नेपालमा १५ लाख बढीलाई मधुमेह, विश्वमा महामारी बन्दै

नेपालमा कम्तिमा १५ लाखलाई मधुमेह रोग रहेको पुष्टि भइसकेको विज्ञहरुको भनाइ छ ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलनका अवसरमा आयोजित प्रस ब्रिफिङमा चिकित्सकहरुले मधुमेह रोग एक महामारीको रुपमा बढ्दै गएको बताउनुभएको छ ।
नेपालका ७० जिल्लामा पछिल्लो समय गरिएको एक अध्ययनले २० वर्षमाथिका जनसंख्या मध्ये ८.५ प्रतिशतमा मधुमेह देखिएको डा.सत्यन राजभण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा ३ वर्षअघि सम्म ४–५ लाखको संख्यामा मधुमेहका बिरामी रहेको अध्ययनले देखाएका थिए ।
दक्षिण एसियाली इन्डोक्राइन समाज महासंघ(साफिस)को पहलमा विभिन्न संघसंस्थाको सहकार्यका पाचौँ साफिस सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ ।
मधुमेह तथा इन्डोक्रिनोलोजी संघ नेपाल, इन्डोक्रिनोलोजी अन्तराष्ट्रिय समाज, इन्डोक्रिनोलोजी युरोपियन समाज लगायत अन्य संस्थाको समेत सहकार्य रहेको आयोजकले जानकारी दिएका छन् ।
सम्मेलनको अध्यक्षता नेपालकी बरिष्ठ इन्डोक्रिनोलोजिस्ट डा.डीना श्रेष्ठले गर्नुभएको छ ।
सम्मेलनमा विभिन्न देशका विज्ञहरुबाट मधुमेह, थाइराइड, मोटोपना तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूमा अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत हुने जानकारी डा.श्रेष्ठले दिनुभयो।
सम्मेलनमा भारत, पाकिस्तान, बंशलादेश, श्रीलंका, माल्दिभ्ससहित विभिन्न देशका चिकित्सकको उपस्थिति छ । उद्घाटन शत्रपछिको प्रेस ब्रिफिङमा उहाँहरुले मधुमेह विश्वकै साझा समस्या रहेको र दक्षिण एसियामा झन समस्याग्रस्त रहेको बताउनुभयो ।
पूर्वी एसिया तथा मध्य एसियालीको तुलनामा दक्षिण एसियालीलाई कम उमेरमै मधुमेह देखिन जोखिम बढी रहेको साफिसका उपसभापति समेत रहनुभएका भारतीय चिकित्सक डा.सञ्जय कर्लाले बताउनुभयो।
पछि हुनसक्ने मधुमेहको जोखिमबाट बच्न अहिलेबाट स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्ने डा.कर्लाले सुझाव दिनुभयो ।
पाकिस्ता, श्रीलंका, बंगलादेशका चिकित्सकले मधुमेह अहिले विश्वमा महामारीको रुपमा देखा परेको बताउनुभयो ।
शुक्रबार सम्मेलनको उद्घाटन शत्रमा महजोडीले निर्माण गरेको मधुमेह सम्बन्धी चलचित्र प्रदर्शन समेत गरिएको थियो ।
हरिवंश आचार्यले मधुमेहको सन्देशमुलक चलिचत्र सार्वजनिक गर्नुभएको थियो ।
यो चलचित्र नेपाल टेलिभिजनबाट प्रसारण गरिने र युट्युबमा समेत राख्ने आचार्यले जानकारी दिनुभयो।
कार्यक्रमको प्रमुख अतिथी रहनुभएकी महिला उद्यमीअम्बिका श्रेष्ठले मधुमेहले रोगीलाई मात्रै नभएर समाज, परिवारलाई समेत असर पार्ने बताउनुभयो ।
नेपाल डायबेटिज सोसाएटीलाई पुरस्कृत गरिएको थियो ।
तपाईँको अभिमत