एक मात्रा लगाउन मिल्ने कोरोनाको खोप नेपाल ल्याइँदै
काठमाडौं । कोरोना विरुद्ध एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप नेपालले पाउने भएको छ । अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित कोभिडविरुद्धको खोप ‘जेन्सेन’ कोभाक्स सुविधाअन्तर्गत अनुदानमा नेपाललाई दिन लागेको हो । जेनेसेन खोप अमेरिकी सरकारले कोभ्याक्सलाई दिने र कोभ्याक्सले नेपाललाई दिन लागेको हो ।
जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले जेनसेन खोप नेपालले पाउने पक्कका भएको जानकारी दिनुभयो ।
तर कहिले र कति मात्रा दिने भन्ने निक्र्यौल भइनसकेको उहाँले बताउनुभयो । कोभाक्स सुविधाअन्तर्गत नेपालले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप अनुदान सहयोगअन्तर्गत पाउनेछ । जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।
विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ । अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ । जोन्सनका अनुसार यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिन्छ । (कान्तिपुरमा अतुल मिश्रले लेख्नुभएको समाचार ।)
हेल्थपाटी 
तपाईँको अभिमत