काठमाडौं मेडिकल कलेज अस्पताल तोडफोड, दुई डाक्टरमाथि हातपात
इमर्जेन्सीमा आएका बिरामीको मृत्यु भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा तनाव उत्पन्न भएको छ । बिरामीका आफन्तले ड्यूटीमा रहेका चिकित्सकमाथि हातपात गर्नुका साथै अस्पताल तोडफोड समेत गरेका छन्।
अस्पतालका एक चिकित्सकले दिएको जानकारी अनुसार काठमाडौं बत्तीस पुतलीका ६२ वर्षीय पुरुषको इमर्जेन्सीमा उपचारका क्रममा मृत्यु भएको हो ।
धेरै पेट दुखेको भन्दै आज दिउँसो सवा ४ बजे बिरामीलाई अस्पताल ल्याइएको थियो । उपचार प्रक्रिया सुरु गर्दागर्दै एक्कासी बिरामीको अवस्गा बिग्रिदै गयो । चिकित्सक, स्वास्थ्यकर्मीले सीपीआर दिएर बिरामीलाई बचाउने प्रयास गरेका थिए ।
चिकित्सकले प्रयास गर्दागर्दै ७:२२ बजेतिर बिरामीको मृत्यु भएको घोषणा गरिएको अस्पतालका चिकित्सकले हेल्थपाटीलाई जानकारी दिएका छन् ।
ती चिकित्सकका अनुसार राति ८ बजे बिरामीमा आफन्तहरू भेला भएर अस्पताल आइ तोडफोड र डाक्टरमाथि हातपात गरेका थिए । इमर्जेन्सी विभागकी प्रमुख प्रा.डा.विनिता प्रधान र इमर्जेन्सीमै ड्यूटीमा रहेकी अर्की एक डाक्टरलाई समेत बिरामीका आफन्तले हातपात गरेका थिए ।
मुक्का र लात्तीले डा. प्रधानको टाउको र शरीरका विभिन्न भागमा प्रहार गरिएको थियो।
आक्रोशित भीडले इमर्जेन्सीको काउन्टर र झ्यालका सिसा समेत फुटाएका छन्।
बिरामीका आफन्तले भने उपचारमा लापरवाही गर्दा बिरामीको ज्यान गएको आरोप लगाएका छन् ।
सीपीआर दिने क्रममा कोही चिकित्सक नआएको, गार्ड र नर्सहरू मात्रै रहेको आरोप बिरामीमा आफन्तले लगाएका छन् ।
तर उनीहरुले भनेजस्तो नभएको अस्पतालका चिकित्सकको भनाइ छ । बिरामीको उपचारमा महिला डाक्टर खटिएकाले उनीहरुलाई नर्स भन्ने ठानेर डाक्टरले नहेरेको आरोप लागाएको अस्पतालका चिकित्सकले बताए ।
अहिले अस्पतालमै रहेका एक चिकित्सकले बताए अनुसार मृतक बिरामीका आफन्तले आफूहरु नेपाली कांग्रेस सम्वद्ध रहेको भन्दै धम्की दिइरहेका छन् ।
यस अस्पतालका सञ्चालक सुनिल शर्मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य छन् । ‘सुनिल सरलाई जानकारी गराएर नै तोडफोड गरेका हौँ भनिरहेका छन्’ अस्पतालमा रहेका चिकित्सकले भने ।
अहिले(राति १० बजे) सम्म पनि अस्पतालमा ४०–५० जना जति बिरामीका आफन्त इमर्जेन्सीअगाडि बसेर धर्ना दिइरहेका छन् ।
यो पनि पढ्नुहोस् : डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोडको घटनाप्रति चिकित्सक संघको निन्दा
तपाईँको अभिमत