फार्मेसीमा परिचय र पोशाक अनिवार्य गर्न सघाउँछु : स्वास्थ्य मन्त्री
फर्मासिस्टहरुलाई अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको छ ।
परिषदले आगामी पुष ४ गतेबाट लागू हुने गरी गत मंसिर ४ गते फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोशाक र परिचय अनिवार्य गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषदलाई निर्देशन दिनुभएको थियो ।
लगत्तै परिषदले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको थियो । कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरण मा कार्यरत रहेका फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय पुष ४ गतेबाट लागू हुँदैछ ।
परिषदका रजिष्ट्रार संजिवकुमार पाण्डेका अनुसार यो निर्णयले औषधी बिक्री वितरणमा आधिकारिक व्यक्ति मात्र संलग्न हुने र यदि यसो नभए कारबाही गर्न सहयोग पुग्नेछ ।
मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न निर्देशन दिदै मन्त्रालयले कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाउनुभयो। औषधीको बिक्री वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधी व्यवस्था विभागलाईसमेत अनुगमन बढाउन सचेत गराउनुभएको छ ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले परिषदको निर्णय कार्यान्वयनमा सघाउन मन्त्रालयले पत्राचार गर्ने र औषधी बिक्री वितरणमा बेथिति देखिए नदेखिएकोसमेत अनुगमन गर्ने र दोषी देखिएमा कारबाही अघि बढाइने जानकारी दिनुभयो ।
मन्त्री पौडेलले औषधीको मूल्य समायोजन गर्नका लागि गठित समितिले अहिले काम गरिरहेको छ । समितिको सुझावअनुसार अधिकतम उपयोग हुने औषधीमा नागरिकलाई कम भार पर्ने गरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ ।
तपाईँको अभिमत