कोरोना खोप लगाइदिनेको अनुभव : सुरुमा सुई दिनेबित्तिकै ढले भने के गर्ने ?
काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड-१९) विरुद्धको खोप अभियान चलिरहेको छ । खोप लगाएका धेरैले आफूले खोप लगाएको जानकारी दिँदै सामाजिक सञ्जालमा तस्वीर पोस्ट सेयर गरिरहेका छन् । कसै-कसैले खोप लगाएपछि अस्वस्थ भएको जानकारी पनि सेयर गरिरहेका छन् ।
अहिले चर्चा खोप लगाउनेकै धेरै छ । खोप लगाइदिने स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ छ । उनीहरुको चर्चा खासै छैन । हामीले कोरोना विरूद्धको खोप लगाइदिने केही स्वास्थ्यकर्मीका अनुभवलाई समेटेका छौँ।
दमन नेगी, सिनियर अहेव
बैतडीका दमन नेगी उमेरले ४८ वर्ष पुग्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा काम गर्न सुरु गरेको २४ वर्ष पुग्यो । लोकसेवामार्फत स्वास्थ्य सेवामा प्रवेश गर्नुभएका नेगीको उमेरको आधा समय खोप लगाउँदैमा बितिसकेको छ । हाल जनस्वास्थ्य कार्यालय काठमाडौंमा सिनियर अहेवका रुपमा कार्यरत नेगीले ४५ दिने शिशुदेखि ८७ वर्षका वृद्धलाईसमेत खोप लगाउनु भएको छ । पछिल्ला दिनमा उहाँ कोरोनाको खोप लगाउन व्यस्त हुनुहुन्छ ।
माघ १४ गतेदेखि सुरु भएको यस अभियानमा उहाँले मात्रै करिब ४ हजार व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाइसक्नु भएको छ । वर्षाैदेखि शिशु देखि पाका व्यक्तिलाई खोप लगाउँदै आउनुभएका नेगीलाई कोरोना विरुद्धको खोप अभियान सुरु भइरहँदा कोरोना खोप लगाइदिन निकै डर लागेको थियो ।
विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरसलाई रोक्ने यो खोप आफैँमा नयाँ थियो । खोप सुरु भइसकेका कतिपय देशहरुमा खोपका विभिन्न असरहरु देखिरहेको तथा कतै खोप लगाएपछि मृत्युसमेत भएका खबरहरु आइरहेका थिए। यस्ता कुराले गर्दा कोभिड खोपप्रति नेगीलाई डर लाग्नु स्वभाविक थियो ।
'म सरकारको नियमित खोप कार्यक्रममा मासिक करिब १२ सय बालबालिकालाई खोप लगाउँछु, मेरा लागि खोप लगाउने काम सामान्य हो' उहाँ भन्नुहुन्छ, 'खोप लगाउने काम सेकेण्डको हो तर म कोभिडको खोप दिने बेला भने नर्भस भएँ ।' यसअघि नेपालमा कहिले पनि प्रयोगमा नआएको खोप दिएपछि मानिसहरुलाई केही भयो भने भन्ने त्रास मनमा रहेको नेगी बताउँनुहुन्छ।
अभियान सुरु भएको दिन माघ १४ गते नेगीको पोष्टिङ टेकु अस्पतालमा थियो । सुरुमै डाक्टरहरुले खोप लगाउँदै हुनुहुन्थ्यो । 'म आत्तिएको जस्तो देखिन्थेँ तर डाक्टर साब उत्साहित हुनुन्थ्यो' नेगी भन्नुहुन्छ, ‘डाक्टरको हौसिएको अनुहारले मेरो डर कम हुँदै गयो ।' पहिलो खोफ लगाउनका लागि डाक्टर नेगीको अगाडि बस्नुभएको थियो । उहाँले खोप लगाइसकेपछि डाक्टरसाबले भन्नुभयो-'सुई हालिसक्नुभयो ? पत्तै पाइँन ।' त्यसपछि उहाँले लगालग १० जनालाई खोप लगाउनुभयो । 'अनि त पूरै डर हट्यो । मैले सोच्न थाले ११ दिनभित्र अब खोप लगाउने मेरो पालो कहिले आउँछ ?' उहाँ सुनाउनुहुन्छ।' त्यस दिन नेगीले डाक्टर, नर्स, आफ्ना सहकर्मी गरी झण्डै २ सय जनालाई खोप लगाउनुभयो । सोही दिन अन्तिममा खोप लगाउने पालो आयो उहाँको। खोप लगाएपछि केही असर देखिएला कि भन्ने थियो तर कुनै समस्या देखिएन ।
कोरोना महामारी सुरु भएदेखि कन्ट्याक्ट ट्रेसिङ र नियमित खोपमा खटिनुभएका नेगी कडाइका साथ जनस्वास्थ्य मापदण्ड पालना गर्दा संक्रमणबाट आफू जोगिएको बताउनुहुन्छ । 'खोप पनि लगाइसकेँ, अब त कोरोनाबाट जोगिएको भन्दै नेगी खुसी हुनुभयो । आफूले खोप लगाउन र आफूले अरुलाई कोभिडको खोप लगाइदिन पाएकोमा उहाँ आफूलाई गौरवाञ्तित ठान्नुहुन्छ ।
ठूलो परिवारमा हुर्कनुभएका नेगीको परिवारमा ३० जना हुनुहुन्छ । जसमध्ये आफूसहित ४ जना स्वास्थ्यकर्मी भएकाले अब नेगीको परिवारमा २६ जनाले खोप लगाउन बाँकी छ । खोप आयो भन्दैमा भन्नेबित्तिकै कहाँ खोप पाइन्छ र ? समय कुर्नुपर्छ, त्यसैले प्राथमिकतामा परेका सबैलाई आफ्नो पालोमा नजिकका तोकिएका खोप केन्द्रमा पुगी खोप लगाउन उहाँ आग्रह गर्नुहुन्छ ।
अभियानको पहिलो चरणमा टेकु अस्पताल, त्यसपछि सिभिल अस्पतालमा ड्यूटी गर्नुभएका नेगीको फरक-फरक दिन फरक-फरक खोप केन्द्रमा ड्युटी पर्दछ । अब नेगीका लागि कोभिडको खोप लगाउने काम पनि नियमित खोप कार्यक्रम जस्तै सामान्य भइसक्यो । खोप लगाउने हरेक व्यक्ति नयाँ अनुहारका हुन्छन्।
बालबालिकालाई लगाउँदा त पटक-पटक लगाउने भएकाले अर्काे पटक आउँदा चिनिन्छ पनि, खोप लगाउने बेला कतिपय बच्चाको व्यवहार पनि याद भइसकेको हुन्छ तर कोभिडको प्रत्येक अनुहार फरक। 'प्रत्येकले सोध्ने गर्छन् दुख्छ कि दुख्दैन भनेर ।उहाँहरुले यो प्रश्न सकाइसक्दा मैले पनि खोप दिइसकेको हुन्छु अनि उहाँहरु आश्चर्य मान्दै भन्नुहुन्छ लौ दुखेन त सेकेण्डमै खोप लगाइसक्नु भयो ?’ नेगी हाट्ठदै खोप लगाइदिँदाको अनुभव सुनाउनु हुन्छ ।
कविता पराजुली, अनमी
कुसुन्ती ललितपुरकी २८ वर्षीया कविता पराजुलीकी ३ वर्षकी छोरी छिन् । महामारी नियन्त्रणमा उहाँ छोरीलाई छोडेर अग्रस्थानमा खटिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंमा ९ वर्षदेखि अनमी पदमा कार्यरत उहाँ पनि कोरोना विरुद्धको खोप अभियानमा व्यस्त हुनुहुन्छ । नेपालमा कोभिड खोप आउने हल्ला सुनेदेखि नै पराजुली खोप कार्यक्रमका लागि तयारी अवस्थामा हुनुहुन्थ्यो । खोप नेपाल भित्रिएपछि तालिममा सहभागी हुनुभयो ।
तालिममा खोप देब्रे पाखुराको मासुमा लगाउने लगायतका अरु थुप्रै जानकारी दिइयो । पराजुलीलाई पनि सिनियर अहेव नेगीलाई जस्तै सुरुमा खोपबारे विभिन्न जिज्ञासा नआएको र डर नलागेको होइन । 'नयाँ खोप छ, मैले खोप लगाइ दिनेबित्तिकै मानिसलाई गाह्रो भयो भने ? सुई दिनेबित्तिनै ढलेभने के गर्ने ?' यस्तै प्रश्न मनमा खेलेर हात कापिँरहेको थियो कविताको, ‘यी प्रश्नहरुले मलाई साँच्चिकै नै खोप लगाइदिन असहज महसुस भइरहेको थियो ।’
सुरुको दिन वीर अस्पतालमा ड्युटी गर्नुभएकी पराजुलीले अस्पताल निर्देशकलाई पहिलो खोप लगाउनुपर्ने थियो । पहिला त धेरै डराउनुभयो । खोप लगाउन आनाकानी गरिरहनुभएको थियो तर निर्देशक ज्यूले लगाउनुभएपछि को पहिला खोप लगाउने भन्नेमा तछाडमछाड हुनथाल्यो । सुरुका दिनमा खोप लगाएकाहरुलाई कडा असर देखिएन । कसै–कसैलाई सुई लगाएको ठाँउमा दुख्ने, ज्वरो आउने, टाउको दुख्ने भएछ तर उक्त असरहरु २/३ दिनमा आफैँ भयो ।
पहिलो चरणको ११ दिने अभियानमा कविताले करिब ३ हजार जतिलाई खोप लगाउँनुभयो । होला कसैलाई पनि गम्भीर असर देखिएन ।अभियानको ११ औं दिनमा आफ्नो खोप लगाउने नम्बर आयो । आफूले खोप लगाउनुअघि ३ हजार जतिलाई खोप दिइसक्नुभएकी उहाँ ढुक्क हुनुहुन्थ्यो कि खोपले गम्भीर बनाउँदैन र यसबाट डराउनु पर्दैन भनेर । 'खोप लगाएपछि एकदिन टाउको बेस्सरी दुख्यो तर भोलिपल्ट निको भइहाल्यो।’कविताले जानकारी दिनुभयो।
पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकामध्ये पत्रकारहरुलाई लगाउने पालो पनि पराजुली र नेगीकै थियो । पहिलो चरणमा लक्ष्यभन्दा धेरै कमले खोप लगाएपनि दोस्रो प्राथमिकतामा परेका पत्रकारहरुले भने लक्ष्य भन्दा धेरैले नै खोप लगाउँछन् होला भन्ने लागेको थियो तर १३ हजार लक्ष्य निर्धारण गरेकोमा २५ सय जतिले मात्रै खोप लगाएकोमा उहाँ चिन्तित हुनुहुन्छ । संक्रमणबाट जोगाउनका लागि लगाइने यो खोपप्रति सशंकित नभइकन लगाउन उहाँहरुको अनुरोध छ।
तपाईँको अभिमत