निषेधाज्ञा : आधा सिट क्षमतामा सार्वजनिक सवारी चलाउन दिने तयारी

फाइल तस्बिर
काठमाडौं । काठमाडौं उपत्यकामा पुरानौ प्रावधानलाई कायमै राखी केही व्यवसाय खोली निषेधाज्ञाको समय थप्ने तयारी भएको छ । थपिने निषेधाज्ञामा सार्वजनिक सवारी साधन पनि जोर बिजोर प्रणाली अनुसार नै चलाउन दिने कि भन्ने विषयमा छलफल भएको छ । यदि चलाउन दिए आधा सिट क्षमतामा दिने कि भन्ने विषयमा पनि छलफल भएको छ ।
यद्यपी यसबारे ठोस निर्णय आज हुने छ । तर यातायात व्यवसायीले भने जोर बिजोर प्रणाली अनुसार सवारी साधन चलाए झनै भीड हुने र संक्रमण बढ्ने भएकाले पुरै सवारी साधनलाई चलाउन दिनपर्ने माग गरिरहेका छन् ।
पछिल्लो समय थपिएको निषेधाज्ञाको समय आज मध्यराती १२ बजेबाट सकिदैंछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा सार्वजनिक सवारी साधन चलाउन दिने विषयमा छलफल भएपनि निर्णय आज बस्ने बैठकले गर्ने एक प्रजिअले जानकारी दिनुभयो ।
उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक असार ७ गते एक साताका लागि थप्ने निर्णय भएको थियो । पछिल्लो पटक निषेधाज्ञा खुकुलो बनाउदै निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर–विजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो ।
संक्रमण कायमै रहेकाले सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायत तत्काल खोल्ने छैनन् । खुलास्थानमा धेरै मानिस भेला हुन पाइने छैन भने सार्वजनिक स्थान र बाटोमा तरकारी तथा फलफूल बिक्री गर्न पाइने छैन । शैक्षिक संस्था बन्दनै रहने छ । कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै वैशाख १६ गते उपत्यकालगायत देशभरका ७५ वटा जिल्लामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण कम भएका जिल्लाहरुमा निषेधाज्ञा खुकुलो बनाइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत