ?
एबीएसडी भनेको चाहिँ छोटकरी नाम भयो । यसको पूरा रूप एट्रिओभेन्ट्रिकुलर सेप्टल डिफेक्ट हो । मुटुको माथिल्लो भागको दुई कोठाको बिचमा र तल्लो भागको दुई कोठाको बिचमा पनि पर्दा हुन्छ । ती दुवै पर्दामा ठुला प्वाल पर्छन् । त्यस्तै मुटुको माथिल्लो कोठा र तल्लो कोठा जोड्ने भल्भ हुन्छन् । त्यो भल्भमा पनि विकृति वा गडबडी हुन्छ । सामान्य भल्भले जस्तो काम गरेको हुँदैन । त्यहाँबाट पनि रगत चुहावट भइरहेको हुन्छ । माथिल्लो कोठाको बायाँदेखि दायाँतिर रगत प्रवाह भइरहेको हुन्छ । त्यस्तै तल्लो कोठामा पनि प्वाल हुने कारणले दायाँ बायाँ दुवै भागबाट असामान्य तवरले रगत प्रवाह भइरहेको हुन्छ ।
यसरी रगत प्रवाह असामान्य भएपछि मुटुको रगत प्रवाहमा चाप पर्न जान्छ । यसले गर्दा मुटु चाँडै सुन्निने, मुटुका कोठाहरू सुन्निने, सानै उमेरमा ‘हार्ट फेलर’को लक्षणहरू आउने, छिटोछिटो निमोनिया हुने जस्ता समस्या आउँछन् ।
एबीएसडीमा सानो प्वाल भएको छ भने त्यो पर्दैन । एबीएसडीमा ठुलो प्वाल पर्छ । त्यस्ता साना प्वाल कहिलेकाहीँ आफै टालिने हुन्छन् । तर एबीएसडीमा ठुला प्वाल हुने र भल्भहरूले समेत राम्रोसँग काम नगर्ने हुन्छन् ।
कसरी पत्ता लगाइन्छ ?
सामान्यतः इसीजी, रगतको परीक्षणजस्ता परीक्षण गर्दा मुटुको समस्या छ कि छैन भनेर पहिचान गर्न सकिन्छ । तर मुटुको समस्या पनि यही नै भएको हो भनेर जान्नका लागि ‘इको कार्डियोग्राफी’ गर्नुपर्छ । सामान्य भाषामा बुझ्दा मुटुको भिडियो एक्स–रे भनेर बुझिन्छ । यो गरेर मात्र ठ्याक्क यही समस्या भएको हो भनेर निक्यौल गर्न सकिन्छ ।
मुटुको समस्या गर्भमै रहँदा पनि थाहा पाउन सकिन्छ । त्यसलाई फिटल इकोकार्डियोग्राफी भनिन्छ । फिटल इकोकार्डियोग्राफी गर्भ रहेको १८ हप्तादेखि २२ हप्तासम्म गरेको सबभन्दा राम्रो हुन्छ । यो सेवा साताको ६ दिन गंगालाल अस्पतालमा उपलब्ध छ ।
के छ उपचार ?
सुरुवातमा ‘मेडिकल म्यानेजमेन्ट’ गरेर मुटुको समस्यालाई नियन्त्रणमा राख्न सकिन्छ । औषधि दिने, मुटुभित्र रगत जाने प्रवाहलाई कम गरिदिनाले समस्या नियन्त्रणमा रहन्छ । तर दीर्घकालीन समाधान भनेको प्वाल टाल्ने र भल्भ मर्मत वा फेर्ने नै हो । भल्भको बनावटमा असामान्य छ भने त्यसलाई मर्मत गरेर मात्र पनि पुग्छ । तर भल्भहरू कामै नलाग्ने अवस्था छन् भने फेर्नुपर्ने हुन्छ ।
के रोकथामका उपाय छन् ?
माथि नै भनिसकियो १० प्रतिशतमा मात्र जन्मजात मुटुरोग हुने कारण थाहा हुन्छ । बाँकी ९० प्रतिशतमा कारण किटान गर्न सकिँदैन । त्यसैले ती १० प्रतिशतमा केही रोकथामका उपाय अपनाउन सकिएला । तर अधिकांशमा भनेको रोक्न सकिँदैन । त्यसैले जतिसक्दो चाँडो रोगको पहिचान गरेर त्यसको निदान नै उत्तम उपाय हुन्छ । अर्को भनेको फिटल इकोकार्डियोग्राफी गरेर हुर्किरहेको भ्रुणमा मुटुको विकास कस्तो छ र स्वास्थ्य कस्तो छ भनेर थाहा पाउने हो । यसरी रोकथामका धेरै उपाय नभएकाले सबभन्दा महत्वपूर्ण भनेको चाँडो रोगको पहिचान गरेर त्यसको निदान गर्नु नै हो ।
हेल्थपाटी
तपाईँको अभिमत