‘मुटुको अप्रेसनपछि बालबालिकालाई दीर्घकालसम्म सामान्य जीवनयापनमा फर्काउन सकिन्छ’ (भिडियो)
प्युठानको गौमुखी गाउँपालिका–३ की १२ वर्षीय आशिका सेन दौतरी जसरी ढिनन् । उनलाई सानै उमेरदेखि छिटो स्याँस्याँ हुने तथा मुटु छिटोछिटो धड्किने हुन्थ्यो । परिवारमा आमा दिदी बसन्तीलगायतलाई पनि थाहा थियो । तर ‘यस्तै होला’ भनेर परीक्षण गर्न अस्पताल लगिएन ।
दुई/चार महिनाअघि चाहिँ सास फेर्न गाह्रो भयो । प्युठानकै अस्पतालमा जाँच गरियो । त्यहाँ मुटुमा प्वाल छ भन्ने कुरा थहा भयो । त्यसपछि त्यहाँको अस्पतालले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पठायो । केन्द्रमा आएर उनको पुनः मुटुको परीक्षण गरियो । मुटुमा प्वाल मात्र नभएर भल्भहरू पनि असामान्य रहेको थाहा भयो । त्यसपछि मुटुको अप्रेसन गरियो । अहिले उनको अवस्था सामान्य छ । हिँड्डुल गर्न सक्ने, खाना खानेलगायत सामान्य क्रियाकलाप गर्न सक्ने भएकी छन् ।
‘अप्रेसन गरेपछि त मुटु भड्किन पनि छोडेको छ’, आशिकाकी दिदी बसन्तीले भन्नुभयो, ‘स्याँस्याँ हुन पनि बन्द भएको छ ।’ उहाँका अनुसार अप्रेसनपछि बन्दा गोवी नखान चिकित्सकले सल्लाह दिनुभएको छ । त्यस्तै निगुरो, पालुंगो साग, नुन (कम खाने), कलेजो मासु पनि नखान चिकित्सकले भन्नुभएको छ ।
बहिनी आशिकाको मुटुको अप्रेसन अलि ढिला भएको महसुस दिदी बसन्तीलाई पनि भएको छ । त्यसैले अरू कसैको मुटुसम्बन्धी समस्या जस्तो लागेको शंका भए चाँडै रोग पत्ता लगाएर उपचार गर्न उहाँ सुझाउनुहुन्छ । साथै कुनै पनि रोगको बेवास्ता नगर्न उहाँ भन्नुहुन्छ ।
हिँड्न नसक्ने अवस्थामा आउनुभएको थियो : डा. तिमला
आशिका केन्द्रमा पुग्दा हिँड्न नसक्ने अवस्थामा थिइन् । अलिकति हिँड्दा पनि स्याँस्याँ हुने अलि कमजोर अवस्था थियो उनको । उनी अलि ढिला आइपुगे पनि अप्रेसन सफल भएको वरिष्ठ मुटुरोग सर्जन डा. रविन्द्रभक्त तिमलाले जानकारी दिनुभयो ।
आशिकाको मुटुको प्वाल टालिएको र भल्भहरू मर्मत गरिएको डा. तिमलाले बताउनुभयो । उनको मुटुले काम नगर्ने अवस्थामै पुगेको थियो ।
अप्रेसनपश्चात् सामान्य जीवन
जन्मजात बालमुटुरोग बाहेक विभिन्न मुटुका समस्याहरू हुनसक्छन् । तिनीहरूको उपचार बेलैमा गरे बच्चालाई सामान्य जीवन प्रदान गर्न सकिने डा. तिमला बताउनुहुन्छ । ‘हामीले अप्रेसन गरेपछि बच्चालाई सामान्य जीवनयापनमै फर्काउने उद्देश्य हो’, उहाँले भन्नुभयो, ‘भल्भको उपचार गर्दा सकेसम्म भल्भ फेर्दैनौँ मर्मत नै गर्छौँ । यसले सामान्य जीवनयापनका लागि सहज हुन्छ ।’
भल्भ फेर्दा थुप्रै अरू समस्याहरू निम्तिन सक्छन् । भल्भ फेर्दा धातुजन्य पदार्थबाट बनेको हुँदा त्यसमा रगत जम्ने समस्या हुन्छ । रगत नजमोस् भनेर रगत पातलो गर्ने औषधि दिइन्छ । त्यसको ‘साइड इफेक्ट’ धेरै हुन्छ । रगत बाक्लो भयो, कतै ब्लक भयो भने स्ट्रोक हुने आदि हुनसक्छ । फेरि पातलो भयो भने पनि रक्तस्राव भएर व्यक्तिको मृत्यु पनि हुनसक्छ ।
भल्भ मर्मत गर्न अलि जटिल हुने डा. तिमला बताउनुहुन्छ । भल्भ फेर्दा धेरै सजिलो हुने उहाँको अनुभव छ । सजिलो भएपनि त्यसले अन्य समस्या निम्त्याउने भएकाले मर्मत नै गर्नु राम्रो हुने उहाँ बताउनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत