'स्वास्थ्य मन्त्रालयले नीति बनाउँदा फर्मासिस्टलाई सहभागी गराउँदैन' (भिडियो)
औषधिको उत्पादनदेखि बिरामीले औषधि प्रयोग गरेपछि देखिने दुष्प्रभावसम्मको समयाधिमा कुनै न कुनै प्रकारले फर्मासिस्टको भूमिका रहन्छ । या भनौँ औषधिको जीवनचक्रमा फर्मासिस्टहरूको उपस्थिति सधैं रहिरहन्छ । फर्मासिस्टसँग औषधिको प्रयोग, औषधिको सम्भावित साइड इफेक्ट तथा औषधिहरूको विस्तृत जानकारी रहन्छ ।
गलत प्रयोगले हुने औषधिको असरलाई न्यूनिकरण गर्न, औषधिबाट हुने अवाञ्छित असरबारे बिरामीलाई जानकारी गराउन फर्मासिस्टहरूको भूमिका रहन्छ । तर फर्मासिस्टको उपस्थिती कम छ ।
औषधि ऐन २०३५ को दफा १७ मा औषधि चिकित्सकको प्रेस्क्रिप्सनविना बिक्रीवितरण गर्न नपाइने उल्लेख छ । उफदफा १ मा ‘चिकित्सकको पेस्क्रिप्सनबमोजिम औषधि बिक्रीवितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायीबाहेक अरूले यस्तो औषधि बिक्रीवितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी अनिवार्य उपस्थित हुनुपर्ने भनिएको छ ।’
नेपाल फर्मास्यूटिकल एसोसियसनका महासचिव सञ्जिव कट्टेलले फर्मासिस्टहरूको समस्यालाई राज्यले बेवास्ता गरिरहेको बताउनुभएको छ ।
उहाँले फर्मासिस्टहरूको सेवा, सुविधा स्तरवृद्धिका लागि दुर्गममा बस्नुपर्ने स्वास्थ्य नियमावलीको प्रावधान अव्यवहारिक रहेको र त्यसले आफूहरू अन्यायमा परेको बताउनुभयो । हेल्थपाटीसँगको कुराकानीमा महासचिव कट्टेलले स्तरवृद्धिका लागि दुर्गममा जानुपर्ने प्रावधान रहेको तर दुर्गममा जाने ठाउँ नरहेको बताउनुभयो ।
‘दुर्गम एउटामात्रै ठाउँ छ जबकी स्तरवृद्धि हुने लाइनमा ३० जना फर्मासिस्ट हुनुहुन्छ', उहाँले भन्नुभयो, '२ वर्षको समयले हिसाब गर्दा सबैको स्तरवृद्धि हुन ६० वर्ष लाग्छ, जुन अव्यवहारिक छ । यो समस्या नर्सिङ, रेडियोलोजी क्षेत्रमा पनि छ ।’ उहाँले स्वास्थ्यको नीति नियम बनाउँदा फर्मासिस्टहरूलाई सहभागी नगराउने गरेको गुनासो गर्नुभयो ।
११५ जना जनशक्तिले देशभरको औषधि क्षेत्र धानेको उहाँले बताउनुभयो । त्यसमध्ये ३५ जना फार्मेसी निरीक्षक (जसले फार्मेसी नियमन गर्छन्) रहेको उहाँले जानकारी दिनुभयो । करिब ३२ हजार फार्मेसी सञ्चालनमा रहेपनि १० हजार फार्मेसी मात्रै फर्मासिस्टले चलाएको दाबी उहाँको छ ।
४० वर्ष अगाडिकै दरबन्दी (करिब ११५ जना)को जनशक्तिले औषधि क्षेत्र धानेको छ । फार्मेसीबाट प्रवाह हुने सेवा गुुणस्तरीय हुन फार्मेसीमा फर्मासिस्ट हुनुपर्ने उहाँको जिकीर छ ।
च्याऊ उम्रे सरह फार्मेसी रहेको र अधिकांश फार्मेसीको सञ्चालक गैरफर्मासिस्ट रहेको उहाँले बताउनुभयो । विशिष्ठकृत अस्पतालबाहिर ६० / ७० वटा फार्मेसी हुन्छन् ती फार्मेसीका सञ्चालक एम्बुलेन्स चालक या गैर फर्मासिस्टहरू रहने गरेको पाइएको उहाँले बताउनुभयो ।
फार्मेसीहरूको गुणस्ततर कायम राख्न प्रत्येक अस्पतालले आफ्नै फार्मेसी चलाउनुपर्ने व्यवस्थालाई कडाइ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । औषधि व्यवस्था विभागले फार्मेसी दर्तामै कडाइ गरेर नियमन गर्नुपर्ने उहाँको सुझाव छ ।
‘औषधि बिक्री वितरणमा फर्मासिस्ट हुनुपर्छ । फर्मासिस्टहरूको सर्टिफिकेट लिएर धनी व्यवसायीहरूले फार्मेसी चलाइरहेका छन्, उहाँले भन्नुभयो’ । उनीहरूले व्यवसायीहरूले फर्मासिस्टकाे लाइसेन्स भाडामा लिएर फार्मेसी सञ्चालन गरी विकृति फैलाइरहेकोले फार्मेसी सञ्चालक पनि फर्मासिस्ट नै हुनुपर्ने आवाज उठाइरहेको उहाँले बताउनुभयो ।
भोलि सेप्टेम्बर २५ अर्थात् विश्व फार्मेसी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । फार्मेसी दिवसको पूर्वसन्ध्यामा हेल्थपाटीका लागि जगन्नाथ ढकालले नेपाल फर्मास्यूटिकल एसोसियसनका महासचिव सञ्जिव कट्टेलसँग फर्मासिस्टको महत्त्व, उनीहरूको समस्या, फार्मेसी क्षेत्रमा देखिएका विकृति एवं फार्मेसी क्षेत्रमा राज्यले गर्नैपर्ने काम लगायतका विषयमा कुरा गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत