सक्रिय जीवनशैलीले हरेक वर्ष ५० लाख मानिसले मृत्यु जित्न सक्छन् : विश्व स्वास्थ्य संगठन

जेनेभा । सक्रिय जीवनशैली अपनाउँदा हरेक वर्ष ५० लाख मानिसको ज्यान जोगिने विश्व स्वास्थ्य संठन (डब्ल्यूएचओ) ले बताएको छ ।
कोभिड–१९ को समय घरमै रहनुपर्ने बाध्यताकाबीच बुधबार डब्ल्यूएचओले सार्वजनिक गरेको स्वास्थ्य निर्देशनअनुसार मानिसको हरेक शारीरिक चाल स्वास्थ्यका लागि फाइदाजनक हुने बताएको हो । सबै उमेर समूहका लागि शारीरिक सक्रियता फाइदाजनक रहेको संगठनले बताएको छ ।
नयाँ दिशानिर्देश अनुसार वयस्क मानिसले हरेक हप्ता कम्तिमा १५० देखि ३०० मिनेट शारीरिक व्यायाम गर्न अनिवार्य रहेको छ । त्यस्तै बालबालिका र किशोरावस्थाका व्यक्तिले हरेक दिन एक घण्टा व्यायाम गर्नु उपयुक्त हुने डब्ल्यूएचओले बताएको छ ।
डब्ल्यूएचओको तथ्यांकअनुसार चार वयस्कमध्ये एक जना र पाँच जना किशोर उमेरका व्यक्तिमध्ये चार जनाले पर्याप्त शारीरिक व्यायाम गरेका छैनन् । त्यस्तै नयाँ निर्देशनले विशेषगरी गर्भवती महिला र सुत्केरी महिलालाई शारीरिक व्यायामका लागि प्रोत्साहन गरेको छ ।
त्यस्ता महिलाहरूको शारीरिक अभ्यास कम हुने भएकाले उनीहरूले त्यसमा विशेष ध्यान दिनुपर्ने बताइएको हो । नियमित शारीरिक व्यायामले मुटुरोग, दोस्रो किसिमको मधुमेह र क्यान्सर लगायतका रोगमा विशेष फाइदा गर्ने बताइएको छ । त्यस्तै शारीरिक व्यायामले डिप्रेसन भएका बिरामीमा डर हट्दै जाने तथा स्मरणशक्ति बढाउने समेत बताइएकाे छ ।
तपाईँको अभिमत