सर्पदंश मनसुन महिनामै बढी किन ? (भिडियो)
सर्पदंश मनसुन र गर्मी महिनामा बढी हुने गरेको पाइन्छ । मनसुन महिनामा आहाराका लागि सर्प बढी सक्रिय हुने, झाडीहरू हुनेलगायतका कारण सर्पदंश बढ्ने गरेको विज्ञको भनाइ छ । सर्प आहाराका लागि बाहिर आउँदा मानिससँगको जम्काभेट हुने गर्छ । यद्यपि सर्पलाई नजिस्काउने, नतर्साउने वा त्यसलाई खतरा हुने महसुस नगराएसम्म त्यसले आफै केही नगर्ने विज्ञहरू बताउँछन् ।
सर्पको डसाइबाट बच्न मुख्यगरी मानिसले सावधानी अपनाउनुपर्ने विज्ञको सुझाव छ । त्यसो भए सावधानी अपनाउँदा पनि सर्पले डसेमा के गर्ने, नेपालमा सर्पदंशको अवस्था कस्तो छ, घरेलु उपचार केही छ कि जस्ता विषयमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. सञ्जीवकुमार शर्मासँग हेल्थपाटीका लागि सन्तोष निराले कुरा गर्नुभएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको सामग्री ।
नेपालमा सर्पदंशको तथ्याङ्क
विश्व स्वास्थ्य संगठनले ८० को दशकमा अध्ययन गरेको थियो । सो अध्ययनका अनुसार नेपालमा बर्सेनि एक हजार जनाको सर्पदंशका कारण मृत्यु हुने गरेको थियो । लामो समयसम्म सर्पदंशको तथ्याङ्कबारे अध्ययन भएन । विश्व स्वास्थ्य संगठनको त्यही अध्ययनलाई आधिकारिक मानियो ।
लामो समयपछि सन् २०२२ मा हामीले नेपालको मेचीदेखि महाकालीसम्म विभिन्न संस्थाहरू मिलेर अध्ययन ग¥यौँ । उक्त अध्ययनले करिब ३७ हजार सर्पदंश बर्सेनि हुने गरेको देखायो । त्यसमध्ये ३ हजार जनाको मृत्यु हुने गरेको पाइयो । यो आँकडा सुन्दा कतिपयले ‘अहो, होइन होला, यति धेरै त होइन होला’ भन्ने प्रतिक्रिया पाउँछौँ । त्यसो हुनमा सरकारी तथ्याङ्कमा कम छ । अधिकांश सर्पदंश केन्द्रमा नगइकन नै मृत्यु हुन्छ । भारतमा ९७ प्रतिशत र नेपालको १ नं. प्रदेशमा हेरियो भने पनि ८० प्रतिशत सर्पदंशका बिरामी बाटैमा मृत्यु हुने गरेको छ ।
सक्रिय उमेरका व्यक्ति सर्पदंशबाट बढी पीडित
सर्पदंशबाट सक्रिय उमेरका व्यक्ति बढी पीडित देखिएका छन् । व्यक्ति बारीमा जान्छ, हिँड्छ, डुल्छ, काम गर्छ अर्थात् जो बढी सक्रिय हुन्छ त्यही व्यक्तिको सर्पसँग बढी जम्काभेट हुन्छ । अध्ययनले देखाएअनुसार ५० प्रतिशत सर्पदंशका घटना ३० वर्षभन्दा मुनिका मानिसमा भएको छ । मृत्यु हुनेमा ५० प्रतिशत १५ वर्षभन्दा मुनिका रहेको देखिएको छ । यसले परिवारलाई प्रत्यक्ष रूपमा भार परेको छ भने राज्यलाई पनि आर्थिक भार थपेको छ ।
एक चौथाइमा अङ्गभङ्ग, १० प्रतिशतमा मानसिक समस्या
सर्पदंश भएपछि करिब एक चौठाइ व्यक्तिको कुनै न कुनै किसिमको अङ्गभङ्ग भएको पाइएको छ । त्यस्तै १० प्रतिशतमा मानसिक समस्या वा तनाव हुन्छ । यसले गर्दा उत्पादकत्वमा पनि असर गर्छ । परिवारको सक्रिय सदस्य नै अशक्त वा मानसिक रूपमा समस्याग्रस्त हुँदा परिवारले व्ययभार थेग्न मुस्किल पर्छ ।
राज्यले राहत दिनुपर्छ
राज्यले सर्पदंशका बिरामीलाई खासै सहयोग गरेको छैन भन्न मिल्दैन । एन्टिभेनम निःशुल्क उपलब्ध गराएको छ । यो नहुने हो भने गरिब जनतालाई साह्रै ठुलो असर पर्थ्यो । तैपनि राज्यले अझै थप सहयोग गर्नुपर्ने देखिन्छ । भारतमा देखिन्छ कि सर्प हात्ती, बाघ जस्ता वन्यजन्तुको आक्रमणबाट घाइते वा मृत्यु हुँदा राहत दिने गरेको छ । यहाँ पनि राज्यले त्यसबारे सोच्न र व्यवस्था गर्न जरुरी छ ।
सर्पदंश मनसुन महिनामै बढी किन ?
सर्पहरू अज्ञात बासमा जान्छन् । त्यसरी बसिरहँदा मनसुन महिनामा चाहिँ पानी पर्छ । पानी उनीहरू बसिरहेको ठाउँमा पस्छ । त्यसले गर्दा तिनीहरू बाहिर निस्कन्छन् । त्यतिखेर नै तिनीहरूको प्रजनन याम हुन्छ । यहीवेला आहार पनि खोज्छ । सर्प सक्रिय हुन्छ । सर्प सक्रिय भएकै वेला मानिसको खेतीपाती गर्ने वेला पनि हुन्छ । घाँसहरू लहलह बढेका हुन्छन् । झाडीहरू बढेका हुन्छन् । यसवेला सर्प र मानिसको जम्काभेट पनि बढी हुन्छ । यसकारण मनसुन महिनामै सर्पदंशका घटना बढी हुन्छन् ।
हेल्थपाटी
तपाईँको अभिमत