केपीएल र केबीएनपी कोरियाबीच प्राविधिक सहकार्य सम्बन्धी सम्झौता, नेपालमै कोरियन प्रविधिमा पशु औषधि उत्पादन हुने
नेपालको कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड (केपीएल) र कोरियाको केबीएनपी इनकर्पोरेटेडबीच प्राविधिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । बुधबार राजधानीमा विशेष समारोह आयोजना गरी दुई कम्पनीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
केपीएलका तर्फबाट अध्यक्ष हेमराज बडाल तथा केबीएनपीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हानी स्वङले हस्ताक्षर गर्नुभयो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको उपस्थितिमा हस्ताक्षर भएको हो ।
सम्झौतासँगै केपीएलले केबीएनपी कोरियाको अत्याधुनिक प्रविधि र विशेषज्ञता प्रयोग गरी नेपालमै उच्च गुणस्तरको पशु औषधि उत्पादन गर्ने बताएको छ । ‘यो सहकार्यले नेपाली पशुपालन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने, मुख्यतया आयात प्रतिस्थापन गर्ने र नेपाली किसानहरूलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने अपेक्षा गरिएको छ’, सम्झौतापछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
समारोहमा बोल्नुहुँदै औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले बाहिर मुलुकबाट यस किसिमको प्रविधि भित्र्याउन लाग्नु सुखद भएको बताउनुभयो । उहाँले प्रविधि भित्रिनु भनेको लगानी पनि भित्रिनु रहेको जनाउनुभयो । ‘विश्व बजारमा पुग्न यस किसिमको सहकार्य आवश्यक हुन्छ’, उहाँले भन्नुभयो, ‘अझ औषधि उत्पादनमा त अत्यन्त जरुरी छ ।’ उहाँले यस किसिमको सहकार्य अरू कम्पनीहरूले पनि गर्दै जाने हो भने नेपालले पशु स्वास्थ्यका औषधिहरू निर्यात गर्न सक्ने अवस्थामा पुग्ने बताउनुभयो ।
यसैगरी केपीएलका अध्यक्ष बडालले कोरियाको बहुराष्ट्रिय कम्पनीसँगको सहकार्य गौरवको विषय भएको उल्लेख गर्नुभयो । ‘यसले नेपालमै अन्तर्राष्ट्रिय स्तरको पशु औषधि उत्पादन गर्ने हाम्रो क्षमतालाई अभिवृद्धि गर्नेछ र नेपाली पशुधनको स्वास्थ्य सुधारमा ठोस टेवा पुग्नेछ’, उहाँले भन्नुभयो ।
केबीएनपी कोरियाका सीईओ स्वङले केपीएलसँग आफूहरूले सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताउनुभयो । उहाँले यो हस्ताक्षर समारोह वा कार्य मात्र नभएर सशक्त सम्बन्धको विस्तार पनि रहेको बताउनुभयो । यसले दुई कम्पनीबीचको सम्बन्ध मात्र नभएर दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो ।
समारोहमा फार्मेसी परिषद्का अध्यक्ष प्रज्वलजङ पाण्डेले प्राविधिक सहकार्यले अवसरहरू सिर्जना गर्ने बताउनुभयो । नेपालसँग अन्य प्राविधिक जनशक्तिहरूसमेत रहेको बताउनुहुँदै उहाँले भविष्यमा केबीएनपी र कोरियासँग प्राविधिक जनशक्तिमा पनि सहकार्य गर्न सकिने बताउनुभयो ।
यसैगरी औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले केपीएल तथा नेपालले सुवर्ण अवसर प्राप्त गरेको बताउनुभयो । उहाँले आयातका कारण मुलुक डुब्ने भन्दै औद्योगिकरणमा लाग्नुपर्ने धारणा राख्नुभयो । ‘व्यापारले मात्र देश डुब्छ’, उहाँले भन्नुभयो, ‘हामी औद्योगिकरणमा लाग्नुपर्छ, उत्पादनमा लाग्नुपर्छ । आज जुन हस्ताक्षर भएको छ यसले ठुलो अवसर सिर्जना गर्ने अपेक्षा छ ।’
प्रधानले उद्योगमा सरकारको सहयोग आवश्यक भएको भन्नुहुँदै ‘क्षयरोग लागेका’ कम्पनीहरूलाई बचाइदिन सरकारसँग मागसमेत गर्नुभयो ।
केपीएलले हालसम्म २६ वटा आहारपुरक पदार्थ उत्पादन गर्दै आइरहेको छ भने ७० वटा औषधि उत्पादन गर्दै आइरहेको छ । त्यस्तै ४० वटा औषधि उत्पादनका लागि अनुमति प्राप्त गरिसकेको छ ।
पशु औषधि उत्पादनमा कोरियामा पहिलो स्थानमा रहेको केबीएनपीले ३९ मुलुकमा आफ्नो उत्पादन वितरण गरिरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत