चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन असोज ४ र ५ गते काठमाडौँमा हुने
चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले दोस्रो राष्ट्रिय सम्मेलन असोज ४ र ५ गते गर्ने भएको छ।
काठमाडौंमा हुने सम्मेलनको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने संघले जानकारी दिएको छ।
संघले सम्मेलनका लागि आवश्यक तयारी अगाडि बढाइसकेको छ । संघले यो वर्ष 'प्यान्डेमिक प्रिपेडनेस इन नेपाल' अर्थात नेपालमा महामारीको तयारीका विषयमा केन्द्रित रहेको राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा हुने सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल हुने संघका अध्यक्ष डा.लोचन कार्कीले जानकारी दिनुभयो।
अध्यक्ष कार्कीका अनुसार यो पटक 'सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर', 'चिकित्सा शिक्षामा चुनौती र अवसर', 'संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि' विषयमा छलफल हुनेछ।
साथै 'महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर', 'खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण,' 'नेपालमा मेडिकल टुरिजम' र 'चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा' विषयमा पनि यस सम्मेलनमा छलफल हुने डा.कार्कीले जानकारी दिनुभयो।
दोस्रो सम्मेलनका लागि संघले आयोजक समिति बनाएर काम अगाडि बढाइसकेको छ । संघका पूर्व अध्यक्ष अञ्जनीकुमार झाको अध्यक्षतामा गठित आयोजक समितिमा संघका अध्यक्ष डा. लोचन कार्की, महासचिव डा.बद्री रिजाल, डा. एन्जल मगर र डा. चन्दा कार्की हुनुहुन्छ । डा. चन्दा कार्की सम्मेलनको वैज्ञानिक समिति अध्यक्ष समेत हुनुहुन्छ।
डा कार्कीको नेतृत्व रहेको वैज्ञानिक समितिमा डा.सन्ध्या चापागाईं, डा.अनुपमा कार्की, डा.अनुपमा सुवाल, डा.कृष्ण अग्रवाल, डा.सरोजा कार्की पाण्डे, डा सुमनराज ताम्राकार, डा.पवनकुमार हमाल, मिलनचन्द्र खनाल, डा.सुजित भुषाल र डा अलिस्का निरौला हुनुहुन्छ।
सम्मेलनको सल्लाहकार समितिमा डा. रमेशकान्त अधिकारी, डा.केदारनरसिंह केसी, डा. किरण रेग्मी, डा. कुसुम थापा र डा. मिता सिंह हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत