पाटन अस्पताल डाक्टरमाथि मुक्का, प्रहरीकै अगाडि खुँडा हान्ने धम्की
पाटन अस्तपालमा दुई डाक्टरमाथि कुटपिट भएपछि चिकित्सकहरू आन्दोलित भएका छन्। अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ड्युटीमा रहेका दुई डाक्टरलाई आक्रमण गरेका हुन्।
घटना भएका बेला त्यहाँ रहनुभएका एक डाक्टरले हेल्थपाटीलाई दिएको जानकारी अनुसार शनिबार साँझ ७ बजेतिर घटना भएको हो।
मकवानपुर स्थायी घर भई ललितपुर बस्दै आउनुभएका ६८ वर्षीय पुरुषको शनिबार साँझ ६ बजेतिर मृत्यु भएको थियो। डाक्टरले गलत औषधि प्रयोग गरेका कारण मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन्।
आक्रोशित भएका बिरामीका दुई आफन्तले इन्टरनल मेडिसिनका आवासीय डाक्टर र एक फेलोसिप डाक्टरको टाउकोमा मुक्मा प्रहार गरेका थिए।
आक्रमणमा पर्ने डाक्टरहरुलाई सुरक्षाका लागि एउटा कोठामा लगेर राख्दा समेत त्यहीँ गएर घेरा हाल्दै अभद्र व्यवहार गरेको पाटन अस्पतालका एक डाक्टर बताउनुहुन्छ।
‘प्रहरी आएपछि प्रहरीकै अगाडि भोलि आएर यिनीहरुलाई खुँडा हान्दिछु भने’, ती डाक्टर सुनाउनुहुन्छ, ‘यस्तो अवस्थामा कसरी काम गर्ने ?’
ती डाक्टरका अनुसार मृतक वृद्धलाई पहिलेदेखि दमको समस्या थियो। अहिले निमोनिया भएर आएका थिए। उनको कलेजोमा समस्या र मुटुको रोग समेत थियो। उनलाई करिब एक साताअघि अस्पतालमा भर्ना गरिएको थियो।
बिरामीले सधैँ खाइरहेको औषधि दिएर उपचार गर्दा पनि गलत औषधि दिएर मारेको आरोप लगाएको ती डाक्टरको भनाइ छ।
आक्रमण गर्ने व्यक्तिको नाम आफूलाई थाहा नभएको तर मृतक बिरामीका ज्वाइँ र छोरा रहेको भन्ने मात्रै सुनेको ती डाक्टर बताउनुहुन्छ।
पाटन अस्पताल व्यवस्थापनले मृतकका आफन्तसँग छलफल गरी गलत औषधि दिएको शंका शवको मेडिकल परीक्षण गर्न सुझाव दिएका छन्। आइतबार साँझसम्म आफन्तले शव उठाएका छैनन्।
शनिबार साँझ ओखलढुंगाकी ८२ वर्षीया एक वृद्धाको समेत उपचारका क्रममा सोही वार्डमा मृत्यु भएको थियो। डाक्टरमाथि आक्रमण गर्ने पक्षको उक्साहटमा लागेर उनीहरुले आफ्नो बिरामीलाई पनि गलत उपचार गरेको आरोप लगाएको ती डाक्टर बताउनुहुन्छ।
उहाँका अनुसार उनीहरू भने कन्भिन्स भएर शव निकाल्ने तयारीमा जुटेका छन्।
डाक्टरमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै अस्पतालमा कार्यरत आवासीय चिकित्सक, इन्टर्न र फेलोसिप डाक्टर आन्दोलित भएका छन्।
दोषी पक्राउ नपरेसम्म आकस्मिकबाहेकका सबै सेवा बन्द गरिने एक आवासीय डाक्टरले हेल्थपाटीसमक्ष बताउनुभयो।
आइतबार टिकट काटिसकेको भएर केहीबेर ओपीडी चले पनि सोमबारबाट बन्द गरिने चेतावनी डाक्टरहरुको छ।
हेल्थपाटी
तपाईँको अभिमत