काठमाडौं क्यान्सर सेन्टरमा कार–टी सेल उपचार सेवा सुरु
काठमाडौं । काठमाडौं क्यान्सर सेन्टरले रक्तजन्य क्यान्सरका बिरामीका लागि अत्याधुनिक कार–टी सेल उपचार सेवा सुरु गरेको छ। सेन्टरले केही दिनभित्रै ल्युकेमिया र लिम्फोमा भएका दुई जना बिरामीमा यो उपचार सुरु गर्ने तयारी गरेको जनाएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष डा। अञ्जनीकुमार झाले नेपालमै उत्पादन गरिएको कार–टी सेल प्रयोग गरेर उपचार सुरु गर्न लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार सेन्टर फर रिजेनरेटिभ मेडिसिन ९सीआरएम० नेपालले उत्पादन गरेको कार–टी सेल पहिलो चरणमा रक्तजन्य क्यान्सर भएका बिरामीमा प्रयोग गरिनेछ।
डा। झाले यसअघि कार–टी सेल उपचारका लागि विदेश जानुपर्ने नेपाली बिरामीलाई अब स्वदेशमै उपचारको अवसर उपलब्ध हुने बताउनुभयो। उहाँले नेपाल कार–टी सेल उत्पादन गर्न सक्ने सीमित मुलुकमध्ये एक बनेको दाबी पनि गर्नुभयो।
सेन्टरका प्रमुख डा। सिमित सापकोटाले कार–टी सेल उपचार सबै प्रकारका क्यान्सरका बिरामीका लागि उपयुक्त नहुने स्पष्ट पार्नुभयो। उहाँका अनुसार आवश्यक परीक्षणपछि उपचारका लागि उपयुक्त ठहरिएका बिरामीको शरीरबाट टी–सेल निकालेर सीआरएम नेपालको प्रयोगशालामा पठाइनेछ। त्यहाँ ती कोशिकामा आनुवंशिक परिमार्जन गरी क्यान्सरका कोशिका पहिचान गर्न सक्ने बनाइने र आवश्यक मात्रामा वृद्धि गरेपछि पुनः बिरामीको शरीरमा प्रविष्ट गरिनेछ।
उहाँका अनुसार उपचारपछि देखिन सक्ने सम्भावित जटिलतालाई ध्यानमा राख्दै बिरामीलाई दुईदेखि तीन सातासम्म अस्पतालमै चिकित्सकको निगरानीमा राखिनेछ।
कार–टी सेल थेरापी प्रतिरक्षा प्रणालीमा आधारित आधुनिक उपचार विधि हो। यसमा बिरामीकै प्रतिरक्षा कोशिकालाई प्रयोगशालामा परिमार्जन गरी क्यान्सरका कोशिकाविरुद्ध सक्रिय बनाइन्छ। पछिल्ला वर्षहरूमा यो उपचार विशेषगरी रक्तजन्य क्यान्सरका केही प्रकारमा प्रभावकारी मानिएको छ।
पत्रकार सम्मेलनमा डा। झाले हाल विश्वका करिब ३५ देशमा कार–टी सेल उपचार उपलब्ध रहेको उल्लेख गर्दै नेपालमा यसको सुरुवात हुनु क्यान्सर उपचारका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार सेवा सञ्चालनका लागि भारत र जर्मनीका विशेषज्ञ टोलीसँग सहकार्य गरिएको छ।
सेन्टरका अनुसार कार–टी सेल उपचारका लागि प्रतिविरामी करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। यो लागत भारतमा हुने उपचारभन्दा कम रहेको सेन्टरको दाबी छ।
यसैबीच सेन्टरले बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी पनि अघि बढाएको जनाएको छ। उक्त सेवा सुरु भएपछि बोन म्यारो तथा रक्तसम्बन्धी जटिल रोगका बिरामीले उपचारका लागि विदेश जानुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।
सेन्टरले अत्याधुनिक स्टेरियोट्याक्टिक लिन्याक उपकरण पनि सञ्चालनमा ल्याएको जनाएको छ। यस उपकरणमार्फत उच्च सटीकताका साथ रेडियोथेरापी सेवा प्रदान गर्न सकिने जनाइएको छ।
सेन्टरका मेडिकल अन्कोलोजिस्ट डा। सुवास पण्डितले क्यान्सरका बिरामीको पीडा व्यवस्थापन तथा प्यालियाटिभ केयरलाई थप प्रभावकारी बनाउन बेलायतको किङ्स कलेज र जापानका विश्वविद्यालयहरूसँगको सहकार्यमा अनुसन्धान कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो।
भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर २०७३ सालदेखि सञ्चालनमा छ। सेन्टरले हाल रेडिएसन अन्कोलोजी, मेडिकल अन्कोलोजी, केमोथेरापी, लक्षित उपचार, प्रतिरक्षा उपचार, क्यान्सर शल्यक्रिया, सिटी स्क्यान, रेडियोलोजी, सघन उपचार कक्ष तथा प्यालियाटिभ केयरलगायतका सेवा प्रदान गर्दै आएको छ।
हेल्थपाटी
तपाईँको अभिमत