फाइल अड्काएर जनतालाई दुःख नदिन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले फाइल अड्काएर जनतालाई दुख दिने काम नगर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले जनतालाई सहज हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
४८ घण्टा भन्दा बढी फाइल नरोक्न निर्देशन दिदै मन्त्री पौडेलले भन्नुभयो, - ‘अर्थ, कानून भनेर कुनै फाइल ४८ घन्टा बढी रोकिन भएन, सरकारी कामको यो रवैया हुनु भएन ।
‘यो योजना पूरा गर्न यो काम चाहियो भनेर को आएको छ ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो - ‘हामीले नागरिकको जिम्मेवारी पूरा गर्न आएका छौं । कामका लागि आएका हौं भन्ने सोच्नुपर्छ । ’
मन्त्री पौडेलले सरकारी जिम्मेवारी भनेको नेतृत्व क्षमता देखाउने अवसर भएको भन्दै यसलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले योजना योजनामा सीमित नहुन भन्दै कर्मचारीलाई अब कार्य योजना लिएर आउन आग्रह गर्नुभयो ।
उहाँले विदेश भ्रमणलाई ५ दिनमा सीमित गर्न भन्दै भ्रमणपछि के कस्तो सिकाइ रह्यो, के सुधार गर्न सकिन्छ रिपोर्ट ल्याउन सुझाव दिनुभयो ।
बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरुको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्चलाई बढाउनपर्नेमा जोड दिनुभयो ।
पुँजीगत खर्च कम हुनु गम्भीर समस्या रहेको भन्दै उहाँले समीक्षा गर्न अनुरोध गर्नुभयो । स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रुपमा विकास गराउनपर्ने धारणा उहाँको थियो ।
मन्त्री पौडेलले अबको १० दिनमा पुँजीगत खर्च तथा सुधार योजना लिएर आउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
मन्त्री पौडेलले बिरामीलाई परीक्षणका लागि ३ महिना बढी पालो कुर्न परे मन्त्रालयमा फोन गर्न भनेको भन्दै हालसम्म ३ वटा मात्र फोन आएकोले यसले स्वास्थ्य सेवामा केही सुधार भैरहेको शंकेत गरेको बताउनुभयो ।
‘पपुलिष्ट हुन निर्णय गरेका हैनौं,’ आम नागरिकलाई सहज सुविधा दिन गरिएका निर्णय आन्तरिक श्रोतबाटै व्यवस्थापन गरेका छौं । राज्यलाई कम भार पर्ने गरी श्रोत निश्चित भएका निर्णय मात्र गरेका छौं ।’
हेल्थपाटी
तपाईँको अभिमत