‘कोरोनाको पहिलो खोप नै मास्क हो’
काठमाडौं । कोरोना महामारी सुरु भएको एक वर्ष भयो । यसबीचमा विश्वभर ६ करोड ७० लाख मानिसलाई कोरोना पुष्टि भइसकेको छ भने १५ लाख ४० हजार संक्रमितको मृत्यु भएको छ ।
नेपालमा पनि संक्रमितको संख्या २ लाख ४० हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ जसमध्ये २ लाख २५ हजार ८०५ जना निको भएका छन् । १ हजार ५९४ संक्रमितको मृत्यु भएको छ ।
कोरोनाको लडाइँलाई जित्न विश्वमा कोरोना विरुद्धको खोप निर्माण भइरहेका छन् । गाभीका अनुसार १७० भन्दा बढी खोपहरु क्लिनिकल परीक्षणमा छन् । फरक – फरक किसिमिका खोपहरु भए पनि सबैको लक्ष्य एउटै छ, कोरोना संक्रमणलाई रोक्नु ।
अहिले ४४ वटा खोपहरु अन्तिम चरणको क्लिनिकल परीक्षणमा छन् । जसमा भाइरससँग सम्बन्धित ७, प्रोटिनसँग सम्बन्धित १४, न्यूक्लिक १० र भाइरल भेक्टरका १३ वटा खोप अन्तिम चरणको ट्रायलमा छन् ।
केही खोपको प्रारम्भिक नतिजा पनि आइसकेको छ । नेपालले पनि खोप ल्याउनका लागि तयारी सुरु गरिसकेको छ । खोपको चर्चा भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम कोरोनाको पहिलो खोप नै मास्क हो भन्नुहुन्छ ।
‘मैले यो कुरा बारम्बार भन्दै आएको छु । म अहिले पनि भन्छु, अहिलेसम्म जति पनि मानिस संक्रमणबाट जोगिएका छन्, उनीहरुले मास्क लगाएर नै हो ।’ गौतम भन्नुहुन्छ, ‘यदि मास्कको सही प्रयोग नहुँदो त अहिलेको भन्दा धेरै मानिस संक्रमित भइसकेका हुन्थे ।’ प्रवक्ता गौतम कोभिड खोप आएपछि पनि मास्क र सामाजिक दूरीलाई बिर्सन नहुनेमा जोड दिनुहुन्छ ।
‘कोभिड खोपको प्रभावकारीता सबै देशमा सबै मानिसलाई उस्तै हुन्छ भन्ने होइन । गौतमले उदाहरण दिँदै भन्नुभयो, ‘जस्तै बेलायतमा ९० प्रतिशतलाई कोरोनाको खोप प्रभावकारी देखियो भन्दैमा उत्तिनै प्रभावकारिता नेपालमा पनि देखिने होइन । ठाउँ अनुसार, जीन अनुसार, मानिसको शरीरको बनावटका आधारमा खोपको प्रभावकारिता देखिन्छ ।’
प्रवक्ता गौतमले खोप ल्याउने तयारीमा आफूहरु जुटिसकेको बताउनुभयो । उहाँले सस्तो, धेरै प्रभावकारी, सर्वसाधारणलाई चाहिने जति डोजमा दिन सक्ने, खोप उत्पादन भएको देशको नियमनकारी संस्थाबाट स्वीकृति पाएको र नेपालको पूर्वाधारमा भण्डारण गर्न मिल्ने खोप नै पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।
नेपालमा अहिले माइनस २० डिग्री र २ देखि ८ डिग्री सेल्सियस तापक्रममा खोप भण्डारण गर्न सक्ने क्षमता रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत