संक्रमण पश्चात कोभिड–१९ विरुद्धको प्रतिरक्षा प्रणालीले महिनौँसम्म काम गर्छ

अमेरिकामा गरिएको एक अध्ययनअनुसार कोभिड–१९ संक्रमणपछि निको भएका संक्रमितमा भाइरससँग लड्ने प्रतिरक्षात्मक प्रणालीले महिनौँसम्म काम गर्ने देखिएको छ । १८८ जनामा गरिएको अध्ययनले यस्तो देखाएको हो ।
अमेरिकाको ला जोल्ला इन्स्टिच्युट अफ इम्यूनोलोजीका प्राध्यापक डा. एलिसान्ड्रो सेटे को नेतृत्वमा गरिएको अध्ययनमा १८८ जना संक्रमितको रगतको नमुना लिएर एन्टिबडी, मेमोरी बी सेल, हेल्पर टी सेल र किलर टी सेलको अवस्था मापन गरिएको थियो ।
साइन्स जर्नलमा प्रकाशित उक्त अध्ययनअनुसार सुरुवाती लक्षण देखिएर कोरोना संक्रमण भई निको भएका व्यक्तिहरुमा कम्तिमा आठ महिनासम्म कोरोना भाइरस (SARS-CoV-2) का विरुद्ध प्रतिरक्षा प्रणालीले काम गर्ने निष्कर्ष आएको छ ।
अनुसन्धानकर्ताले हालसम्म प्रतिरक्षा प्रणालीको सम्पूर्ण अवयवहरूसहित कोभिड–१९ को तीव्र संक्रमणको चरणमा गरिएको यस अध्ययनलाई निकै ठुलो र महत्वपूर्ण भनेर दाबी गरेका छन् । अध्ययनअनुसार संक्रमण देखिएको सुरुवाती महिनासम्म हाम्रो शरीरमा कोरोनाविरुद्ध एन्टिबडीको मात्रा न्यून र घट्दो क्रममा रहन्छ ।
संक्रमणको एक महिना पश्चात रक्तसञ्चारमा कोरोनाविरुद्ध एन्टिबडीको विकास हुन्छ साथै सोही समयमा शरीरमा ‘मेमोरी बी सेल’ सक्रिय हुन्छ । कोरोना भाइरस अर्को पटक पुनः शरीरमा प्रवेश गर्न खोजेमा उक्त मेमोरी बी सेल पुनः जागृत भई भाइरसविरुद्ध लड्न एन्टिबडीको निर्माणमा सक्रिय रहन्छ । कोरोना भाइरसविरुद्ध निर्माण भएको मेमोरी बी सेलको मात्रा मानव रक्तसञ्चारमा संक्रमण भएको छ महिना पश्चात् बढ्ने अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताले भने कोरोना भाइरसविरुद्ध पैदा हुने प्राकृतिक प्रतिरक्षा प्रणालीको अवस्था व्यक्ति विशेष अनुसार निकै फरक फरक हुन सक्ने भन्दै आमसमुदायलाई सचेत गराएका छन् ।
यसैगरी भर्खरै गरिएको अर्को अध्ययनअनुसार एकपटक कोरोनाको संक्रमण भइसकेका व्यक्तिहरुमा पुनः संक्रमण हुने सम्भावना ८३।५ प्रतिशतले घटेको पाइएको छ । साथै कम्तिमा पाँच महिनासम्म प्रतिरक्षा प्रणालीले कोरोनाभाइरस विरुद्ध काम गर्ने अध्ययनले बताएको छ ।
भविष्यमा प्राकृतिक तवरले प्राप्त हुने प्रतिरक्षा प्रणाली र कोभिड–१९ विरुद्धको खोपबाट आर्जित कृत्रिम प्रतिरक्षा प्रणालीले कति समयसम्म काम गर्न सक्दछ भनेर तुलानात्मक अध्ययन गरिनुपर्ने वैज्ञानिकहरुले औँल्याएका छन् ।
(लेखक नेपाल जनस्वास्थ्य संघका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ कोभिड–१९ लगायत जनस्वास्थ्य विषयमा राष्ट्रिय तथा अन्तर्रास्ट्रिय स्तरका अनुसन्धानमा सक्रिय रहँदै आउनुभएको छ ।)
तपाईँको अभिमत