साउदी अरबमा नर्सको रुपमा काम गर्दा नेपाल भन्दा के फरक ? (भिडियो)
नेपालबाट अन्य जनशक्तिसँगै नर्सिङका जनशक्ति पनि वैदेशिक रोजगारीमा गइरहेका छन् । साउदी अबरमा समेत नेपाली नर्स रोजगारीका लागि जाने गरेका छन् ।
नेपालमा भन्दा साउदीमा नर्सको रोजगारी निकै राम्रो रहेको नर्स सरिता भुर्तेल बताउनुहुन्छ । उहाँ साउदीको डा.सुलेमान अल हबिब अस्पतालमा कार्यरत हुनुहुन्छ ।
काम गर्ने तरिका, तलब तथा सिक्ने अवसर सबैका हिसाबले साउदीको रोजगारी आफूलाई निकै राम्रो लागेको हेल्थपाटीसँगको कुराकानीमा सरिता बताउनुहुन्छ ।
उहाँ नेपालमा नर्सका रुपमा ४ वर्ष काम गरेर साउदी अरब जानुभएको हो । त्यहाँको काम गराइ साथै हरेक कुरामा नेपालमा भन्दा राम्रो रहेको सरिताको अनुभव छ ।
नेपालमा एउटा नर्सले २० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था रहेकोमा उता एक नर्सले २–३ जना मात्रै बिरामी हेरे पुग्ने उहाँले सुनाउनुभयो ।
तलब यहाँको भन्दा दोब्बर तेब्बर नै हुन्छ ।
‘नेपालमा निजी क्षेत्रमा सुरुवाती तलब १४–१५ हजार र सरकारीमा जाँदा ३० देखि ३५ हजारसम्म हुन्छ’ सरिता भन्नुहुन्छ, ‘नेपालमै प्रयोग गरेको सीप उता गएर प्रयोग गर्दा दोब्बर–तेब्बर तलब पाइन्छ ।’
नेपालमा नर्सका रुपमा काम गर्दै गर्दा थप शिक्षा तथा सिकाइको अवसर प्राप्त नहुने उहाँको गुनासो छ । सरकारीमा काम गर्दा कुनै तालिममा जाने अवसर आएपनि सिनियरले मात्रै पाउँछन् । साउदीमा भने कामकै काम गर्ने क्रममा नजानेका कुरा सिक्ने अवसर धेरै मिल्ने उहाँ बताउनुहुन्छ ।
‘उता के हुन्छ भने नर्समा के कुराको सीपको कमी छ उनीहरुले ती नर्सलाई लक्षित गरेर शिक्षा तथा सीपको तालिममा सहभागी गराइरहेको हुन्छन्’ सरिता सुनाउनुहुन्छ, ‘त्यो सीपले विश्वका जुनसुकै अस्पतालमा गएर पनि काम गर्न सकिन्छ नि।’
नेपालमा सिनियर नर्स र जुनियरबीच छुट्टै व्यवहार हुने गरेको उहाँको गुनासो छ। तालिमका अवसर पाउनेदेखि, ड्यूटी गर्ने कुरामा पनि भेदभाव हुन्छ ।
यहाँ नर्सिङ पास गरेपछि जागिर पाउनका लागि निकै संघर्ष गर्नुपरेको पनि सरिताले सुनाउनुभयो ।
नर्स सरिता भुर्तेलसँग नेपालमा काम गर्दार्का अवस्था र साउदी अरबको अस्पतालमा काम गर्दाका अनुभवबारे हेल्थपाटीका लागि तुलसा घिमिरेले कुराकानी गर्नुभएको छ।

हेल्थपाटी 
तपाईँको अभिमत