बाल अस्पताल निर्माणका लागि डा.कोइरालाको पुस्तक आउँदै, मुल्य २५ हजार

मुटु शल्यचिकित्सक डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताल निर्माण अभियानका लागि उहाँको पुस्तक ‘हृदय’ प्रकाशन हुन लागेको छ ।
पुस्तकमा डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उहाँले देख्नुभएको स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई विश्लेषणात्मक धारणा समेटिएको छ ।
‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) का रूपमा निर्माणाधीन विशिष्टीकृत अस्पताल निर्माणको अभियानमा सहयोग गर्ने उद्धेश्यले फाइनप्रिन्टले डा. कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउन लागेको जानकारी दिएको छ ।
उक्त विशेष संस्करण अन्तर्गत सुरुमा २५ सय प्रति पुस्तक प्रकाशन गरिने र उक्त पुस्तकको मुल्य २५ हजार पर्ने फाइनप्रिन्टले काठमाडौंम पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
विशेष संस्करण प्रकाशित भएको एक (असोजको पहिलो साता) हप्तापछि पुस्तकको नियमित संस्करण पनि निकालिने र उक्त पुस्तक ५ सय ७५ रुपैयाँमा पाठकमाझ पुरयाइने फाइनप्रिन्टले बताएको छ । विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रम सङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्नुहुनेछ । उक्त किताब, गोल्डेन अक्षरमा लेखिएको छ ।
विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रकम प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्व केही नकटाई सीधै अस्पताललाई हस्तान्तरण गरिनेछ । नियमित संस्करणको ५० प्रतिशत लेखकस्व किओचलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गर्नुभएको छ । त्यसपछि उक्त किताबलाई केही परिमार्जित गरेर विद्यालयका विद्यार्थीमाझ पुर्याउने लक्ष्य रहेको जानकारी दिइएको छ ।
हाल काठमाडौं र झापाको दमकमा बाल अस्पताल निर्माण अन्तिम चरणमा पुगेको र यी २ स्थानमा अस्पताल बनिसकेपछि आवश्यकताका आधारमा सातै प्रदेशमा अस्पताल विस्तार गर्ने लक्ष्य राखिएको डा. कोइरालाले जानकारी दिनुभयो ।
आफुले ३ दशकदेखि मुटुको उपचारमा खटिरहँदा नेपालमा धेरै बालबालिकाले आधारभूत स्वास्थ्य सेवासमेत नपाई मृत्युवरण गर्न परिरहेको अवस्थालाई मध्यनजर गरि आफुले बिशिष्ठकृत बाल अस्पताल निर्माणको योजना बनाएको उहाँले बताउनुभयो ।
नेपालमा जन्मिने प्रत्येक १०० जना बालबालिकामध्ये ३ जना बालबालिकाको मृत्यु पाँचौ दिनभित्रै भइरहेको दुःखद तथ्याङ्कले आफुलाई रुवाइरहेको दुखेसो उहाँले गर्नुभयो ।
तपाईँको अभिमत