हाम्रै वरिपरि रहेका अपहेलित खाना 'सुपर फुड'
नेपाली समुदायमा स्वास्थ्यबारे अहिले बढी चासो हुन थालेको छ। शरीरको रोगसँग लड्ने शक्ति बढाउन 'स्वस्थकर खाना' को महत्वबारे धेरैले बुझ्दैछन्, विशेषगरी कोरोनापछि चिकित्सक, स्वास्थ्यकर्मीले 'हामीले ‘सुपर फुड’ खानुपर्छ भनेपछि सुपर फुड त कतिको मुखमै झुन्डिएको छ। तर ‘सुपर फुड’ के हो त भन्दा कतिलाई जानकारी नै हुन्न। महँगो राम्रोसँग प्याकेटमा राखिएको विदेशी कम्पनीको भोजन सुपर फुड हो भन्ने विचार हामी मध्ये धेरैमा हुन्छ।
अहिले विभिन्न विज्ञापनमा 'सुपर फुड' भनेर अनेकथरिका खानेकुराको फोटो आउँछ। हामीमध्ये कति त होला नि त्यो सुपर फुड (अर्थात अत्युत्तम भोजन) भनेर किनिहाल्छौँ महँगोमा। प्रयोग गर्दा दंग पर्छौँ–'आहा सुपर फुड खाइयो'। तर वास्तविकता यो हो र?
हाम्रो भान्छामा पाइने लोकप्रिय सस्तो भोजन पनि ‘सुपर फुड’ हुन्छ भनेर हामीले थाहा पाउनुपर्छ‘सुपर फुड’मा शरीरलाई आवश्यक पर्ने पोषण तत्व हुन्छ। यसले शरीरलाई रोगसँग लड्ने शक्ति प्रदान गर्छं, रोग लागिहाले पनि छिटै तंग्रिन मद्दत गर्छ।
यही कारण विशेषगरी कोरोनाको बेला ‘सुपर फुड’ को ठूलो प्रचार भयो, यसको ठूलो व्यापार पनि भयो।तर कति ‘सुपर फुड’ त हामीले दिनदिनै प्रयोग गर्ने भोजन हो तर त्यसको महत्वबारे हामीलाई थाहा नभएकाले र भान्छाको ‘सुपर फुड’ भनेर चिनिएको छैन।हाम्रा वरिपरिका कतिपय भोजन ‘सुपर फुड’हुन्छन् जसबारे विचार नै गरिन्न।
'गुलियो आलु'अर्थात सखरखण्ड नेपाली समुदायमा प्रायः व्रतको बेला खाइन्छ। भिटामिन ‘ए’ र ‘सूक्ष्म पोषक तत्व’ले भरिपूर्ण हुन्छ। तर यसलाई उसिन्दा केहीबेर मात्र उसिन्नुपर्छ नत्र यसमा रहेको १२ प्रतिशत पौष्टिक तत्व नष्ट हुन्छन्। शिशुलाई बाहिरका अनेक रंगीचंगी बट्टाको महँगो भोजनको सट्टा सखरखण्डजस्तो वस्तु ख्वाउँदा पनि उत्तम हुन्छ। यसमा क्याल्सियम, भिटामिन बी १२ र लौह तत्व भएको शिशुको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ। तरकारी, दाल, चना, चिउरामा हालेर खान सकिने सखरखण्ड नबुझेकाले हामी प्रयोग धेरै गर्दैनौँ।
भान्छाको अर्को सुपर फुड फर्सी अति अपहेलित छ। उखानै छ ‘छोरा पाए खसी, छोरी पाए फर्सी’ अर्थात छोरी जन्मिँदा सुत्केरीलाई अवहेलना गरेर सस्तो फर्सी पाउँदा दिने भन्ने भनाइ हो यो। तर ‘फर्सी’ मा भएको गुण थाहा पाए भने थाहा हुन्छ कि छोरी पाए फर्सी दिएको ठीक हो।
फर्सी सहजसँग पाइने हुनाले हामीले यसको महत्व नबुझेको होला। तर अस्ट्रेलियामा फर्सीको सुपचाहिँ'उत्तम' भनेर खाइन्छ। यसमा भिटामिन ‘ए’ धेरै रहन्छ। फर्सी÷बोडीमा हालेरखान सकिन्छ। उसिनेर मासुमा मिसाएर खाने चलन पनि छ। विभिन्न तरिकाले अन्य भोजनमा मिश्रण गरेर खाँदा यसको पौष्टिक तत्व अझ बढ्न जान्छ।
शिशुलाई फर्सीको खीर बनाएर ख्वाउने चलन पनि छ। तर किन फर्सी अपहेलित? किनभने गाउँघरमा सहजै पाइन्छ। यसको महत्व थाहा भएको भए गाउँको छाना छतमा राखेको फर्सीलाई हामीले ‘आहा’ भन्ने गर्थ्यौँ कि? हरियो फर्सीको मुन्टा सबै स्वादिष्ट र स्वस्थकर हुन्छन्।
फर्सीको विया त झन स्वस्थकर हुन्छ। यति कुरा जानेपछि त फर्सीबारे नयाँ उखान बनाउनु पर्ला कि 'सुत्केरीलाई फर्सीको सुप।' गाजर, डल्ले खुर्सानी, हरियो खुर्सानी, लसुन, प्याज जस्ता वस्तु पनि ‘सुपर फुड’ नै हुन्। यिनीहरू धेरै औषधीय गुणले भरिपूर्ण हुन्छन्।
हाम्रो वरिपरि पाइने विभिन्न प्रकारका स्थानीय र मौसमी फलफूल सबै नै ‘सुपर फुड’ हुन। अम्बा, भोगटे, हलुवावेद, बयर, सुन्तला, आँप, अनार आदि। तर अनार र आँप महँगो भएकाले सुपर फुड अनि अम्बा र हलुवावेद भने खास महत्व नभएकोठान्ने हाम्रो विचारलाई विभिन्न वैज्ञानिक अनुसन्धानहरूले गलत सावित गरेका छन्। यी सबै फलफूल अनेक सूक्ष्म पोषक तत्वले भरिपूर्ण हुन्छन्।
रोगसँग लड्ने शक्ति दिन्छ। यिनमा रेशादार तत्व पनि पर्याप्त हुन्छ। त्यसैगरी पैयुँ, बयर, काफल, आदि पनि सुपर फुड हुन्।
वयरलाई सुकाएर बोक्रा र बियाँसमेत नै मीठो अचार बनाउने चलन थारूहरूको पहिलेदेखि छ। यो अचार भात, रोटी, चिउरासँग खाँदा स्वस्थ र स्वाद दुवै पाइन्छ। तर बयरले जस्तो सस्तो कुरा र त्यसबाट बनेको अचार ‘सुपर फुड’ हो भन्ने विश्वास गर्न हामीलाई गाह्रो हुन्छ। किनभने हामी सबैजनालाई ‘सुपर फुड’ भनेपछि महँगो हुन्छ भन्नेमा विश्वास छ।
पोषण विज्ञहरूको भनाइअनुसार महँगा बाहिरबाट ल्याएका खाना होइनन् बरु परम्परादेखि चलिअएका हाम्रो जिब्रोमा स्वाद दिने शरीरलाई स्वस्थ बनाउने र जरुरत परेको बेलामा औषधिको काम गर्ने भोजन नै ‘सुपर फुड’ हुन्।
तपाईँको अभिमत