रुस-युक्रेन युद्धमा घाइते युवक इन्जिनियर, गोली लागेपछि कसरी आइपुगे नेपाल ?
रुस र युक्रेनको युद्ध क्षेत्रमा खटिएका नेपाली युवा घाइते भएपछि नेपाल फर्किएका छन्। दैलेख घर भएका २४ वर्षीय ती युवक अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
घाइते युवक सिभिल इन्जिनियर रहेको खुलेको छ । शिक्षण अस्पतालमा भेटिएका उनको परिवारका एक सदस्यले दिएको जानकारीअनुसार उनी केही महिना काम गरी पैसा जम्मा गरेर सिभिल इन्जिनियरङमा मास्टर डिग्री गर्ने भनेर रुस गएका थिए।
उनी रुसी सेनाका लागि गएको भन्ने जानकारी श्रीमतीलाई समेत दिएका थिएनन् । उनको परिवारमा एकजना दाजुलाई मात्रै यसबारे थाहा थियो।
युवक दलालमार्फत गत मंसिर ४ गते नेपालबाट गएका थिए ।
रुसमा पुगेपछि त्यहाँ निजी कम्पनीमार्फत उनी युद्ध क्षेत्रमा खटिएका हुन् । रुसी सेनाले त्यसरी बाहिरबाट गएका व्यक्तिलाई सेनामा भर्ना लिँदैन ।
सरुमा डेढ महिना जति उनलाई युद्ध नभएको क्षेत्रमा खटाइएको थियो । त्यसपछि युद्धमा भएको ठाउँमा ड्युटी लगाइयो । परिवारका एक सदस्यले दिएको जानकारी अनुसार युद्ध क्षेत्रमा खटाइएपछि उनी भाग्न पनि खोजेका थिए । तर भाग्न खोज्दा रुसी सेनाले समाएर फेरि ड्युटीमा पठायो ।
माघ १ गते उनलाई गोली लागेको थियो । देब्रे हातमा ४ वटा र दाहिने खुट्टामा २ गोली लागेको थियो । त्यसको भोलिपल्टै रुसकै अस्पतालमा उनको गोली निकालियो।
युवक अस्पतालमा उपचाररत थिए । त्यसपछि रुसी सेनाको सम्पर्कमै नगइकन रुसस्थित नेपाली दूतावाससँग गुहार मागेर उनी नेपाल आएका हुन् । उनलाई नेपाल आउने जहाजको टिकट नेपालमा रहेकी उनकी श्रीमतीले काटेकी थिइन् ।
दुबई ट्रान्जिट हुँदै नेपाल फर्किएका ती युवक १५ घण्टा दुबईमा बस्नुपरेको थियो । आज बिहान ९ बजे उनी नेपाल आइपुगेका थिए ।
लामो समय जाहाजमा यात्रा गर्नुपर्दा र ट्रान्जिटमा बस्नुपर्दा खाइरहेको औषधि खान नपाउँदा स्वास्थ्यमा समस्या भएपछि उनलाई शिक्षण अस्पताल लगिएको थियो । अहिले प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ । उपचारमा संलग्न एक चिकित्सकले हेल्थपाटीलाई दिएको जानकारी अनुसार युुवकको स्वास्थ्य अवस्था समान्य छ । गोली लागेका घाउमा खाटा बसिसकेको छ।
रुस र युक्रेन युद्धमा घाइते भएका युवक शिक्षण अस्पतालमा रहेको जानकारी पाएपछि त्यहाँ सञ्चारकर्मीको बाक्लो उपस्थिति देखिन्छ तर युवकले कुनै मिडियासँग नबोल्ने बताइरहेका छन् ।
युवकलाई युद्धमा कुनै बन्दुक चलाउने वा युद्धमा प्रत्यक्ष सहभागी हुने खालको ड्युटी नलगाइएको बुझिएको छ । कस्तो खालको ड्युटी लगाइएको थियो भन्ने कुरा भने थाहा नभएको उनको परिवारका सदस्यले बताए ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत