वरिष्ठ डाक्टरको क्लिनिकमा अप्रेसन बिगारिदिएपछि ... (भिडियो)
एक वर्षअघि संखुवासभाका ज्ञानबहादुर रायलाई पिलोजस्तो आयो। आयुर्वेद अस्पताल नरदेवी पुग्नुभयो। जाँच गर्दा फिस्टुला भन्ने थाहा भयो। अप्रेसन गर्नुपर्ने भनिएको थियो तर विविध कारणले गर्न पाउनुभएन।
गाह्रो हुन थालेपछि अप्रेसनका लागि नरदेवी अस्पताल जान तयारीमा हुनुहुन्थ्यो। त्यतिकैमा अनामनगरमा एक जना साथीसँग भेट भयो। ती साथीले सुझाव दिए–नरदेवीकै वरिष्ठ डाक्टरको शान्तिनगरमा क्लिनिक छ। राम्रो उपचार हुन्छ। यता जस्तो झन्झट पनि हुँदैन।
साथीको सल्लाह अनुसार नै गर्ने निर्णय रायले गर्नुभयो। २०८१ भदौ २६ गते शान्तिनरस्थित केशव आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि पुग्नुभयो।
अनुभवी र वरिष्ठ चिकित्सकबाट राम्रो उपचार हुने विश्वासमा हुनुहुन्थ्यो। तर त्यहाँ मनग्ने शुल्क लिएर राम्रोसँग जाँच नगरी विज्ञता नै नभएका चिकित्सकले अप्रेसन गरिदिए।
रायलाई अप्रेसन गर्ने चिकित्सक हुनुहुन्थ्यो आयुर्वेद चिकित्सक डा.रामदेव यादव। उहाँ आयुर्वेद शिक्षण अस्पताल नरदेवीका निमित्त निर्देशक समेत हुनुहुन्छ। केशव आयुर्वेद उहाँकै ‘क्लिनिक’ हो।
अप्रेसन गरेपछि दिन विराएर ड्रेसिङ गर्न आउनु भनेर पठाइएको थियो।
अप्रेसन गर्दा पनि समस्या कायम नै रह्यो। आफू बस्ने नजिकैको क्लिनिकमा ड्रेसिङ गराउन जाँदा थाहा भयो, अप्रेसन त पूरा भएकै रहेनछ।
यस्तो भयो भनेर राय फेरि केशव आयुर्वेदमै देखाउन पुग्नुभयो। तर पहिलो दिन यादवले केही भएको छैन भनेर पठाउनुभयो। मेडिकलमा ड्रेसिङ गराउन जाँदा पिप आयो। अनि फेरि केशव आयुर्वेदमा गएपछि त्यो बेला अहिले तत्काल नै अप्रेसन गर्नुपर्छ भनेर यादवले भन्नुभयो।
अप्रेसनको पूरा रकम २५ हजार भनिएको थियो। रायले १३ हजार दिइसक्नुभएको थियो। एकपटक गरेको अप्रेसन राम्रो नभएपछि उहाँलाई डर लाग्यो, दोस्रो पटक यादवबाट अप्रेसन गराउन तयार हुनुभएन।
‘डा.साप म अहिले गर्दिन, पहिलाको निको भएपछि नरदेवी जान्छु भनेँ’ रायले सुनाउनुभयो, ‘नरदेवी जान्छु भनेपछि उहाँले कहाँ नरदेवी जानुहुन्छ, नरदेवीको केस सबै यहाँ आउने हो, मैले नै हेर्ने हो भन्नुभयो।’
नरदेवी गए धेरै खर्च हुने भन्दै यादवले डर देखाउनुभयो। 'नरदेवी चाहिँ जाँदै नजा भन्नुभयो', राय भन्नुहुन्छ । त्यसपछि शंका लागेर आफूले खोजी गर्दा यादव अप्रेसन गर्ने चिकित्सक नै नभएको पाइएको रायको भनाइ छ। पछि उहाँले नरदेवीमै गएर उपचार गराउनुभयो।
कहिले सिंहदरबार वैद्यखानाको त कहिले नरदेवी अस्पतालको नेतृत्व हात पार्न सफल भइरहने डा.यादव विभिन्न समयमा विवादमा आरहनुहुन्छ।
उहाँले शान्तिनगरस्थित आफ्नै केशव आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर सञ्चालन गर्नुभएको छ। अस्पतालका लागि भनेर आएका औषधि आफ्नो क्लिनिकमा लगेर बेच्ने गरेको आरोप समेत लाग्ने गरेको छ।
२०७५ सालमा उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३७ हजार घुससहित पक्राउ गरेको थियो। आयुर्वेदमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीसँग घुस लिएको आरोपमा उहाँविरुद्ध मुद्दा चलाइएको थियो।
यादवले अप्रेसन गर्न मिल्छ ?
आयुर्वेद चिकित्सा परिषद्को अभिलेखअनुसार डा.रामदेव यादव काय चिकित्सक हुनुहुन्छ। वि.सं.२०६१ फागुन ७ गते उहाँ स्नातकोत्तर चिकित्सकका रूपमा परिषद्मा दर्ता हुनुभएको देखिन्छ।
यादवको विज्ञताअनुसार शल्यक्रिया गर्न नमिल्ने आयुर्वेद चिकित्सा परिषद्का रजिष्ट्रार डा.निर्मल भुसाल बताउनुहुन्छ। व्यवहारिक रूपम समान्य अप्रेसन गर्न मिले पनि उहाँको विज्ञता अप्रेसन गर्ने नभएको भुसालले स्पष्ट पार्नुभयो ।
चिकित्सकले आफूसँग भएको विज्ञता भन्दा फरक विषयमा काम गरेको पाइएमा कारबाही हुने व्यवस्था ऐनमा रहेको भुसालले जानकारी दिनुभयो ।
आयुर्वेद चिकित्सकले पेशा दुरुपयोग गरेको खण्डमा सजाय हुने आयुर्वेद चिकित्सा परिषद् ऐन २०४५ को दफा ९.३ मा उल्लेख गरिएको उहाँले बताउनुभयो ।
उजुरी परेमा सम्बन्धित चिकित्सकलाई स्पष्टीकरण सोध्ने, नियमविपरीत भएको पाइएमा कारबाही गरिने भुसालले बताउनुभयो । कतिपय अवस्थामा परिषद् आफैँ पनि अग्रसर भएर छानबिन गर्ने उहाँको भनाइ छ ।
आयुर्वेद क्षेत्रमा यस्ता समस्या ठूलो चुनौतीको रूपमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.प्रदीप केसी बताउनुहुन्छ ।
कुनै चिकित्सकले आचारसंहिताविपरीत अभ्यास गर्दा विभागले सोझै कुनै कारबाही गर्न नसक्ने उहाँले जानकारी दिनुभयो ।
‘संस्था दर्ता नवीकरण जस्ता पाटोमा चाहिँ हामीले काम गर्छौँ’, केसीले भन्नुभयो, ‘विभागको महानिर्देशक आयुर्वेद चिकित्सा परिषद्को पदेन सदस्य हुन्छ। परिषद्सँग समन्वय गरेर काम चाहिँ गर्न सकिन्छ ।’
यस्ता कतिपय कुरामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि अवलोकन र थप मार्गदर्शन गर्नुपर्ने राय केसीको छ।
यसबारे डा.यादवसँग हामीले पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कका लागि उहाँले इन्कार गर्नुभयो । हामी उहाँको कार्यालय नरदेवी अस्पताल र क्लिनिकमा पुगेर भेट्न खोज्दा समेत उहाँसँग भेट्न सकिएन ।
सन्तोष निरा राई
तपाईँको अभिमत