नेपालकै पहिलो अन्तर्राष्ट्रिय आणविक चिकित्सा सम्मेलन विराटनगरमा सम्पन्न
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय आणविक चिकित्सा सम्मेलन सम्पन्न भएको छ।
अस्पतालको आणविक चिकित्सा तथा आणविक प्रतिचित्रण विभागले शनिबार आयोजना गरेको सम्मेलनमा नेपाल, भारत र बंगलादेशका विशेषज्ञ चिकित्सकहरूले क्यान्सर उपचार तथा आधुनिक आणविक चिकित्साका पछिल्ला प्रविधिबारे कार्यपत्र प्रस्तुत गर्दै अनुभव आदानप्रदान गरेका थिए।
सम्मेलनमा बंगलादेशका प्रा। डा। मिजानुल हसन, डा। मोल्ला अब्दुल वहम, प्रा। डा। सनोवार हुसैन, प्रा। डा। फारिया नर्सिन र प्रा। डा। जास्मिन आरा हक तथा भारतको राजीव गान्धी क्यान्सर अनुसन्धान केन्द्र, नयाँदिल्लीका प्रा। डा। मनोज गुप्ताको सहभागिता रहेको थियो।
नेपालका तर्फबाट विराट मेडिकल कलेज टिचिङ अस्पतालका डा। अमरदीप चौधरी, डा। सुमन श्रेष्ठ, डा। सागर महर्जन र डा। सुधीर केसीले कार्यपत्र प्रस्तुत गरेका थिए।
सम्मेलनमा क्यान्सरको प्रारम्भिक पहिचान, रोगको फैलावट मूल्याङ्कन, विकिरण समस्थानिक उपचार, लक्षित उपचार पद्धति तथा आणविक चिकित्साको पछिल्लो अभ्यासबारे छलफल भएको आयोजकले जनाएको छ।
विराट मेडिकल कलेज टिचिङ अस्पतालले पूर्वी नेपालमै पहिलोपटक आणविक चिकित्सा तथा आणविक प्रतिचित्रण विभाग सञ्चालनमा ल्याएको छ। पेटभित्र फैलिने क्यान्सरको उपचारमा प्रयोग हुने एचआईपीईसी ९ज्क्ष्एभ्ऋ० सेवा पनि पूर्वी नेपालमै पहिलोपटक यही अस्पतालबाट सुरु गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार आणविक चिकित्सा सेवामार्फत क्यान्सरको प्रारम्भिक निदान, रोगको फैलावटको मूल्याङ्कन, मुटुको रक्तप्रवाह परीक्षण, हड्डी तथा संक्रमणजन्य रोगको पहिचान, मिर्गौला, कलेजो र फोक्सोको कार्यक्षमता परीक्षण तथा थाइरोइडसम्बन्धी रोगको निदान गरिँदै आएको छ।
उपचारतर्फ थाइरोइड क्यान्सरका बिरामीका लागि रेडियोधर्मी आयोडिन उपचार, हड्डीको दुखाइ कम गर्ने रेडियोन्यूक्लाइड उपचार, न्यूरोएन्डोक्राइन ट्युमरको लक्षित उपचार तथा रेडियोसिनोभेक्टोमी सेवा सञ्चालनमा रहेको अस्पतालले जनाएको छ।
आयोजकका अनुसार सम्मेलनमा काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत विभिन्न जिल्लाबाट तीन सयभन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो।
सम्मेलनले अन्तर्राष्ट्रिय विशेषज्ञसँग अनुभव आदानप्रदान गर्ने अवसर उपलब्ध गराएको तथा यसबाट पूर्वी नेपालमा अत्याधुनिक उपचार सेवा विस्तार, चिकित्सकको क्षमता अभिवृद्धि र जटिल रोगको उपचारलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।
यसै अवसरमा आणविक चिकित्सा तथा आणविक प्रतिचित्रण विभाग र स्नायु विज्ञान विभागका लागि निर्माण गरिएको नयाँ भवनको पनि उद्घाटन गरिएको थियो।
हेल्थपाटी
तपाईँको अभिमत