अंग प्रत्यारोपण समन्वय समिति नेतृत्वविहीन, प्रत्यारोपणको अनुमति रोकियो

फाइल फोटो।
अंग प्रत्यारोपण समन्वय समिति विगत ७ महिनादेखि नेतृत्वविहीन रहेको छ । समितिको कार्यकाल गत कार्तिक २३ गते सकिएको थियो।
मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ ले अंग प्रत्यारोपण सम्बन्धमा नीति, योजना तथा कार्यक्रम तयारी गरी सरकारलाई पेश गर्न समन्वय समितिको गठन गर्नुपर्ने व्यवस्था गरेको छ ।
समितिको अध्यक्ष र ३ जना सदस्य नेपाल सरकारले मनोनित गर्ने व्यवस्था रहेको छ तर विगत ७ महिनादेखि समितिको अध्यक्ष र ३ जना सदस्य तोक्न सकिएको छैन ।
अध्यक्षमा एक जना बरिष्ठ चिकित्सक र सदस्यमा ३ जना चिकित्सक मनाेनयन गर्ने व्यवस्था रहेको छ । समितिमा अरु ५ जना पदेन सदस्य रहनेछन् । जसमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरह मन्त्रालयको प्रतिनिधि, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएसन समितिको सदस्य रहनेछन् भने स्वास्थ्य सेवा विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था रहेको छ ।
समितकाे सचिवालय विभागमा रहेकाे छ । समितिको अध्यक्ष तथा चिकित्सक तोक्न नसक्दा प्रत्यारोपणका लागि अस्पताल तथा चिकित्सकलाई अनुमति दिने काम रोकिएको छ ।
यसअघि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जकी डीन डा. दिव्यासिंह समितिकाे अध्यक्ष रहनुभएको थियो । साथै सदस्यहरुमा मिर्गाैला रोग विशेषज्ञ डा.प्रेमराज ज्ञवाली, सर्जन प्रा.डा.पलेस्वाँ जोशी लाखे र शंकरमान राई रहनुभएकाे थियाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीसमा मन्त्रिपरिषद्ले अध्यक्ष र ३ सदस्य मनोनयन गर्नुपर्ने हुन्छ । लामो समयसम्म स्वास्थ्य मन्त्रालयमा मन्त्री नियुक्ति हुन नसक्नुले पनि समिति गठनमा समस्या भएको हो ।
मन्त्री नियुत्ती भइसकेकाले अब छिट्टै समितिले पूर्णता पाउने विश्वास छ । समितिका अनुसार कलेजो तथा मिर्गाैला प्रत्यारोपणको लागि हालसम्म सरकारी तथा निजी गरि १३ वटा अस्पतालले अनुमतिपत्र पाएका छन् । उपत्यका बाहिर ४ वटा अस्पतालले प्रत्यारोपणको अनुमति पाएका छन् ।
कलेजो र मिर्गाैला प्रत्यारोपणको अनुमतिपत्र पाउनेमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, शिक्षण अस्पताल महाराजगञ्ज, किष्ट मेडिकल कलेज, ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, सुमेरु अस्पताल, चितवन मेडिकल कलेज रहेका छन् ।
यस्तै मिर्गाैला प्रत्यारोपणको अनुमति पत्र लिनेमा वीर अस्पताल, प्रदेश अस्पताल सुर्खेत, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल मेडिकल कलेज, नेपाल मेडिसिटी हस्पिटल, काठमाडौं मेडिकल कलेज, नर्भिक अन्तराष्ट्रिय अस्पताल रहेका छन् ।
यस्तै हालसम्म ६४ जना चिकित्सकले मिर्गाैला प्रत्यारोपणको अनुमति लिएका छन् । जसमा २१ जना सर्जन र ४३ जना नेफ्रोलोजी डाक्टर रहेका छन् । यसैगरी समितिबाट १९ जना चिकित्सकले कलेजो प्रत्यारोपणको अनुमति लिएका छन् । हालसम्म एकजना (डा.पुकारचन्द्र श्रेष्ठ)ले मात्रै कलेजो र मिर्गाैला दुवै अंग प्रत्यारोपणको अनुमति पाउनुभएको छ ।
मुटु प्रत्यारोपणको अनुमति २ जना सर्जनले पाउनुभएको छ । यद्यपी नेपालमा हालसम्म मुटु प्रत्यारोपण सेवा सुरु भइसकेको छैन ।
हेल्थपाटी
तपाईँको अभिमत